Tuesday, August 7, 2012

पारसको एकल साहस


आइसिसी यु–१९ विश्वकपमा नेपाल
२००८, मलेसिया

पहिलो दुई खेल हारेर प्लेट च्याम्पियनसिपमा धकेलिनु। दुई वर्षअघिको यु–१९ विश्वकप शैलीमै मलेसियामा नेपालको सुरुआत भयो। टेस्ट खेल्ने श्रीलंका र अस्ट्रेलियासँग नेपालले कुनै जादु देखाउन सकेन। नेपाललाई श्रीलंकाले ६१ र अस्ट्रेलियाले ९६ रनले पराजित गरे।
श्रीलंकाविरुद्ध अमृत भट्टराईले धारिलो बलिङ गर्दै नेपाललाई विजयको बाटो देखाएका थिए। उनले ४ विकेट लिँदा श्रीलंका ५८–४ मा पुगिसेकको थियो। विकेटकिपर महेश क्षेत्रीले पहिलो स्लिपको क्याच छाडेपछि उनी पाँचौं विकेट लिन चुके। साचिथ पाथिरानाले त्यसको फाइदा उठाउँदै ६२ रन बनाएर नेपालको मुखैको म्याच खोसे। श्रीलंकाले ९ विकेट गुमाई २ सय ३६ रन बनायो। नेपालले १ सय ७५ रनमात्र बनाउन सक्यो।
आकाश गुप्ता र सागर खड्का फाइनलमा वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै। फाइल तस्विरः क्रिकइन्फो

प्रशिक्षक अरबिन्द डी सिल्भा र प्रतियोगितामा श्रीलंकाको खेल हेर्न आएका अर्का पूर्वकप्तान अर्जुना रणतुंगा नेपाली टोली र तीब्र बलर अमृतको खेलबाटै पूरै प्रभावित थिए। 'यति राम्रो देब्रेहाते बलर यो उमेरमा श्रीलंकामै छैन,' रणतुंगाले अमृत बारे दिएको अभिव्यक्ति थियो। प्रशंसा बटुल्नेमा कप्तान पारस खड्का पनि थिए। माथिल्लोक्रममा ब्याटिङ गर्ने उनी पहिलो स्पेल मध्यम गति र दोस्रो स्पेल अफ स्पिन बलिङ गर्थे। 'उसले विकेटकिपङ पनि गर्छ?' पारसको अलराउन्ड क्षमतामा अस्ट्रेलियाली खेलाडीको प्रश्न थियो। पारसले ४ विकेट खोस्दा अस्ट्रेलिया २ सय ६ रनमा समेटियो। राहुल बिकले अविजित ३३ रन बनाउँदै अमृतसँग दसौं विकेटमा ४४ रन जोडे पनि नेपाल १ सय १० रनमा अलआउट हुनपुग्यो।
प्रशंसाबाहेक सुपर लिगमा पुग्न नसकेको यथार्थ नेपाली टोलीले बुझेको थियो। नेपालले सोचेअनुरुप सफलता नपाउनुको मुख्य कारण उपकप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङमा चल्न नसक्नु थियो। दुई 'डक' खाएका उनले ६ खेलमा ३१ रनमात्र बनाउन सके। उनले दुर्लभ बलिङ गरी दुई महŒवपूर्ण विकेट लिए। उनको दुई विकेटले समूह चरणको अन्तिम खेलमा नामिबियासँग ३ रनको विजय पाएपछि नेपाल प्लेट च्याम्पियनसिपको तयारीमा जुट्यो।
प्लेटमा नेपालको 'जायन्ट किलिङ' प्रदर्शन सुरु भयो। यसपटक शिकार हुने पालो जिम्बावेको थियो। उक्त समय टेस्ट मान्यतालाई रोकिराखेको जिम्बावेमाथि नेपालले प्लेट क्वार्टरफाइनलमा ९९ रनको विजय पायो। पुष्प थापाको ४० रनमा नेपालले १ सय ५८ रन बनायो। अमृत, पारस र राज श्रेष्ठले ३–३ विकेट लिएपछि नेपालले जिम्बावेलाई ५९ रनमा समेट्यो।
नामिबियासँग नेपाली फेरि भाग्यमानी बन्यो र ४ रनको विजय हात पार्दै प्लेटको फाइनलमा पुग्यो। ३४ ओभरमा छोट्याइएको खेलमा पारसको ४४ रनमा नेपालले १ सय ४३ रन बनायो। नामिबियाले ९ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो। वेस्ट इन्डिजसँगको फाइनल पनि वर्षाले प्रभावित बन्यो। खेल २७ ओभरमा छोट्टियो। पिच कभरले छोपिएको थियो। विकेटमा शीत थियो। नेपाली टोलीले टस जिते पनि ब्याटिङ रोजेर २५.३ ओभरमा ७४ रनमा समेटियो। विश्वकपमा नेपालको यो सबैभन्दा न्युन स्कोर थियो। नेपालबाट सबैभन्दा बढी १८ रन अतिरिक्तबाट आयो।
वेस्ट इन्डिजले १५ ओभर भित्र ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेपछि नेपालको प्लेट उपाधि जोगाउने लक्ष्य पुरा हुन सकेन। 'हाम्रो खेलाडीमा रन पछ्याउने राम्रो बानी छैन,' नेपालका श्रीलंकाली प्रशिक्षक रोय लुक डायसले टस जितेर पनि पहिला ब्याटिङ गर्नुको कारण सुनाएका थिए। प्रतियोगिताभर अमृतले ११ तथा राज र राहुलले १०–१० विकेट लिए।
तर पारसमा मात्र टोली निर्भर भएको देखिन्थ्यो। उनले १२ विकेट लिनुका साथै १ सय १३ रन बनाएर शानदार अलराउन्ड प्रदर्शन गरे। मलेसियामै नेपाललाई एसिसी यु–१९ इलाइट कप जिताएर लगातार पाँचौंपटक विश्वकपको बाटो देखाउँदा पनि पारस एक्लै छाए। ९७ रन बनाउनुका साथै ८ विकेट लिएर उनी म्यान अफ द सिरिजमा चुनिएका थिए।
सिंगापुरलाई ७, कुवेतलाई ६, ओमानलाई ८ विकेटले पराजित गरेको नेपालको थाइल्यान्डसँगको खेल वर्षाले पुरै बिथोलिएको थियो। यसअघिका तीन फाइनलमा पराजित गरेको नेपालले यसपटक मलेसियालाई सेमिफाइनलमै ५ विकेटले रोकेको थियो। पारसले ५ विकेट लिई मलेसियालाई ५४ रनमै अलआउट गरे। आकाश गुप्ताको ४८ र सागर खड्काको ३२ रनमा उकासिएको नेपालले फाइनलमा अफगानिस्तानविरुद्ध १ सय ७२ रन बनायो। शशी केसरीले ३ विकेट लिएपछि अफगानिस्तानलाई  १ सय २४ रनमै समेट्दै नेपालले लगातार चौथोपटक उपाधि जित्यो।
कनिष्क चौंगाई, यशवन्त सुवेदी, बसन्त रेग्मी, प्रेम चौधरीपछि एसिसी यु–१९ तीनपटक जित्ने र तीन विश्वकप खेल्ने खेलाडीमा पारस र राजको नाम थपियो।
नागरिक राष्ट्रिय दैनिकमा साउन २३ गते प्रकासित

No comments:

Post a Comment