Monday, September 3, 2012

सिंगापुर र तान्जेनियासँगको खेल नेपाललाई महत्वपूर्ण

विश्व क्रिकेट लिग डिभिजन ४ मा सिंगापुर र तान्जेनियासँगको पहिलो दुई खेल नेपालका लागि निकै महत्वपूर्ण हुनेछ। विश्वकपको खुड्किलो डिभिजन ४ सोमबार मलेसियामा सुरु हुँदा सेलेङगर टर्फ क्लबमा उत्रिएपछि नेपाल र सिंगापुरको प्रतिद्वन्द्विता पुनः नवीकरण हुनेछ।
नेपाल र सिंगापुर एकदिने खेलमा दुईपटक आमने सामने भएका छन्। त्यही दुई भेट नै एकअर्कालाई शत्रु मान्न पर्याप्त बन्यो, विशेष गरी सिंगापुरको हकमा। दुवैमा विजय पाएको नेपाल त्यसलाई निरन्तरता दिन आतुर छ। सिंगापुर भने नेपाललाई पराजित गरी दुवैपटक भोगेको हारको रिस फेर्ने सूरमा हुनेछ।
सहभागि ६ देशका कप्तान। तस्विरः आइसिसी

एउटै क्षेत्रमा भए पनि नेपाल र सिंगापुर दुई वर्षअघि काठमाडौंमा सम्पन्न डिभिजन ५ मा पहिलोपटक भिडेका थिए। बसन्त रेग्मीको ५४, शरद भेषावकरको ३२ र कप्तान पारस खड्काको २४ रनमा नेपालले ९ विकेट गुमाई १ सय ८० रन बनायो। सञ्जम रेग्मीले ४ र बसन्तले २ विकेट लिएपछि निकै कठिन खेलमा सिंगापुरलाई ४७.५ ओभरमा १ सय ६४ रनमा सीमित गर्दै नेपालले १६ रनको विजय पाएको थियो। खेलका क्रममा भनाभन गरेका मार्भन अत्तापट्टुको प्रशिक्षणमा रहेको सिंगापुरका खेलाडी र नेपाली बलर सञ्जम रेग्मीबीच यो क्रम अन्तसम्म चल्यो।
पहिलो चरणको अन्तिम खेलमा नेपाल–अमेरिकाबीचको खेलमा दर्शकको उपद्रोका कारण कीर्तिपुरको त्रिवि मैदानमा हुलदंगा र ढुंगामुढा भएपछि नेपाल र सिंगापुरको सम्बन्ध अझ चिसिन पुग्यो। नेपाल पराजय नजिक पुगेपछि दर्शकले मैदानमै ढुंगा हान्न सुरु गरेका थिए। यसले घाटा सिंगापुरलाई पुर्‍यायो। ढुंगामुढा भएर खेल रोकिएको समय कटाउँदा नेपाललाई भाग्यले साथ दियो र अमेरिकासँग फाइनलमा पुग्दै डिभिजन ४ मा छनोट भयो। एक बलअगाडि मात्र पनि अमेरिकाले लक्ष्य पूरा गरेको भए सिंगापुर फाइनल पुग्ने थियो र नेपाल डिभिजन ५ मा यथावत् हुने थियो।
जालझेल गरेर फाइनलमा पुग्न नदिएको भनेर सिंगापुरले प्रतियोगिताको आयोजक कमिटीसँग उजुरी हाल्यो। यो उजुरीलाई उनीहरूले पछि आइसिसीसम्म पुर्‍यायो। आइसिसीले पनि घटनाको छानबिन गरी त्रिवि मैदानमा केही समय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लगायो। तर नतिजा परिवर्तन भएन। सिंगापुर डिभिजन ५ मा यथावत् रह्यो। आइसिसीको छानबिन समितिको उक्त निर्णयले सिंगापुरको क्रिकेटलाई अझ पछाडि धकेलेको गुनासो पनि उनीहरूले गरे।
डिभिजन ५ को एक महिनापछि नै कुवेतमा भएको एसिसी ट्रफीमा रेलिगेसनमा परेपछि सिंगापुरको क्रिकेट कम्तीमा दुई वर्ष पछाडि धकेलियो। टोली अहिले एसियाली क्रिकेट परिषद् (एसिसी) को दोस्रो दर्जाको प्रतियोगिता च्यालेन्ज कपमा खेल्ने गर्छ। एसिसी ट्रफीमा पनि नेपालले सिंगापुरलाई पराजित गरेको थियो। पाँच ब्याट्सम्यान रनआउट गरेपछि नेपालले सिंगापुरलाई ४९ ओभरमा २ सय १६ रनमा समेट्यो। अनिल मण्डल र महेश क्षेत्रीले कीर्तिमानयुक्त १ सय ३५ रनको साझेदारी गरेपछि नेपालले ४३.२ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो।
फेब्रुअरीमा आफ्नै भूमिमा आयोजित डिभिजन ५ जित्दै सिंगापुर डिभिजन ४ मा उक्लिएको हो। टोलीले फाइनलमा मलेसियालाई पराजित गरेको थियो। २००९ मा पनि डिभिजन ६ आफैले आयोजना गरी सिंगापुर बढुवा भएको थियो।
नेपाल भने दुई वर्षअघि इटालीमा भएको डिभिजन ४ मा बढुवा हुन सकेको थिएन। त्यसयता पहिलोपटक नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ५० ओभरको खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। पछिल्लो १५ महिना नेपाली खेलाडीले घरेलु क्रिकेटमै एकदिने खेलमा प्रतिस्पर्धा गर्न पाएका छैनन्। नेपाली कप्तान पारस मुख्य प्रतियोगिताअगाडि यसलाई नै कमजोरीका रूपमा लिने नहुने बताउँछन्। उनले मलेसियाबाट नागरिकसँग भने, 'हामीले श्रीलंका भ्रमणमा गएर राम्रो अभ्यास खेल खेल्यौं। हरेक विषयमा सकारात्मक र नकारात्मक पक्ष हुन्छन्। अहिले सबैलाई पन्छाई सकारात्मक रूपमा अगाडि बढ्नुपर्छ। सफलताका लागि धैर्य महत्वपूर्ण हुन्छ, विशेषगरी एकदिवसीय क्रिकेटमा।'
इटालीमा तान्जेनियासँगको अप्रत्याशित हार नेपाल डिभिजन ३ मा उक्लन नसक्नुको कारण थियो। तान्जेनियाले दिएको १ सय १८ रन पनि बनाउन नसकी ९ रनले पराजित नेपालले तेस्रो स्थानलाई भएको प्लेअफमा त्यही तान्जेनियालाई १० विकेटले पराजित गर्दा थप चुक्चुकाउनु परेको थियो। नेपाल यसपटक तान्जेनियालाई पहिलो चरणमै पराजित गरी डिभिजन ३ मा उक्लने बाटो खोल्न चाहन्छ। 
नागरिक राष्ट्रिय दैनिकमा भदौ १८ गते प्रकासित


No comments:

Post a Comment