Saturday, September 29, 2012

दासानायकेले ब्युत्याएको विश्वकप सपना


वर्षौंअघि नेपालले देखेको विश्वकप र एकदिवसीय क्रिकेट खेल्ने सपना ब्युत्याउदा अहिले प्रशिक्षक पुबुदु दासानायके चर्चामा छन्। निर्णायक खेलमा चुक्दै आएपछि विश्वकप नेपाललाई दिवास्वप्न जस्तै थियो। 
महिना दिनअघिसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा पुग्नु नेपाललाई असम्भव झै बनिसकेको थियो। मलेसियामा विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जितेर आएपछि नेपालले विश्वकप खेल्न सक्छ भन्ने विश्वास जागेको छ। दासानायकेलाई नै जान्छ विश्वासको वातावरण जगाउने श्रेय। हङकङ र युएईको चुनौतीलाई ठूलो मान्ने नेपाली खेलाडीको विश्वासलाई उनले विश्वकपसम्म केन्द्रित गराइसकेका छन्।
तस्विरः  विजय राई/नागरिक

यु–ट्युबमा केही भिडियो क्लिप हेरेको भरमा ठीक वर्ष दिनअघि नेपालको प्रशिक्षक बन्न आएका दासानायकेले विमानस्थलमै भनेका थिए, 'प्रशिक्षण पेशा सधैं चुनौतीपूर्ण हुन्छ, म त्यसैका लागि नेपाल आएको हुँ। नेपालमा युवा प्रतिभाको कमी छैन तर विश्व वरियताले नेपालको त्यो स्थिति देखाउँदैन, त्यही वरियता सुधार गर्ने नयाँ चुनौती लिएर म यहाँ आएको छु।' खेलाडीको त्यही प्रतिभालाई पहिचान गरी दासानायकेले आफैमाथि विश्वास गर्न सिकाउँदा नेपालले डिभिजन ४ को उपाधि जितेर विश्वकपको बाटो समातेको हो। 
नेपाली टोली सम्हाल्ने छैटौं विदेशी तथा दोस्रो श्रीलंकाली प्रशिक्षक दासानायकेका लागि एसोसिएट राष्ट्रलाई विश्वकपमा डोर्‍याउनु कुनै नौलो होइन। श्रीलंकाबाट ११ टेस्ट र १६ एकदिवसीय खेलेका दासानायाके २००१ देखि क्यानाडामा बस्दै आएका छन्। २००५ मा क्यानाडाको कप्तानी सम्हालेका दासानायाकेले २००७ मा क्यानाडाको प्रशिक्षण जिम्मेवारी लिँदै टोलीलाई २०११ को विश्वकपमा पुर्‍याएका थिए। विश्वकपलगत्तै उनी क्यानाडाको टोली छाडेर नेपाल आएका हुन्। 
डिभिजन ४ नेपाली राष्ट्रिय टोलीले जितेको सबेभन्दा ठूलो उपलब्धि हो। दासानायके यसैमा सीमित हुन चाहँदैनन्। अझै ठूलो नतिजाका अपेक्षा गरिरहेका छन्। 'नेपालको स्तर भनेको विश्वकप खेल्ने टोलीसरह हो, कम्तीमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नपाएसम्म म ढुक्क हुने छैन। निश्चित योजना बनाएर अगाडि बढ्नुपर्छ। आगामी तीन महिनाभित्र यो योजना बनाइसक्नुपर्छ। यो समय विश्वकपसम्मको बाटो बनाउन निकै महŒवपूर्ण छ,' एक वर्षपछि दासानायकेले नेपाली क्रिकेटमाथि अझ ठूलो विश्वास देखाएका छन्। 
उनी अगाडि भन्छन्, 'विश्वकप कहिले खेल्ने हो त्यो लक्ष्य निर्धारण गर्नुपर्छ। त्यसैअनुरुप तयारी पनि गर्नुपर्छ। हामी डिभिजन ३ भन्दा माथिको टोली हौं भनेर देखाइसकेका छौं। हामी डिभिजन ३ भन्दा माथि पुगेनौं भने मेरो नेपाल बसाइको कुनै अर्थ हुँदैन। २ वर्षपछि अर्को मौका लिनुपर्छ भन्नेमा म छैन।' उनी एक वर्षको अवधिमा पाएको सफलताको श्रेय खेलाडीलाई दिन्छन्। 'पारस (खड्का) जस्ता उदाहरणीय कप्तान भएकाले पनि हामी सफल हुँदै आएका छौं,' उनले भने।
डिसेम्बरमा घरेलु भूमिमा भएको एसिसी ट्वान्टी–२० कपबाट दासानायकेले नेपाली टोली हाँक्न सुरु गरे। उनले पहिलो परीक्षा नै पार गरे, सेमिफाइनलसम्म पुग्नु नेपालले निर्धारण गरेको लक्ष्य पूरा गर्दै। यसअघिका दुवै प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। अन्तिम चारमा पुगेर नेपाल विश्व ट्वान्टी–२० छनोटलाई छानियो। 
विश्व ट्वान्टी–२० छनोटमा दासानायकेले नेपाललाई जित्ने शैली सिकाए। सहभागी १६ टोलीमा अन्तिम स्थानबाट खेल्न सुरु गरेको नेपालले सातौं स्थानमा प्रतियोगिता टुंग्यायो। प्रदर्शनका हिसाबले यो नेपालको अहिलेसम्मकै राम्रो थियो। 'मलाई थाहा छ विश्व ट्वान्टी–२० मा सातौं स्थान भएकोमा सबै खुसी छन्, तर त्यो प्रतियोगितामा हामी अझ माथि जान सक्थ्यौं,' आफ्नो एक वर्षे अवधिको समीक्षा गर्दै दासानायकेले भने, 'प्रतिभाशाली खेलाडीको खोजी गरेर ट्वान्टी–२० मा आक्रामक खेलाडी ल्याउनुपर्छ।'
नेपालले प्रतियोगितामा हङकङ, केन्या, बमुर्डाजस्ता एकदिवसीय खेलिसकेका टोलीसहित पपुवा न्युगिनी, इटाली र डेनमार्कलाई पराजित गरेको थियो। एसिसी ट्वान्टी–२० मा नेपाली टोलीमा नसमेटिएका शक्ति गौचनले युएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा १६ विकेट लिएर उत्कृष्ट पुनरागमन गरे। एसिसी ट्वान्टी–२० मा शक्तिलाई नछान्नु, विश्व ट्वान्टी–२० मा केही खेलाडीको छनोट तथा अस्ट्रेलियामा सम्पन्न आइसिसी यु–१९ विश्वकपका प्रत्येक खेलमा खेलाडी परिवर्तन गर्दा दासानायकेको खेलाडी छनोटमाथि प्रश्न नउठेको होइन। 
उनी भन्छन्, 'मैले जति निर्णय गरे त्यसमा खुसी छु। एकपटक टोलीमा नपर्दैमा खेलजीवन नै सकिने होइन। शक्तिलाई यसमा आदर्श मान्नुपर्छ।' मैदान बाहिर र भित्रै उनी क्रिकेट संस्कार बसाउने प्रयासमा छन्। 'सिनियर खेलाडीहरू रोल मोडल हुनुपर्छ। त्यो खेलाडीलाई हेरेर जुनियर खेलाडीले म यस्तो खेलाडी बन्न सक्छु भनोस्। त्यसमा अझै केही गर्नुपर्छ।'
विकासका हिसाबले आफूले केही गर्न नसकेको दासानायके बताउँछन्। 'यही भएको २० खेलाडी लिएर हिँडिरहेको छु। त्यसैले मैले राष्ट्रिय क्रिकेट एकेडेमीको योजना अगाडि बढाएको छु। यस वर्षको अन्तसम्म यो योजना कार्यान्वयन हुने आशा लिएको छु। एकेडेमीमा १०–११ वर्षे खेलाडीलाई समेटेर अगाडि बढाउनुपर्छ। यसमा खेलाडीको सहभागिता १ लाख होस् भन्ने मेरो चाहना छ।'
वर्षमा एकपटक साता–दस दिन चल्ने राष्ट्रिय प्रतियोगिताबाट डिभिजन ४ मा प्रतिस्पर्धा गर्न नसकिने बुझेर दासानायकेले खेलाडीलाई 'अन्तर्राष्ट्रिय एक्सपोजर' दिन विदेश पठाउने परमपराको सुरुआत गरे। त्यसले खेलाडीले निरन्तर खेल्न पाए। शक्ति गौचनलाई राजस्थान रोयल्ससम्म ट्रायलको बाटो देखाए। पारस क्लब क्रिकेट खेल्न क्यानाडा लागे। ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अनिल मण्डलजस्ता ब्याट्सम्यानलाई भारतमा विशेष प्रशिक्षण लिन पठाए। अमृत भट्टराई र चन्द्र साउद श्रीलंकाको यु–२३ लिगमा खेल्न गएपछिको प्रभाव थियो, डिभिजन ४ को सफलता। 
नेपाली भूमि टेकेकै दिनको भनाइ दोहोर्‍याउँदै दासानायकेले भन्छन्, 'प्रतिभाको हिसाबले नेपाली खेलाडीमा कुनै कमी छैन। त्यसलाई मैदान उतार्नु महŒवपूर्ण पक्ष हो। मलेसियामा डिभिजन ४ जित्दा नेपाली खेलाडीले त्यही प्रतिभा देखाए, जसले हाम्रो छोटो बसाइलाई अविस्मरणीय बनायो।' दासानायकेको विश्वासलाई हेर्ने भने नेपालको विश्वकप सम्भावनाले लय समातिसकेको छ। त्यसलाई सहयोग गरेर बाटो देखाउने काम नेपाल क्रिकेट संघ (क्यान) को हो। 
नागरिक राष्ट्रिय दैनिकमा असोज १३ गते प्रकाशित

1 comment: