Saturday, August 4, 2012

'जायन्ट किलर्स' को आगमन

आइसिसी यु–१९ विश्वकपमा नेपाल
२००२, न्युजिल्यान्ड


एडमन्ड हिलारीले सगरमाथामा पहिलो मानव पाइला टेकेको प्रसंगले धेरै न्युजिल्यान्डवासी नेपाललाई सम्झन्थे। सन् २००२ को आइसिसी यु–१९ विश्वकपले न्युजिल्यान्डको मात्र नभई विश्वले नै नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरिदियो।
पहाडमा कहाँ क्रिकेट खेल्छ? न्युजिल्यान्डको विश्वकप अघिसम्म नेपाली पदाधिकारीलाई प्रायः यही प्रश्न तेर्सिन्थ्यो। न्युजिल्यान्ड विश्वकपमा पनि नेपाली टोली यही प्रश्नले हैरान भए।  न्युजिल्यान्डमा रहेका नेपालीहरू पनि नेपाली क्रिकेटको क्षमतामा त्यति परिचित थिएनन्। नेपाली समाजले राखेको एक कार्यक्रममा कप्तान विनोद दासले भनिदिए, 'हामी तपाईहरूको विश्वासलाई धोका दिन्नौं।'
विनोद दास प्लेट फाइनलमा जिम्बावेका ब्रेन्डन टेलरविरुद्ध बलिङ गर्दै। तस्विर :  एजेन्सी
एकसमय न्युजिल्यान्डका सबैभन्दा महँगा बलरको पहिचान बनाएका मार्टिन स्निडन प्रतियोगिताका निर्देशक थिए। उनले नेपालका श्रीलंकाली प्रशिक्षक रोय लुक डायसलाई सोधे, 'तिमी नेपालमा के गरिरहेका छौं?' तर २१ दिने प्रतियोगितासँगै नेपालको पहिचान फेरिएको थियो। १९९९ को विश्वकपसँगै श्रीलंकाले बर्खास्त गरेका डायस नेपालको प्रशिक्षकका रूपमा स्थापित भए।
पहाडै पहाडको देश भनेर चिनिएको नेपालले टेस्ट खेल्ने पाकिस्तान र बंगलादेशलाई पराजित गरेपछि क्रिकेट राष्ट्रको रूपमा चिनियो। ठूलो टोलीलाई पराजित गरेपछि नेपाललाई 'जायन्ट किलर्स' को उपनाम दियो। इङ्ल्यान्डसँग ३७ रनको पराजयबाट नेपालले दोस्रो विश्वकप सुरुआत गर्‍यो।
सलमान बट, अझर अली, उमर गुल, कामरान युनिस, जुनैद जियाजस्ता खेलाडी समावेश पाकिस्तानमाथि नेपालले ३० रनको विजय पायो। उपकप्तान बरदान चालिसेले ४२ रन बनाए पनि १ सय ५१ रनमा समेटिएको नेपालले शक्ति गौचन र सञ्जम रेग्मीको ३–३ विकेटमा पाकिस्तानलाई ४५.४ ओभरमा १ सय २१ रनमै अलआउट गर्‍यो।
लाक्पा लामाले ४ विकेट लिएर अर्को खेलमा पपुवा न्युगिनीमाथि ६५ रनको विजय दिलाए पनि नेपाल सुपर लिगमा पुग्न सकेन। प्लेट समूहमा धकेलिएको नेपालले त्यसपछि क्यानाडालाई ९ विकेट, नामिबियालाई १० रन र स्कटल्यान्डलाई ४८ रनले पराजित गरी सेमिफाइनल पुग्यो। नामिबियाविरुद्ध बरदानले बनाएको ६९ रन यु–१९ विश्वकपमा नेपाली खेलाडीको पहिलो अर्द्धसतक थियो।
नेपालको दोस्रो शिकार बंगलादेश बन्यो। लगातारको जितपछि विनोद दासले सञ्चारमाध्यमसँग भने, 'हाम्रा खेलाडीलाई जित्ने बानी नै परिसक्यो।' बंगलादेशसँग २३ रनको विजयले नेपाल फाइनलमा पुग्यो। बासुदेव थापाले अविजित ४१ र मन्जित श्रेष्ठ र बरदानको समान २७ रनमा नेपालले वर्षाका कारण दुई दिन लम्बिएको खेलमा ६ विकेट गुमाई १ सय ८० रन बनायो। मोहम्मद अशरफुल, नाफिज इकबाल, अफ्ताब अहमद, सैयद रसेललाई उतारेको बंगलादेशलाई नेपालले ४७.३ ओभरमा १ सय ५७ रनमा रोकिदियो। पाकिस्तानसँगको खेलका हिरो बरदानले ४ विकेट लिँदै बंगलादेशसँग पनि म्यान अफ द म्याच प्रदर्शन गरे।
फाइनलमा जिम्बावेसँग १ सय ३७ रनको हारपछि पराजयबाट सुरु भएको नेपालको यात्रा पराजयमै टुंगियो। बरदानले २ सय ३१ रन बनाउनुका साथै ७ विकेट लिएर अलराउन्ड प्रदर्शन गरे। नेपालबाट अर्द्धसतक बनाउनेमा उनीमात्र थिए। नेपालबाट सर्वाधिक १२ विकेट लिएका सञ्जम शीर्ष १० बलरभित्र परे।
न्युजिल्यान्डका लागि छनोट हुनुअघि नै नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर इतिहास बनाइसकेको थियो। २००१ मा काठमाडौंमा भएको युथ (यु–१९) एसिया कप नेपालको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो। डायसको ९ वर्ष भन्दा लामो नेपाल बसाई यही प्रतियोगिताबाट सुरु भएको थियो । विजेताले मात्र न्युजिल्यान्डमा खेल्न पाउने प्रावधानअनुरुप नेपाल विश्वकपमा छनोट भएको थियो।
युथ एसिया कप नेपालले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। माल्दिभ्ससँग पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा शक्ति गौचनले सतक बनाए। युएईसँगको सेमिफाइनल र मलेसियाविरुद्धको फाइनलमा कीर्तिपुरको त्रिवि मैदानमा लाक्पाले ५–५ विकेट लिए। लाक्पा म्यान अफ द सिरिजमा चुनिए। विनादेको नेतृत्वमा विजय पाएको १४ खेलाडीलाई नै नेपालले न्युजिल्यान्डमा निरन्तरता दिएको थियो।
नागरिक राष्ट्रिय दैनिकमा साउन २० गते प्रकासित ।

No comments:

Post a Comment