Friday, April 19, 2013

आर्मीको क्रिकेट टोली बन्दै


क्रिकेट टोली बनाउने प्रक्रिया नेपाली सेना पनि अगाडि बढेको छ। महिना दिनभित्र सेनाले क्रिकेट टोली बनाउने तयारी गर्दैछ। यसै वर्षदेखि राष्ट्रिय प्रतियोगिता खेल्ने उद्देश्य आर्मीको छ।
'एक महिनाभित्र सेनाको क्रिकेट टोली तयार हुन्छ, अहिले हामी ब्यारेकभित्रबाटै खेलाडी लिन्छौं,' सेनाका प्रमुख सेनानी रवीन्द्र खत्रीले भने, 'हाम्रो क्रिकेट टोली निर्माण प्रारम्भिक चरणमै छ। सँगै अन्य प्रक्रिया अगाडि बढ्ने छ।'


क्रिकेट टोली बनाउने सेना तेस्रो विभागीय टोली बन्नेछ। तीन वर्षयता सशस्त्र प्रहरी क्रिकेटमा छ। यस वर्ष एकदिवसीय र ट्वान्टी–२० दुवै राष्ट्रिय प्रतियोगिता सशस्त्रले जितेको थियो। नेपाल पुलिसले गत वर्ष टोली बनाए पनि निरन्तरता दिएको छैन। पुलिसले एकैपटक खेल्ने क्रममा एकदिवसीयको फाइनल पुगेको थियो भने ट्वान्टी–२० जितेको थियो।
'सेनालाई अहिले जित्नैपर्छ भन्ने छैन, हामी पहिला राष्ट्रिय प्रतियोगितामा उत्रन चाहन्छौं,' खत्रीले भने। सेनाले खेलकुदका लागि २०४६ सालमा त्रिभुवन आर्मी क्लब स्थापना गरेसँगै क्रिकेट पनि यसमा परेको थियो। सुरुआतका केही वर्षपछि आर्मीको क्रिकेट टोली हरायो। आर्मी क्लबमा विभिन्न १९ खेलका झन्डै ३ सय ५० खेलाडी क्रियाशील छन्। 
अन्य विधा पनि थप्दै लाने प्रक्रियामा आर्मीले क्रिकेट र घोडचढीलाई प्राथमिकतामा राखेको बताइएको छ। आर्मीकै धु्रवप्रसाद अर्यालले डेढ वर्षअघि पहिलो दक्षिण एसियाली बिच खेलकुदमा घोडचढीबाट नेपाललाई स्वर्ण पदक दिलाएका थिए। उनले जितेको पदक नै श्रीलंकाको हम्बान्टोटामा नेपालले जितेको एकमात्र स्वर्ण थियो। स्तर जस्तो भए पनि क्रिकेटमा वैशाखभित्र टोली तयार गरेर सुधारको सम्भावना खोज्ने आर्मीको नीति छ। त्यसैले तत्काललाई ब्यारेकभित्रका खेलाडीमात्र राख्ने नीति लिइएको बताइन्छ। 
खेलाडी छान्न आर्मीले हेडक्वार्टरमार्फत गणहरूमा जिल्लादेखि माथिल्लो स्तरमा खेलेकालाई सम्पर्कमा आउन परिपत्र गरिसकेको छ। आर्मीले भित्रैबाट १४–१५ खेलाडी लिइसकेको छ। खेलाडीको स्तरमापन गर्न बाँकी रहेको बताइन्छ। सम्पर्कमा आएका खेलाडीहरूले स्थानीय टुँडिखेलमा गएर आफै अभ्यास गर्ने गरेका छन्। 
भक्तपुरस्थित वीरेन्द्र सैनिक महाविद्यालयमा रहेको मैदानमा टोलीलाई प्रशिक्षण दिइने योजना छ। विगतमा क्रिकेट खेलेका आर्मी अधिकारीले नै खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ। आर्मी क्लबका अन्य खेलाडीलाई सिंहदरबार ब्यारेक र लगनखेलको राजदल गणमा राखिने गरे पनि क्रिकेटरलाई भक्तपुर लान आर्मीले तयारी गरिरहेको छ।
क्रिकेटमा आर्मीका खेलाडी
नेपाली क्रिकेटमा दुवै इनिङ्समा सतक बनाउने प्रज्ज्वल शम्शेर राणा एकमात्र खेलाडी हुन्। प्रधानसेनापति हुनुअघि उनको पहिलो परिचय यही नै थियो। जेभियर्स कलेजबाट खेल्दा झन्डै ४५ वर्षअघि उनले योङम्यान क्रिकेट क्लबविरुद्ध काठमाडौंको टुँडिखेलमा दुवै इनिङ्समा सतक बनाएका थिए। योङम्यान नेपालको सबैभन्दा पुरानो क्रिकेट क्लब मानिन्छ। सक्रिय समयमा धेरैले योङम्यानलाई 'बुढाहरूको टोली' भन्नुका कारण पनि यही थियो। राणाले लिग खेलमा दुवै इनिङ्समा सतक बनाएका हुन्। नेपाल क्रिकेट संघका वरिष्ठ उपाध्यक्ष टिबी शाहका अनुसार लिग खेल दुईदिने र दुई इनिङ्समा चल्थ्यो। उनका अनुसार राणाले आर्मीमै हुँदा लिग खेलेका थिए। आर्मीकै जागिरे भएर प्रबल शम्शेर, डा. खगेन्द्रबहादुर श्रेष्ठ, विनोद विष्टलगायतले पनि काठमाडौंमा हुने प्रतियोगितामा सहभागिता जनाउँथे।

No comments:

Post a Comment