Saturday, April 27, 2013

मिसन डिभिजन ३

विश्व क्रिकेट लिग डिभिजन ३ मा अन्य टोलीसँग तुलना गर्ने हो भने नेपाल अनुभवहीन टोली हो। एकदिवसीय विश्वकप अनुभव बोकिसकेको बर्मुडा र मिनी विश्वकप खेलिसकेको अमेरिकासँग नेपालले प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्नेछ। त्यस बाबजुद नेपाललाई प्रतियोगिताको दाबेदार मानिएको छ।
डिभिजन ३ को आयोजक बर्मुडाले क्यारेबियन भूमिमै भएको २००७ को विश्वकप खेलेको थियो। ठूलो जीउका ड्वायने लेभरोक बर्मुडाका लोकप्रिय खेलाडी हुन्। विश्वकपमा भारतसँग उनले स्लिपमा रोबिन उत्थपालाई क्याच गरेको दृश्यले मात्र पनि बर्मुडा क्रिकेटको समग्र तस्बिर झल्काउँछ। 
तस्विरः विकास कार्की/नागरिक

अमेरिका त्यही टोली हो, जसले २००४ मा मिनी विश्वकप मानिएको आइसिसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड र अस्ट्रेलियासँग खेलेको थियो। ६ वर्ष पछाडि फर्कने हो भने पनि बर्मुडा डिभिजन १ को टोली थियो। अमेरिका डिभिजन ३ बाट तल झरेको २ वर्षमात्र भयो।
विपक्षीको विगतले नेपालका श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायकेलाई केही फरक पारेको छैन। उनी गत वर्ष युएईमा भएको विश्व ट्वान्टी–२० छनोटलाई उदाहरण देखाउँदै भन्छन्, 'हामी त्यो प्रतियोगिता पहिलोपल्ट खेलेका थियौं, तर हामीले त्यहाँ एसोसिएटका ठूला टोलीहरूलाई पराजित गर्न सफल भयौं।' सहभागी १६ टोलीमा अन्तिम वरियताबाट खेल्न सुरु गरेको नेपालले विश्व ट्वान्टी–२० छनोटमा हङकङ, डेनमार्क, बर्मुडा, पपुवा न्युगिनी र केन्यालाई पराजित गरेको थियो।
बर्मुडामा हुने डिभिजन ३ मा ओमान, युगान्डा र इटाली पनि नेपालभन्दा अनुभवी टोली हुन्। ओमान र युगान्डाले यसअघि नै डिभिजन २ खेलिसकेका छन्। नेपालले इटालीसँग यसअघि तीन खेल जितेको छ। पछिल्लोपल्टको जित २०११ को डिभिजन ४ मा थियो। त्यही इटालीले नेपाललाई जिल्याउँदै दुई वर्षअघि नै डिभिजन ३ मा उक्लियो।
अनुभवहीन भए पनि डिभिजन ३ लाई नयाँ खुट्किलो मान्दै दासानायकेले भन्छन्, 'हामीले आफ्नो क्षमताअनुसार ८० प्रतिशतमात्र खेल्ने हो भने पनि डिभिजन ३ जित्छौं।' डिभिजन ३ बाट शीर्ष दुई टोली डिभिजन २ मा उक्लने छन्। फाइनलमा पुग्ने दुई टोलीले न्युजिल्यान्डमा अर्को वर्ष हुने एकदिवसीय विश्वकपको छनोटको अन्तिम खुट्किलोमा प्रतिस्पर्धा गर्नेछन्। १० टोली सहभागी छनोट प्रतियोगिताबाट शीर्ष दुई टोली २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपमा पुग्ने छन्।
नेपालको लक्ष्य विश्वकप र कम्तीमा एकदिवसीय मान्यतासँग केन्द्रित छ। बर्मुडामा आइतबार डिभिजन ३ सुरु हुँदा नेपालले प्रबल दावेदारमा प्रतियोगिता प्रारम्भ गर्नु नै नेपालको लक्ष्य विश्वकप र एकदिवसीयसँग जोडिनुको मुख्य कारण हो। क्यानाडालाई प्रशिक्षकका रुपमा २०११ को विश्वकपमा डोर्‍याइसकेका दासानायकेले भने, 'हाम्रो लक्ष्य विश्वकप र एकदिवसीय पनि हो, त्यसैले हामी डिभिजन ३ मा अलमलिनु हुँदैन।' उनले त्यो लक्ष्यमा पुग्न नसके आफूले नेपालसँगको सम्झौता नवीकरण नगर्ने बताइसकेका छन्। उनले केही समयअघि मात्र नेपालसँगको सम्झौता एक वर्ष लम्ब्याएका थिए।
कप्तान पारस खड्काले पनि विश्वकपमा छनोट हुनु नेपालको सबैभन्दा ठूलो र एकमात्र सपना भएको बताइसकेका छन्। 'डिभिजन ३ लाई विश्वकप छनोटको आधार मनन गर्दा हामीले यसलाई गम्भीर रूपमा लिएका छौं,' पारसले भने, 'अन्य प्रतिद्वन्द्वीले हामीलाई बर्मुडामा सबै क्षेत्रमा चुनौती तेर्स्याउने छन्। हामीले आफ्नो प्रयासबाट सक्दो तयारी गरेका छौं, त्यसैले हामी प्रतियोगिता पर्खेर बसिरहेका छौं।'
वर्षभरको प्रदर्शन तुलना गर्दा प्रशिक्षक दासानायके अहिले नेपाली टोली उत्कृष्ट लयमा भएको देख्छन्। नेपाल पछिल्लो ७ महिनामा डिभिजन ४ जित्नुका साथै एसिसी ट्रफी इलिटमा आयोजक युएईसँगै संयुक्त विजेता बनेको थियो। यसबाहेक अघिल्लो महिनामात्र घरेलु मैदानमा सम्पन्न एसिसी ट्वान्टी–२० कपमा फाइनलमा पुगेसँगै नेपाल डिभिजन ३ को प्रबल दावेदार बनेको हो। ट्वान्टी–२० मा नेपाल विश्वकपको अन्तिम छनोटमा पुगिसकेको छ।
डिभिजन ३ लाई लक्षित गरेर नेपालले गत साता जयपुरमा खेलिएको अभ्यास खेललाई सफल मान्छन्, दासानायके। नेपालले चार अभ्यास खेल खेल्दा राजस्थान रोयल्सका दोस्रो रोजाइका केही खेलाडी पनि नेपालसँग अभ्यासमा उत्रिए। जयपुरको भ्रमण फलदायी मान्दै दासानायकेले भने, 'हाम्रो स्तर रणजी ट्रफीको हाराहारीमा पुगिसकेको छ। तर हामी रणजी र आइपिएल खेल्न पाउँदैनौं।'
भारतको अभ्यास खेलमा नेपाली ओपनरमा समस्या देखिएको थियो। सुवास खकुरेल र अनिल मण्डलले दुवै ठूलो स्कोर बनाउन सकेनन्। त्यस विपरीत मध्यपंक्तिमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, पृथु बाँस्कोटाले ठूलो प्रभाव पारे। 'गएको वर्षमा नेपालले जुन सफलता पायो, त्यसमा ओपनरद्वयको ठूलो भूमिका थियो, दुई ओपनरमा एउटा एक खेलमा जमिरहेका हुन्थे, कहिलेकाहीं दुवैले ठूलो साझेदारी पनि गर्थे,' दासानायकेले भने, 'डिभिजन ३ मा ओपनरहरू फर्ममा फर्कनेमा आशावादी छु, तर हाम्रो मध्यपंक्ति पहिलाभन्दा बलियो छ।'
नेपालसँगै अमेरिकालाई डिभिजन ३ को दाबेदार मानिएको छ। सेप्टेम्बरमा मलेसियामा भएको डिभिजन ४ मा नेपालले अमेरिकालाई समूह चरणमा ३२ रन र फाइनलमा ८ विकेटले पराजित गरेको थियो। बर्मुडामा नेपालले पहिलो खेल अमेरिकासँगै खेल्नेछ। दासानायके पहिलो खेलको महŒव दर्शाउँदै भन्छन्, 'हामी दाबेदार छौं, तर म जहिले पनि भन्छु पहिलो खेलमा सुरुआत राम्रो हुनुपर्छ, त्यसपछि लय समात्न सजिलो हुन्छ।'
नागरिक राष्ट्रिय दैनिकमा २०७० वैशाख १४ गते प्रकासित

No comments:

Post a Comment