Tuesday, April 2, 2013

नेपालको लक्ष्य सेमिफाइनलभन्दा माथि


नेपालसँग खेल्दा पहिलोपल्ट युएई दबाबमा हुनेछ। एसिसी ट्वान्टी–२० कपको सेमिफाइनललाई लिएर नेपाली क्रिकेट टोलीमा उत्साह छ। त्यस विपरीत युएई सम्भवत नेपालसँगका पछिल्ला तीन खेलमा पाएको पीडा एकैपटक पोख्ने दाउमा छ। 
नेपालले आज युएईसँगको खेललाई एउटा अवसरमा लिएको छ। एसिसी ट्वान्टी–२० कपको चौथो संस्करणमा आइपुग्दा नेपाल लगातार दोस्रोपल्ट सेमिफाइनल खेल्दैछ। युएईलाई हराएर नेपाल पहिलोपल्ट एसिसी ट्वान्टी–२० को फाइनल पुग्ने आशामा छ। लक्ष्य त्योभन्दा अझै माथि छ। 
तस्विरः विकास कार्की/नागरिक

'हामीलाई ट्वान्टी–२० मा प्रतियोगिता जित्ने राम्रो अवसर छ, म यसको व्यग्र प्रतीक्षा गरिरहेको छु, टोलीमा पनि धेरै आत्मविश्वास छ,' नेपाली टोलीका श्रीलंकन मूलका क्यानाडेली प्रशिक्षक पुबुदु दासानायकेले भने। नेपाल र युएई ट्वान्टी–२० मा एकपटक भिडेका छन्। सन् २०११ मा नेपाल आफ्नै भूमिमा युएईसँग ४ विकेटले हारेको थियो। तर नेट रनरेटमा युएईलाई पछाडि पार्दै नेपाल विश्व ट्वान्टी–२० को छनोटमा पुगेको थियो। 
१९९८ देखि युएईसँग खेल्दै आएयता नेपाल निरन्तर पराजित हुँदै आएको थियो। एसिसी ट्रफी इलिटमा युएईले नेपाललाई लगातार ६ पटक पराजित गर्‍यो, त्यसमा २००२ को फाइनल खेल पनि छ। ६ महिनाअघि दुबईमा भएको प्रतियोगिताको पछिल्लो संस्करणदेखि नक्सा फेरियो। शारजहाँमा नेपालले समूह चरणमा युएईलाई ४ विकेटले हरायो। फाइनलमा यी दुई टोली पुनः भिडे। खेल 'टाइ' भयो। नेपाल र युएई संयुक्त विजेता बने। युएई घरेलु टोली भएकाले नेपाल एसिसी ट्रफीको उपाधि लिएर घर फर्कियो।
नोभेम्बरमा युएईले नै विश्व ट्वान्टी–२० छनोट आयोजना गर्दैछ। टोलीलाई आयोजक भएकाले सोझै प्रवेश दिइएको छ। त्यही आधारमा केही प्रमुख खेलाडीलाई आराम गर्न दिएर पाकिस्तानी पूर्वतीब्र बलर अकिब जावेदको प्रशिक्षणमा युएई टोली काठमाडौं आएको छ। 'युएई राम्रो टोली हो अकिब जावेदको प्रशिक्षणमा युएईले राम्रो गरिरहेको छ। उनीहरूको आधारभूत पक्ष नै राम्रो छ,' दासानायकेले भने, 'एसिसी ट्रफीमा पनि उनीहरूको पूर्ण टोली थियो, हामीले युएईलाई त्यही पराजित गर्‍यौं। अहिले प्रतियोगिता फरक हो। उनीहरू पूर्ण टोली नभए पनि राम्रो प्रहार गर्ने ब्याट्सम्यान छन्, ट्वान्टी–२० मा त्यसको महत्व धेरै छ। उनीहरूलाई रोक्न सक्ने क्षमता हामीमा छ।'
समूह चरणका खेलमा नेपालले माल्दिभ्स, मलेसिया र सिंगापुरसँग ठूलो स्कोर बनाउँदै जितेको थियो। हङकङसँग पराजित भएपछि नेपाली टोलीको बलिया टोलीविरुद्ध खेल्ने कमजोरी नदेखिएको होइन। युएईले समूह चरणमा सवै खेल जितेको थियो। पछिल्लो तीन संस्करणको विजेता अफगानिस्तानमाथिको विजय त्यसमा विशेष थियो। 
युएई राम्रो टोली भएको र हराउन सजिलो नभएको कप्तान पारस खड्काले बुझेका छन्। नेपाल विश्व ट्वान्टी–२० लाई छनोट भएकाले दबाब निकै कम भएको अवस्थामा अगाडि आएको मौका सदुपयोग गर्नु पर्ने पारस बताउँछन्। 'आफ्नै दर्शकअगाडि खेल्न पाउनु हाम्रा लागि राम्रो अवसर हो। अर्कोपटक नेपालमा कहिले अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छ? हामीले खेल्छौं खेल्दैनौं केही ठेगान हुँदैन, त्यसैले यसपल्टको फाइदा उठाउनुपर्छ,' उनले भने। 
उनले पछिल्लो पटक युएईलाई हराएकाले दबाब उनीहरूमै रहेको पारसको बुझाइ छ। उनी यसमा मतलब गर्दैनन्। 'हामी हाम्रो खेल योजना के हो त्यसमा केन्द्रित हुनुपर्छ। हामी एकरुपको प्रदर्शन गर्ने प्रयासमा छौं,' पारसले भने, 'सबै खेलाडीले योगदान गरिरहेका छन्, त्यसैले हामी एउटा टोलीका रूपमा खेलिरहेका छौं। आगामी खेलमा पनि त्यही गर्ने प्रयासमा छौं।'
दासानायके युएईसँगको सेमिफाइनललाई अर्को महिना बर्मुडामा हुने विश्व क्रिकेट लिग डिभिजन ४ र युएईमै हुने विश्व ट्वान्टी–२० सँग जोडेर हेर्छन्। 'दुबईमा खेल्ने १६ टोलीलाई हेर्ने हो भने हामीले अन्य टोलीबाट सम्मान खोज्नुपर्छ। त्यसका लागि युएई र अफगानिस्तान अझ हङकङलाई पराजित गरेर राम्रो टोली हो भन्ने प्रमाणित गर्न सक्नुपर्छ,' दासानायकेले भने, 'अफगानिस्तान र युएईलाई पराजित गरेर डिभिजन ३ खेल्न बर्मुडा जाने हो भने त्यसको प्रभाव राम्रो हुन्छ। त्यसैले यो चुनौती हामीसँग छ।'
सञ्जम रेग्मी फिटनेसमा नेपाली टोली अल्भि्करहेको छ। मंगलबार बिहान उनको फिटनेस टेस्ट हेरेपछि मात्र नेपाली टोली चयन हुने उनी बताउँछन्। अफ स्पिनर सञ्जम घाइते भएपछि सागर पुनले आइतबार सिंगापुरसँगको खेलमा राष्ट्रिय टोलीबाट 'डेब्यु' गर्ने अवसर पाएका थिए। दासानायकेले भने, 'सञ्जम फिट भएको खण्डमा हामी के गर्ने भनेर पुनर्विचार गर्नेछौं। युएईको टोलीमा ५–६ जना देब्रेहाते ब्याट्सम्यान छन्। सञ्जम फिट भएमा हामी कुनै तीब्र बलर नलिइकन पनि खेल्न सक्छौं, विकेट स्थिति हेरेर यसको निर्णय लिनेछौं।'
नागरिक राष्ट्रिय दैनिकमा २०६९ चैत २० गते प्रकासित


No comments:

Post a Comment