Saturday, September 1, 2012

सजिलो छैन डिभिजन ४ को यात्रा

विश्व क्रिकेट लिग, विश्वकपको खुड्किलो हो। मलेसियामा मंगलबार विश्व क्रिकेट लिग डिभिजन ४ सुरु हुँदा नेपालको लक्ष्य पनि विश्वकप नै हुनेछ। पछिल्लो तीन वर्षको विश्व क्रिकेट लिगका नतिजा हेर्ने हो भने यथार्थमा नेपाललाई डिभिजन ४ नै उक्लनु कठिन लक्ष्य हुनेछ।
मलेसिया र सिंगापुर नेपालका परम्परागत प्रतिद्वन्द्वी हुन्। अमेरिका र तान्जेनियासँग नेपालले मिश्रित नतिजा बेहोरेको छ। दुई वर्षअघि इटालीको प्रतियोगितामा अमेरिका र तान्जेनियासँगै पराजित भएपछि नेपालको यात्रा डिभिजन ४ मै रोकिएको थियो। नेपाललाई डेनमार्क नौलो प्रतिद्वन्द्वी हो। ५० ओभरको खेलमा डेनमार्कसँग नेपाल पहिलोपटक आमनेसामने हुँदैछ।
२०१० मा इटालीमा भएको डिभिजन ४ को दौरान नेपालका शक्ति गौचनलाई आउट गरेपछि अमेरिकी खेलाडी। तस्विर सौजन्य: आइसिसी

नेपाल र अमेरिका डिभिजन ४ आयोजनाको लागि दाबेदार थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को तोकिएको मापदण्ड पूरा गर्न नसकेपछि अमेरिका आयोजना दौडबाट बाहिरिने पहिलो राष्ट्र बन्यो। डिभिजन ४ मा नेपाल एक्लो दाबेदारमा उभियो। सरकार परिवर्तनसँगै नेपाली क्रिकेटको नेतृत्वमा पनि परिवर्तन भयो। 'राजनीतिक हस्तक्षेप' ले अन्तर्राष्ट्रिय क्रिकेटलाई सशंकित बनायो। त्यसयता अन्तर्राष्ट्रिय क्रिकेटसँग नेपालको सम्बन्ध वेखबर जस्तै छ।
डिभिजन ४ गुमाउनुको अर्को प्रमुख कारण त्यही दौरानलगत्तै भएको एसिसी ट्वान्टी–२० कप थियो, जसले नेपाली क्रिकेटलाई अर्को कालो दाग लगायो। युएईसँगको खेलदौरान नेपाल पराजय नजिक पुगेपछि दर्शकले मैदानमै ढुंगामुढा गरे। सन् २०१० मै काठमाडौंमा भएको डिभिजन ५ को 'रिहर्सल' जस्तै थियो, त्यो ढुङ्गा हानेको घटना। डिभिजन ५ का घटनाका लागि त्रिवि मैदान केही समय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्धित भयो। एसिसी ट्वान्टी–२० कपको पछिल्लो घटनाले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने नेपालको सम्भावना अन्योल बन्यो।
मलेसियाले डिभिजन ४ आयोजनाको फाइदा उठाए त्यसमा सबैभन्दा बढी चुकचुकाउने नेपाल नै हुनेछ, आयोजना गुमाउनुको पीडामा। २००९ यता खेलिएका डिभिजन लिगको ११ प्रतियोगितामा ९ पटक आयोजक टोली विजेता र उपविजेता बनेर बढुवा भएको छ। त्यसैले घरेलु टोली हुनुको फाइदाले यसपटक ठूलो भूमिका खेल्न सक्छ। सिंगापुर पनि डिभिजन ५ आयोजना गर्दै बढुवा भएको हो। २००९ मा डिभिजन ६ को तगारो पनि सिंगापुरले आयोजक भएरै पार गरेको थियो।
मलेसियाले आयोजक हुँदा नै डिभिजन ६ को खुड्किलो पार गर्न सकेको थियो। २०१० मा नेदरल्यान्डले डिभिजन १ र गत वर्ष बोट्सवानाले डिभिजन ७ गर्दा आयोजक भएको फाइदा उठाउन सकेनन्। डिभिजन १ मा बढुवा र घटुवा हुने प्रावधान भने थिएन। अस्ट्रेलियाको फरक वातावरणकै नेपाली यु–१९ टोलीले विश्वकपमा राम्रो खेल्न नसकेको निष्कर्ष निकालेका प्रशिक्षक पुबुदु दासानायकेले आयोजक राष्ट्रले लिन सक्ने फाइदाबारे राम्रोसँग बुझिसकेका छन्।
विश्व क्रिकेट लिगमा आयोजक टोलीले फाइदा लिँदै आएको बारे नेपालले राम्रोसँग बुझेको हुनुपर्छ। आफैले आयोजना गरेको डिभिजन ५ जितेर बढुवा हुँदै नेपालले आइसिसीको पहिलो उपाधि जितेको थियो। दाबेदार सूचीमा नापिएको नेपाल २००८ मा जर्सीमा भएको डिभिजन ५ र इटालीमा २०१० मा भएको डिभिजन ४ मा तेस्रो भई यथास्थानमा रह्यो।
यु–१९ विश्वकपमा १३ विकेट लिई सबैभन्दा बढी विकेट लिनेमा तेस्रो स्थानमा रहेका स्पिनर राहुल बिक पनि घरेलु टोलीलाई फाइदा हुनेमा विश्वास राख्छन्। तर उनी मलेसियासँगै नेपाल र सिंगापुर पनि क्वालालम्पुरमा घरेलु टोलीका रूपमा रहने बताउँछन्। 'एसियाली भूमिमा भइरहेकाले नेपाल, मलेसिया र सिंगापुरकै सम्भावना बलियो छ। हाम्रो स्तर उनीहरूसँग मिल्छ। नेपाल जसरी पनि फाइनल पुगेर बढुवा हुनुपर्छ, सजिलो भने छैन। अमेरिकाको पहिला जस्तो धार देखिएको छैन,' डिभिजन ४ लाई नेपालले खेल्न लागेको सबैभन्दा ठूलो प्रतियोगिता मान्दै उनले भने, 'एसिसी यु–१९ एसिया कपका क्रममा त्यहाँ घाँसे विकेट बनाइएको थियो। तर बल राम्रो घुमिरहेको थियो। हाम्रा स्पिनर यसमा प्रभावकारी हुन सक्छन्।'
लामो समय ५० ओभरको खेल नखेल्नु डिभिजन ४ मा नेपालको अर्को कमजोरीमा उजागर हुनसक्छ। गत जेठमा राष्ट्रिय क्रिकेट भएयता घरेलु क्रिकेटमा पनि नेपाली खेलाडीले ५० ओभरको खेलमा प्रतिस्पर्धा गर्न पाएका छैनन्। इटालीमा डिभिजन ४ मा दुई वर्षअगाडि खेल्नु नेपालको एकदिने खेलमा पछिल्लो अन्तर्राष्ट्रिय अनुभव थियो। अस्ट्रेलियामा नेपाली यु–१९ टोलीमा यसको प्रभाव देखिएको थियो।
राहुल यसलाई मान्न तयार छैनन्। 'अस्ट्रेलियामा हाम्रो उद्देश्य ५० ओभरकै शैलीमा खेल्नु थियो। युवा टोली भएकाले नेपाली टोली स्थापित हुन गाह्रो पर्‍यो,' उनले भने, 'डिभिजन ४ मा त्यस्तो समस्या नआउन सक्छ। सबै खेलाडी अभ्यास खेल खेलिरहेका छन् र टचमा छन्। सिनियर खेलाडीले जिम्मेवारी बढी बुझेका हुन्छन्।'
प्रशिक्षक दासानायकेको धारणा पनि यस्तै नै छ। 'नेपाली खेलाडीले पछिल्लो केही समय विदेशी क्लबबाट खेले। पारसले क्यानाडामा खेले, अमृत भट्टराई र चन्द्र साउदले श्रीलंकामा यु–२३ लिग खेले। ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अनिल मण्डलले एक साताभन्दा बढी भारतमा ब्याटिङको विशेष प्रशिक्षण लिए,' दासानायके भन्छन्, 'यसले खेलाडीलाई सक्रिय बनाइरह्यो, त्यसैले मलाई नेपालले एकदिने शैलीमा खेल्न सक्छन् भन्ने विश्वास छ।'
इटालीमा अमेरिका र तान्जेनियासँग हारेपछि नेपाल डिभिजन ४ बाट उक्लन सकेन। अझ तान्जेनियासँगको हार नेपालको लागि स्तब्ध थियो। तान्जेनियाले दिएको १ सय १८ रन पनि बनाउन नसकी नेपाल ९ रनले पराजित भएको थियो। त्यही तान्जेनियालाई नेपालले प्लेअफमा १० विकेटले पराजित गरेको थियो। अमेरिकासँगको ६ भिडन्तमा नेपालले २ जित र २ हार बेहोरेको छ। २ खेल अनिर्णीत छन्। सिंगापुर र मलेसियालाई नेपालले एकदिने खेलमा पराजित गर्दै आएको छ। विदेशी भूमिमा खेल्दाको कठिनाइ, लामो समयदेखि ५० ओभर नखेल्नु तथा इटालीमा दुई वर्ष अघिभन्दा यसपटक उक्लन गाह्रो सम्भावनासँग परिचित छ, नेपाल।
नागरिक राष्ट्रिय दैनिकमा भदौ २६ मा प्रकासित

1 comment:

  1. गारो त पक्कै छ तर नेपाली टोलि डिभिजन ३ मा उक्लिन सक्ने सम्भावना बोकेको टोलि हो भन्ने आम मानिसको बुझाई छ..आशा गरौँ पक्कै पनि हाम्रो टोलि डिभिजन
    ३ मा उक्लि नेपाली क्रिकेटको स्तरोन्नति गरोस शुभकामना

    ReplyDelete