Tuesday, September 11, 2012

नायकसँगै फेरीयो बसन्तको परिचय

नेपाली क्रिकेटमा बसन्त रेग्मीको परिचय 'सहनायक' हुने गर्दथ्यो। मलेसियामा भएको विश्व क्रिकेट लिग डिभिजन ४ ले उनको यो परिचय फेरिदिएको छ। राष्ट्रिय टोलीलाई विदेशी भूमिमा पहिलो उपाधि दिलाएपछि उनी नेपाली क्रिकेटका नायक बनेका छन्। बसन्त नेपाली क्रिकेटको स्वाभाविक प्रतिभा हुन्। धेरै उनलाई उपयोगी क्रिकेटर पनि भन्छन्। मलेसियामा उनले आफ्नो यो दुवै क्षमताको पूरा सदुपयोग गरे। ६ वर्षअघि राष्ट्रिय टोलीमा 'डेब्यु' गरेयता उनले नेपालबाट १ सय १० विकेट लिइसकेका छन्। तर उनी कहिल्यै 'स्टार' भएनन्। सधँ सहनायक।
तस्बिर:आइसिसी
२०५६ सालमा भएको जय ट्रफीको अन्तिम संस्करणमा बसन्तजस्ता किफायती खेलाडी सायदै कोही थिए। उनी ओपनिङमा ब्याटिङ गर्थे र ओपनिङ बलर नै। मध्यम गतिको बलिङमा इन स्विङ गराउनु उनको खुबी थियो। तर काँधमा समस्या आएपछि उनको अलराउन्ड क्षमताले अर्को पाटो समात्यो। ओपनिङ ब्याट्सम्यानबाट उनी मध्यक्रममा झरे। मध्यम गतिको बलिङलाई उनले स्पिनको धार बनाए।
युवा टोलीमा बसन्त ३ एसिसी यु–१९ कप जित्ने र ३ यु–१९ विश्वकप खेल्ने सानो सूचीका चुनिएका खेलाडी हुन्। पहिलो दुई खेलमा उनी कमै मात्र पहिलो रोजाइमा परे। २००६ मा तेस्रो पटक विश्वकप खेल्ने जानु अघि मोटरसाइकल दुर्घटनामा पर्दा बसन्तले नखेल्ने निश्चित जस्तै भइसकेको थियो। उनी प्रारम्भिक टोलीमा समेत थिएनन्। प्रशिक्षक रोय डायसले उनलाई सिधै टिपेर टोलीमा राखे।
बसन्तले त्यसको जवाफ मलेसियामा भएको विश्वकपमा दक्षिण अफ्रिकासँगको सेमिफाइनल र न्युजिल्यान्डसँगको फाइनल खेल जिताएर देखाइदिए। फाइनलमा उनले ६६ रन बनाए। कनिष्क चौगाईंले प्रतियोगिताभर २ सय ३४ रन बनाएपछि बसन्त उपयोगी खेलाडीमात्र भए, 'स्टार' हुन सकेनन्।
बसन्तले मलेसियाको डिभिजन ४ मा २१ विकेट लिए। एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले राष्ट्रिय टोलीबाट सबैभन्दा बढी विकेट लिने कीर्तिमान पनि बनाए। सन् २००८ मा जर्सीमा भएको डिभिजन ५ मा महबुब आलमले १९ विकेट लिएका थिए। सोही प्रतियोगिता दौरान महबुबले दुईपटक खेलमा ५ वा सोभन्दा बढी विकेट लिएका थिए। बसन्तले सोमबार अमेरिकासँगको फाइनल ५ विकेट लिँदै महबुबको त्यो नेपाली कीर्तिमान पनि बराबरी गरिदिए ।
बसन्त म्यान अफ द फाइनल बने। २१ विकेटसँगै उनी म्यान अफ द सिरिजमा चुनिए। २०१० मा पुल्चोक क्याम्पस मैदानमा सिंगापुरविरुद्ध बसन्त पहिलोपटक म्यान अफ द म्याचमा चुनिएका थिए। त्यसबाहेक सोही वर्ष डिभिजन ४ मा क्यामी आइल्यान्डविरुद्ध मात्र उनी उत्कृष्ट खेलाडी भएका छन्। त्यो बाहेक उनको भूमिका सहनायकमै अल्झिरह्यो। अर्थात नेपालले महत्वपूर्ण खेल जित्दा अर्का खेलाडी म्यान अफ द म्याचमा चुनिने र बसन्त सहायक जस्तो मात्र।
अमेरिकासँगको समूह चरणको खेलमा बसन्तले ५ विकेट लिँदै नेपाललाई विजय दिलाएर डिभिजन ३ को बाटो देखाएका थिए। तर सुवास खकुरेलले राष्ट्रिय टोलीकै व्यक्तिगत १ सय १५ रनको उच्च स्कोर बनाएपछि उनी सहनायक बने। समूह चरण र फाइनलमा गरी बसन्तले अमेरिकाविरुद्ध दुवैपटक ५ विकेट लिए।
मलेसिया भ्रमणअघि उनले पछिल्लोपटक ५ विकेट लिँदा महबुबलाई विश्व कीर्तिमान नै जुरेको थियो। जर्सीमा मोजाम्बिकसँग बसन्तले राष्ट्रिय टोलीबाट पहिलोपटक ५ विकेट लिएका थिए। कप्तान विनोद दाससँगै उनले ५–५ विकेट लिँदा नेपालले मोजाम्बिकलाई ७० रनमा समेट्यो। नेपालले १ बलमात्र खेलेको समयमा वर्षाले बिथोलिएपछि खेल रद्द हुनपुग्यो। फेरि खेलाइएको खेलमा महबुबले सबै १० विकेट लिएर विश्व कीर्तिमान बनाए। महबुबको त्यही १० विकेटले बसन्तलाई ओझेलमा पारिदियो। महबुबले १९ विकेटका साथ प्रतियोगिता सिध्याउँदा बसन्तको नाममा १४ विकेट थियो।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पहिलो उपाधि जित्दा बसन्त मुख्य योगदान दिने खेलाडीमा थिए। अन्तमा बसन्तको भूमिका त्यही नै थियो, सहनायक। काठमाडौंमा भएको २०१० को डिभिजन ५ मा अमेरिकासँगको फाइनलअघि बसन्तले १२ विकेट लिइसकेका थिए। फाइनलमा उनले विकेट थप्न सकेनन्। अर्का देब्रेहाते स्पिनर राहुल बिकले ७ विकेट लिई प्रतियोगितामा बसन्तकै बराबर १२ विकेट पुर्‍याएपछि उनको 'स्टार' बन्ने पालो फेरि खोसिएको थियो।
इटालीमा २०१० भएको डिभिजन ४ बसन्त नेपाली खेलाडीमा सबैभन्दा अगाडि रहे। उनले १४ विकेट लिए। तर नेपाली टोली बढुवा हुन नसकेपछि उनको सफलता फेरि ओझेलमा पर्‍यो। यसै वर्ष युएईको विश्व ट्वान्टी–२० छनोटमा नेपाललाई सातौं स्थानमा पुर्‍याउँदा बसन्तले ११ विकेट लिए। तर शक्ति गौचनको ह्याट्रिकसहितको १६ विकेट र पारस खड्काको 'वानम्यान आर्मी' प्रदर्शनले बसन्त औसत खेलाडीमै बसे। त्यसअघि नेपालमै भएको एसिसी ट्वान्टी–२० मा बसन्तले नेपालबाट सर्वाधिक ८ विकेट लिनुका साथै ४७ रन बनाए। साउदी अरेबियाको सहयोगमा मात्र नेपालले युएईलाई रनरेटमा पछाडि पार्न सक्यो। साउदीका हमाद सइद ६३ रन बनाउँदै नेपाली नायक बने।
मलेसियामा यसपटक बसन्तले एकरुपको प्रदर्शन गरे। राउन्ड रोबिन लिगको अन्तिम खेलमा डेनमार्कसँग बाहेक बसन्तले सबैमा ३ विकेटभन्दा बढी लिए। हरेक खेलमा फरक नेपाली खेलाडी म्यान अफ द म्याचमा चुनिए। बसन्तले फाइनललाई विशेष बनाए। प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने। बसन्तलाई  नायक वा 'स्टार' बन्न रोक्न सक्ने कोही छेउछाउमै थिएनन्।
नागरिक राष्ट्रिय दैनिकमा भदौ २६ गते प्रकाशित

No comments:

Post a Comment