Sunday, August 5, 2012

चिप्लिएका सुरक्षित हातहरू

आइसिसी यु–१९ विश्वकपमा नेपाल
२००४, बंगलादेश

लगातार तेस्रोपटक विश्वकपमा छनोट भएसँगै नेपालले अर्को कोसेढुंगा तयार पारिसकेको थियो। पाकिस्तानको कराँचीमा नेपालले युथ (यु–१९) एसिया कप जितेर बंगलादेश विश्वकपमा स्थान सुरक्षित गरेको थियो। सन् २००१ को प्रतियोगितालाई निरन्तरता दिँदै नेपालले विजय पायो।
विदेशी भूमिमा नेपालको यो पहिलो उपाधि थियो। पाकिस्तानको टेस्ट छवि मनन गर्ने हो भने नेपालले त्यहाँ गएर अर्को उपाधि जित्न जादू नै गर्नुपर्नेछ। टेस्ट खेल्ने राष्ट्रहरू सुरक्षाका कारण देखाई पाकिस्तान आउन अस्वीकार गरिरहेको अवस्थामा एसियाली क्रिकेट परिषद्ले कराँचीमा प्रतियोगिता सारेपछि नेपाललाई साइत परेको थियो।
कँराचीमा म्यान अफ द फाइनल शरद भेषावकर र कप्तान शक्ति गौचन उपाधिका साथ।  तस्विरः क्रिकइन्फो

सुरुआत नेपालले माल्दिभ्समाथि ३ सय ४४ रनको विजय पायो। नेसनल रंगशालामा कनिष्क चौगाईंले १ सय २५ रन बनाए। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको यो अझै उच्च स्कोर हो। युएई र सिंगापुरमाथि विजय पाएको नेपालको कतारसँगको खेल वर्षाले एक बल नै नफाली रद्ध पार्‍यो।
कुवेतसँगको सेमिफाइनल पनि वर्षाले बिथोलेपछि नेपाल समूह चरणको प्रदर्शनका आधारमा फाइनल पुग्यो। फाइनलमा पनि वर्षाले छोडेन। २५ ओभरमा छोट्याइएको खेलमा म्यान अफ द फाइनल शरद भेषावकर ५१ बलमा २ चौका र १ छक्कामा ५५ रन बनाएपछि ५ विकेट गुमाई १ सय ५५ रन बनायो। मन्जित श्रेष्ठको ४ विकेटपछि मलेसियाले ६ विकेट गुमाई १ सय २५ रनमात्र बनाउन सक्यो।
अघिल्ला दुई संस्करणमा देखाएको प्रदर्शनले आइसिसी यु–१९ विश्वकपमा नेपालले कमजोर आँक्न नहुने छवि बनाइसकेको थियो। तर पहिलो खेलमै नेपाल इङ्ल्यान्डसँग ८ विकेटले पराजित भयो। शरदको ८२ रनमा नेपालले ८ विकेट गुमाई १ सय ९१ रन बनायो। एलिस्टर कुकलाई ९ रनमा पवेलियन फर्काए पनि रवि बोपाराको ५९, साइमन डेभिसको अविजित ७८ र समित पटेलको अविजित ३५ रनमा इङ्ल्यान्डले ४३ ओभरमै खेल जित्यो।
जिम्बावेले अस्ट्रेलियालाई पराजित गरेपछि प्रतियोगितामा उथलपुथल सुरु भइसकेको थियो। वास्तविक आश्चर्य नेपालले दक्षिण अफ्रिकालाई १ विकेटले पराजित गरेपछि भयो। केवल दोस्रो अन्तर्राष्ट्रिय खेल खेलिरहेका शशी केशरीले दुई बलअघि विजयी चौका प्रहार गरेपछि नेपालले १ सय ५७ रन पछ्यायो। वास्तविक हिरो कप्तान शक्ति गौचन थिए। उनको धैर्यमा मात्र नेपालको विजय सम्भव भयो। कनिष्क पहिलो ओभरमै आउट भएपछि क्रिजमा आएका उनले १ सय ४० बल खेल्दै दुई चौकासहित अविजित ५१ रन बनाए। चटगाउँमा यसअघि मन्जितले ४ विकेट लिएपछि दक्षिण अफ्रिका ठीक ५० ओभरमा १ सय ५६ रनमा अलआउट भयो।
शक्तिले अविजित इनिङ खेल्दै ८० रन बनाएपछि नेपालले युगान्डालाई ५ विकेटले पराजित गरे पनि अघिल्लो चरणमा प्रवेश गर्न सकेन। इङ्ल्यान्डसँग नाटकीय विजय पाएपछि दक्षिण अफ्रिका सुपर लिगमा छिर्‍यो। प्लेट लिगमा धकेलिएको नेपालले त्यसपछि पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्‍यो। कनिष्कले अविजित ९० रन बनाई विश्वकपमा नेपाली खेलाडीको उच्च स्कोर बनाए। स्कटल्यान्डसँग ३ र अस्ट्रेलियासँग ६ विकेटले पराजित भएपछि नेपालको यात्रा प्लेट सेमिफाइनल पुग्नु अघि नै सकियो।
'ब्याटिङ र बलिङका हिसाबले हामी धेरै राम्रो खेल्यौं, तर फिल्डिङ हाम्रो निकै खराब रह्यो। हामीले प्रतियोगिताभर २३–२४ क्याच छाड्यो,' शक्तिले भने, 'न्युजिल्यान्डमा हामी बलिङ र फिल्डिङले गर्दा जमेको थियौं।' पपुवा न्युगिनीसँगको खेलमा मात्र नेपालले ९ क्याच छाडेको थियो। 'सुरक्षित हात' मानिएका विकेटकिपर मनोज कटुवालले मात्र झन्डै १० क्याच छाडेका थिए। मनोजमाथि त्यतिखेर पूर्ण फिट नभएर पनि पनि खेलेको आरोप लागेको थियो।
 नागरिक राष्ट्रिय दैनिकमा साउन २१ गते प्रकासित

No comments:

Post a Comment