Sunday, August 12, 2012

नेपाल चमत्कारी प्रदर्शन गर्न तयार

टेस्ट टोलीविरुद्ध नेपाल एउटा अर्को चमत्कारी प्रदर्शनको नजिक छ। सोमबार अस्ट्रेलियासँग खेलेर आइसिसी यु–१९ विश्वकपमा पुनरागमन गर्नेक्रममा नेपालको मनोबल उच्च देखिएको छ। विगतको प्रदर्शनका आधारमा नेपाल अर्को एउटा स्तब्धपूर्ण नतिजा निकाल्ने योजनामा रहे पनि चुनौती त्यति सजिलो छैन।
अस्ट्रेलिया यु–१९ विश्वकपको सबैभन्दा सफल टोली हो। यसअघिका ८ संस्करणमध्ये अस्ट्रेलिया तीनपटक विजेता बनिसकेको छ। घरेलु मैदानमै प्रतियोगिता आयोजना भएकाले अस्ट्रेलियाको उपाधि जोगाउने सम्भावना बलियो मानिएको छ। टाउन्सभिलमा शनिबार सुरु प्रतियोगितामा टोलीले प्रथम श्रेणीको अनुभव बटुलेको १० खेलाडीसम्मिलित इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरी यसको संकेत दिइसकेको छ।

पछिल्लो पटक छनोट हुन नसकेको नेपाल ४ वर्षपछि यु–१९ विश्वकपमा फर्किएको हो। नेपालले सन् २००० देखि २००५ सम्म गरी लगातार पाँचपटक यस प्रतियोगिता खेलेको थियो। सोही क्रममा टेस्ट खेल्ने पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र जिम्बावेलाई पराजित गरिसकेको छ। दक्षिण अफ्रिका दुईपटक नेपालको शिकार भइसकेको छ। विगतमा देखाएको यही प्रदर्शनले गर्दा नेपालबाट ठूलो अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को दुई अभ्यास खेलमा नेपालले मिश्रित नतिजा निकाल्यो। पहिलोमा पपुवा न्युगिनी (पिएनजी) सँग ८ विकेटको हारले स्तब्ध बनेको नेपालले अर्को खेलमा न्युजिल्यान्डविरुद्ध साहसिक प्रदर्शन गर्‍यो। नरेश बुढाऐरको सतक  बावजुद २ सय ६८ रनको लक्ष्य पछ्याएको नेपाल न्युजिल्यान्डसँग १९ रनले मात्र पछाडि थियो।
त्यसैले पनि अस्ट्रेलियासहित अन्य टोली नेपाललाई कमजोर मान्ने स्थितिमा छैनन्। ओपनर सुवास खकुरेलले पिएनजी र न्युजिल्यान्डसँग गरी दुवै खेलमा अर्द्धसतक बनाए। हासिम अन्सारीले पनि पिएनजीसँग ८१ रनको इनिङ खेलेका थिए। नेपालको मुख्य चिन्ता भने कप्तान पृथु बाँस्कोटाको फिटनेस र अर्का ओपनर प्रदीप ऐरीको फर्मलाई लिएर हुनेछ।
पिएनजीसँग अभ्यासमा ब्याटिङ गर्दा पृथु पहिलो बलमै घाइते भएका थिए। एङ्कलमा चोट लागेपछि अस्ट्रेलियासँगको खेल अगाडि फिट भइसक्ने आशामा उनले न्युजिल्यान्डसँगको खेल पनि खेलेनन्। अगाडि नै रन बनाए पछाडि खेल्न सजिलो हुने भन्दै प्रशिक्षक पुबुदु दासानायकेले ओपनरमा खेलाउँदै आएका आक्रामक ब्याट्सम्यान प्रदीप उक्त स्थानमा जम्न सकेका छैनन्।
बलिङमा एकरूपको प्रदर्शन गर्न नसक्नु नेपालको अर्को समस्या हो। देब्रेहाते स्पिनर राहुल बिकबाहेक अन्य नेपाली बलर फिका देखिएका छन्। ओपनिङ बलर अविनाश कर्ण पनि पिएनजीसँगको खेलमा काछको चोटबाट पिरोलिएका थिए। विगतमा जस्तो अप्रत्याशित नतिजा निकाल्न नेपाली बलरले गरेको धारिलो प्रदर्शन अभ्यासमा हाराहारीमा पनि देखिएको थिएन।
अस्ट्रेलियाली टोलीमा साउथ अस्ट्रेलियाका माथिल्लो क्रमका ब्याट्सम्यान ट्रेभिस हेड र साउथ वेल्सका मध्यपंक्तिका ब्याट्सम्यान कुर्टिस प्याटरसन छन्। हेडले यस सिजनका चार प्रथम श्रेणीको म्याचमा २ सय १९ रन बनाइसकेका छन् भने प्याटरसनले गत नोभेम्बरमा साउथ अस्ट्रेलियासँगको …डेब्यु' खेलमै १ सय ५७ रनको इनिङ खेलेका थिए। हेडको अविजित ५७ रनमा अस्ट्रेलियाले शनिबार इङ्ल्यान्डमाथि विजय पाएको हो।
नेपालले अस्ट्रेलियासँग यु–१९ विश्वकपमा तेस्रोपटक खेल्न लागेको हो। बंगलादेशमा २००४ को संस्करणमा नेपाल प्लेट च्याम्पियनसिपमा ६ विकेटले पराजित गरेको थियो। नेपालले ९ विकेट गुमाई बनाएको १ सय ५४ रनलाई अस्ट्रेलियाले ३७ ओभरभित्र पूरा गरेको थियो। २००८ को समूह चरणमा पछिल्लोपटक यी दुई टोली भिडेका थिए, जहाँ अस्ट्रेलिया ९६ रनले विजयी भयो। अस्ट्रेलियालाई नेपालले ४९.३ ओभरमा २ सय ६ रनमा समेटेको थियो। अविजित ३३ रन बनाएका राहुलले अमृतसँग दसौं विकेटमा ४४ रन जोडे पनि नेपाल १ सय १० रनमा अलआउट हुन पुग्यो। विश्वकपको अनुभव बटुल्ने नेपाली टोलीका राहुल एकमात्र खेलाडी हुन्।
विश्वकपमा नेपालले आफ्नै शैलीमा आगमन गर्न लागेको हो। २००९ मा कुवेतमा भएको एसिसी यु–१९ इलिट कपको सेमिफाइनलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि न्युजिल्यान्डमा भएको २०१० को पछिल्लो संस्करणमा नेपाल छनोट नै भएन। एसिसी यु–१९ इलिट कप र आयरल्यान्डमा भएको विश्व यु–१९ छनोट दुवैमा उपविजेता बनेर नेपालले अस्ट्रेलियाको स्थान सुरक्षित गरेको थियो। समूह 'ए' को अर्को टोली आयरल्यान्ड हो।

नेपालविरुद्ध अस्ट्रेलिया (सोमबार)
टाउन्सभिल, ब्रिसवेन
प्रत्यक्ष प्रसारणः स्टार क्रिकेट, बिहान ५.१५ देखि
नागरिक राष्ट्रिय दैनिकमा साउन २८ गते प्रकासित

3 comments:

  1. ramro article xa dai malai pradeep ko vumika ma chita bujheako xaina herum aba k hunxa.

    ReplyDelete
  2. रनभन्दा पनि मलाई त पुरै ओभर खेलिदिए हुन्छ भन्ने लागेको छ, दाज्यै ।

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete