Monday, August 6, 2012

डायस र उनको टोलीको बहादुरी

आइसिसी यु–१९ विश्वकपमा नेपाल
२००६, श्रीलंका

श्रीलंकाबाहेक अरु टोलीको तुलनामा नेपालले खेलेको खेलमा सामान्यत धेरै दर्शक हुन्थे। प्रायः सबै दर्शक श्रीलंकाली हुन्थे। तर उनीहरू नेपालको खेल भएर नभई रोय (प्रशिक्षक रोय लुक डायस) को टोलीको खेल भनेर समर्थन गर्न आएका हुन्थे। उनीहरूलाई नेपाल भन्नु नै डायस थियो। यसले नेपाली टोलीलाई घरैमा खेले जस्तो अनुभूति गराएको थियो।
पहिलो दुई खेलमा नेपालको प्रदर्शन घरैमा खेलेजस्तो रहेन। पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग सजिलै ७७ रनले पराजित भयो। कनिष्क चौगाईंले ७८ रन बनाए पनि यशवन्त सुवेदीले अन्तिम बलमा कुनै रन बनाउन नसक्दा जिम्बावेसँग नेपाल २ रनले पराजित भयो। अन्तिम खेलमा आयरल्यान्डलाई पराजित गरी नेपालले प्लेट च्याम्पियनसिपको तयारी गर्‍यो। शरद भेषावकरको अविजित ८२ रनमा नेपालले २ सय ३४ रन बनायो। इआन मोर्गनले ८६ रन बनाए पनि नेपालले उनको टोलीलाई १ सय ७४ रनमा समेटिदियो।
फाइनलमा विजयी रन बटुलेपछि रतन रौनियार र राज श्रेष्ठ। तस्विर :  क्रिकइन्फो ।

ज्ञानेन्द्र मल्लको ६४ रनबाट प्रेरित नेपालले प्लेट क्वार्टरफाइनलमा युगान्डालाई ६० रनले हरायो। सेमिफाइनल प्रतिद्वन्द्वी दक्षिण अफ्रिका। कप्तान कनिष्कको ५९ र ज्ञानेन्द्रको अविजित ४८ रनमा नेपालले ८ विकेट गुमाई २ सय १४ रन बनायो। २३ ओभर चल्दा ९०–१ को स्थितिमा रहेको दक्षिण अफ्रिका २९ ओभर नपुग्दै ९९–४ मा झरिसकेको थियो। अविजित ६६ रन बनाएका कप्तान डिन इल्गर र रोमानो रामोले पाँचौं विकेटमा १ सय ५ रनको साझेदारी गरे।
अन्तिम दुई ओभरमा १६ र ६ बलमा १० रन बनाउनुपर्ने दक्षिण अफ्रिकालाई अन्तिम बलमा ३ रन आवश्यक थियो। तर बसन्त रेग्मी र पारस खड्काको शानदार बलिङमा नेपालले दक्षिण अफ्रिकालाई २१२–५ को स्कोरमा रोक्यो। नेपालसँग यसअघिका विश्वकपमा दुई दुर्भाग्य नतिजा सम्झँदै दक्षिक अफ्रिकाका प्रशिक्षक रे जेनिङ्सले भने, 'नेपाल हाम्रा लागि जहिले पनि बाधक बन्दै आएको छ। तर हामीले ५ विकेट हातमा भएर पनि खेल गुमायौं।' इल्गरले आफ्नो टोलीभन्दा नेपालले राम्रो खेलेको बताए।
क्रिकइन्फोका पत्रकार एन्ड्रयु म्याकग्लासनले यु–१९ विश्वकप इतिहासको ५ अप्रत्याशित नतिजामा दक्षिण अफ्रिकामाथि नेपालले पाएको विजय राखे। २००२ मा पाकिस्तानमाथि नेपालले पाएको ३० रनको विजय पनि यसमा समावेश थियो। दक्षिण अफ्रिकालाई पराजित गरेको दुई दिनपछि नै म्याकग्लासनसामु छैटौं स्तब्धपूर्ण नतिजा आइसकेको थियो, जब नेपालले प्लेट फाइनलमा न्युजिल्यान्डलाई १ विकेटले पराजित गर्‍यो।
सेमिफाइनलका नायक बसन्त रेग्मी फाइनलमा पनि चम्किए। न्युजिल्यान्ड पहिलो ब्याटिङ गरी ४९.४ ओभरमा २ सय ४ रनमा अलआउट भयो। ७५ रन बनाउँदा नेपालको ६ विकेट झरिसकेको थियो। बसन्तले प्रेम चौधरी (२६) सँग सातौं विकेटमा ७० रनको साझेदारी गरे। रतन रौनियारले १९ बलमै अविजित २६ रन बनाउँदै बसन्तसँग नवौं विकेटमा ४४ रनको साझेदारी गरे। राज श्रेष्ठसँग मिलेर रतनले २ बलअगावै विजयी रन प्रहार गरे भने बसन्तले विजयी इनिङ खेले। उनले ७३ बल खेल्दै ७ चौकासहित ६६ रन बनाए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का अध्यक्ष इशान मणि आफै आएर प्लेट विजेता नेपाली टोलीलाई पुरस्कृत गरे।
सन् २००० मा सुपर लिगमा पुगेको नेपाल त्यसपछि प्लेट फाइनल पुगेको थियो। वरियता छाड्ने हो भने प्रर्दशनका आधारमा नेपालको यो अहिलेसम्मकै उत्कृष्ट नतिजा थियो। आफ्नो घरमा उपाधि जिताएपछि श्रीलंकाली स्टार डायसले भने, '२००२ को फाइनलपछि हामीले अर्को उपलब्धि हात पार्‍यौं। हामीले दुई टेस्ट खेल्ने राष्ट्रलाई पराजित गर्‍यौं, यो युवा खेलाडीका लागि निकै राम्रो हो किनभने यसले उनीहरूलाई आफैमा विश्वास गर्न सिकाएको छ।'
कनिष्क २ सय ३४ रन बनाई सर्वाधिक रन बनाउनेमा छैटौं स्थानमा रहे। बसन्तले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै १ सय ४१ रन बनाउनुका साथै १२ विकेट लिए। 'यो जीवनमा कहिल्यै नबिर्सने क्षण हो। आँखा चिम्लियो भने पनि पुरै प्रतियोगिता याद आउँछ, सेमिफाइनल र फाइनल जित अविश्वसनीय थियो,' शरदले भने, '२००२ को यु–१९ विश्वकप टोलीका खेलाडीलाई हेर्दै मैले खेल अगाडि बढाएको हुँ, त्यो टोली निकै राम्रो र टिम स्पि्रट थियो, तर प्रदर्शनका आधारमा यो उत्कृष्ट टोली थियो।'
कनिष्क, बसन्त, यशवन्त, प्रेमले तीन युथ एसिया कप जित्दै यु–१९ विश्वकप खेल्दै इतिहास रचे। घरैमा भएको एसिसी यु–१९ कप जितेर नेपाल लगातार चौथोपटक विश्वकपमा छानिएको थियो। बहराइन र ब्रुनाईलाई सजिलै पराजित गरेको नेपालले क्वार्टरफाइनलमा सिंगापुरलाई १ सय रन र सेमिफाइनलमा कुवेतलाई ९ विकेटले पराजित गर्‍यो। पहिलो चारमध्येका ३ खेलमा अमृत भट्टराई म्यान अफ द म्याचमा चुनिए, जसमा दुई संयुक्त थियो। अमृतले पूरा प्रतियोगितामा १४ विकेट लिए। उनी सर्वाधिक विकेट लिनेमा हङकङका इरफान अहमदभन्दा १ विकेटले पछाडि थिए।
फाइनल पनि नेपालका लागि एकतर्फी नै भयो। नायक भने बन्टु बाटाजु थिए। उनले ५ विकेट लिएपछि मलेसिया २५.५ ओभरमा ८३ रनमा समेटियो। नेपालले २५.३ ओभरमा लक्ष्य पूरा गरी प्रतियोगिताको उपाधिमा ह्याटि्रक गर्‍यो। तीनैपटक नेपालले उपाधि उचालेको हेर्ने मलेसिया नै थियो।
नागरिक राष्ट्रिय दैनिकमा साउन २२ गते प्रकासित

No comments:

Post a Comment