Thursday, September 27, 2012

पोखरामा महिला क्रिकेटको तरंग


पोखरामा सुरु वाइवाइ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताले नयाँ तरंग थपेको छ। महिला क्रिकेट पहिलोपटक राजधानी बाहिर हुन लागेको हो भने नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यानले आयोजना गर्न लागेको राष्ट्रिय प्रतियोगितामा नेपाल एपिएफ क्लबले पहिलोपटक सहभागिता जनाउँदै छ।
६ वर्षअघि काठमाडौंको ल्याब स्कुलमा नेपालगन्ज, बैतडी, भैरहवा र काठमाडौं गरी चार क्षेत्रीय टोलीबीच प्रदर्शनी खेल खेलाएर सुरु महिला क्रिकेटमा अहिले ९ टोली पुगिसकेका छन्। क्यानको संरचनामा चलिरहेका ८ क्षेत्रीय टोली र एपिएफले पोखरेली प्रतियोगितामा भाग लिने छन्। एपिएफले पुरुष क्रिकेटसँगै गत वर्षदेखि महिला टोली पनि गठन गरेको थियो। महेन्द्रनगर–धनगढीमा फागुनमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा पहिलोपटक सहभागिता जनाउँदा एपिएफको महिला टोलीले उपाधि नै जितेको थियो। क्यानले आयोजना गर्न लागेको प्रतियोगितामा भने एपिएफले पहिलो पटक सहभागिता जनाउन लागेको हो।
फाइल तस्विरः नागरिक

विगतामा जस्तै यसपटक राष्ट्रिय प्रतियोगिता पनि आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट आधार हो। नेपाली टोली अर्को महिना चीनको ग्वाङझाउमा हुने एसिसी वुमन्स ट्वान्टी–२० एसिया कपमा प्रतिस्पर्धा गर्न जाँदैछ। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसम्मिलित प्रतियोगिता नेपालले अहिलेसम्म खेल्न लागेको सबैभन्दा ठूलो प्रतियोगिता हो। अघिल्लो वर्ष थाइल्यान्डमा सम्पन्न एसिसी वुमन्स ट्वान्टी–२० को सेमिफाइनलमा पुग्दै नेपाल प्रतियोगितालाई छनोट भएको थियो।
एपिएफको टोलीमा नीरा राजोपाध्याय (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, नीमा तामाङ, करुणा भण्डारी, खिना थापामगर, रितु कनोजिया, मधु थापा, ज्योति पाण्डे, मेलिना रायमाझी, बिनु बुढामगर, सरिता मगर, सोनु खड्का छन्। निमा, ज्योतिबाहेक सबैले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन्। सबै खेलाडीको प्रदर्शन एकै प्रतियोगिताले नदेखिने हुनाले यसले एपिएफ मर्कामा पर्न सक्छ। नीरा पनि यसमा सहमत छिन्, 'सबै राष्ट्रिय खेलाडी हुन्। यसअघि पनि सबैले आफ्नो क्षमता प्रमाणित गरेर राष्ट्रिय खेलाडी भएका हुन्। यसपटक पनि सबै आफूलाई उत्कृष्ट सावित गर्न आतुर छन्।' उनको चिन्ता तयारी राम्रो नहुनुमा छ। 'वर्षाले गर्दा खासै तयारी गर्न पाइएन, १० दिन अभ्यास गरेर प्रतियोगिता खेल्न जाँदैछौं,' उपाधि जित्ने सम्भावना आफ्नो टोलीकै बलियो देख्दै उनी थप्छिन्, 'राम्रो खेलेरै नै जित्ने उद्धेश्य बनाएका छौं। सबै उस्तै टोली हुन् सजिलो छैन। पोखरा नयाँ टोली हो तर हामी गम्भीर भएर नै खेल्छौं।'
महिला क्रिकेट आयोजनासँगै पोखरा रंगशालाको क्रिकेट मैदानको औपचारिक सुरुआत हुनेछ। ११ वर्षअगाडि ८ लाखबाट मैदान बनाउन सुरु गरिएको थियो। तर मैदान पहिलाभन्दा केही अगाडि सारेर पछिल्लो चार वर्षदेखि नयाँ मैदान बनाउन थालिएको हो। कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु मैदान बनाउन ७६ लाख खर्च भइसकेको बताउँछन्। त्यसमा क्यानबाट ३७ लाख र स्थानीय स्तरमा बाँकी रकम उठाइएको प्रजुले बताए।
क्रिकेट मैदान बनाउन पोखरा उद्योग वाणिज्य संघ १ लाख २० हजार, उपत्यका नगर विकास समितिले १ लाख नगद तथा भाटभाटेनी सुपर मार्केटले १२ लाख र बतास ग्रुपले ६ लाख बराबरको सामाग्री सहयोग गरेका थिए। पोखरा रंगशालामा टर्फ विकेट तथा अर्को मैदान नगरविकासमा भने म्याटिङमा खेल हुनेछ। 'मैदान निर्माण पूर्ण रूपमा सम्पन्न भएपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका साथै क्रिकेटका अन्य राष्ट्रिय प्रतियोगिता पनि गर्ने लक्ष्य बनाएका छौं,' प्रजुले भने, 'हामीले एकेडेमी धारणामा अगाडि बढ्ने योजना बनाएका छौं।'
शुक्रबार साप्ताहिकमा असोज ११ गते प्रकाशित


No comments:

Post a Comment