Sunday, September 30, 2012

चुनौती एसिसी ट्रफीमै


एसिया कपसँग सम्बन्ध टुटेपछि एसिसी ट्रफी इलिटको रौनकमा कमी आएको दाबी गर्ने पनि छन्। अर्को साता युएईमा हुने एसियाको एसोसिएट राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालको तयारी र लक्ष्य हेर्ने हो भने एसिसी ट्रफी प्रमुख प्रतियोगितामै देखिन्छ। 
तस्विरः  विजय राई/नागरिक
सन् १९९६ मा सुरु भएर हरेक दुई वर्षमा हुँदै आएको एसिसी ट्रफीको यो नवौं संस्करण हो। पहिलो दुई संस्करणमा यसको विजेताले भारत, पाकिस्तान र श्रीलंकासम्मिलित एसिया कपमा खेल्न पाउने प्रावधान थियो। २००० मा बंगलादेशले टेस्ट खेल्ने मान्यता पाएपछि एसिसी ट्रफीको फाइनल पुग्ने टोलीले एसिया कपमा खेल्न पाउने नियम बन्यो। 

अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्ततासँगै दुई वर्षदेखि एसिया कपमा टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमात्र खेल्न पाउने भयो। एसिसी ट्रफीको पछिल्लो संस्करणको फाइनलमा पुगेर पनि नेपालले एसिया कपमा खेल्न पाएन्। कारगिल युद्धले गर्दा भारतले पाकिस्तानसँग आइसिसीको प्रमुख प्रतियोगितामा नखेल्ने निर्णयसहित अन्य कारणले गर्दा २००२ मा सिंगापुरमा भएको चौथो संस्करणको फाइनलमा पुगेर पनि नेपाल एसिया कप खेल्नबाट वञ्चित भयो। 
गत महिना मलेसियामा विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जितेपछि प्रशिक्षक पुबुदु दासानायकेले नेपाल विश्वकप वा एकदिवसीय अन्तर्राष्ट्रियलाई नै योग्य टोली भएको दाबी गर्दै आएका छन्। एसिसी ट्रफीमा खेल्ने अफगानिस्तान एकदिवसीय मान्यताप्राप्त र डिभिजन १ मा प्रतिस्पर्धा गरिरहेको टोली हो। शीर्ष ८ भित्र रहेको युएई विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेछ। 
'विश्वकप र एकदिवसीय लक्ष्य बनाउने हो भने हाम्रो मुख्य चुनौती एसिसी ट्रफी नै हो। अफगानिस्तान र युएई माथिल्लो लिगमा खेलिरहेका टोली हुन् तथा हङकङ र ओमान पनि वरियतामा हामीभन्दा माथि छन्। त्यसैले हाम्रो परीक्षा एसिसी ट्रफीमै हुनेछ,' दासानायके भन्छन्, 'हाम्रो टोली जाँचिने अवसर पनि यही हो।'
नेपाल समावेश समूह 'बी' मा युएई, हङकङ, कुवेत र साउदी अरेबियासँग रहेको छ। समूह 'ए' मा अफगानिस्तान, मलेसिया, ओमान, भुटान र माल्दिभ्स छन्। कुवेतमा सम्पन्न पछिल्लो संस्करणमा अफगानिस्तानले नेपाललाई फाइनलमा पराजित गरी पहिलोपटक उपाधि जितेको थियो। 'हामीसँग प्रत्येक खेल अगाडि एउटा योजना छ, तर अफगानिस्तान र युएई जस्ता राम्रो तीब्र गतिको बलर छैन,' दासानायकेले भने।
सबै तीब्र बलर फिट हुन संघर्ष गरिरहेकाले श्रीलंकाका पूर्वविकेटकिपर दासानायकेलाई चिन्तित बनाएको हो। 'सबै तीब्र बलर घाइते छन्, प्रमुख समस्या नै त्यही भने होइन,' उनले भने। काँधमा लागेको चोटका कारण तीब्र बलर चन्द्र साउदले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिइसकेका छन्। मध्यम गतिका बलर विनोद दास र अमृत भट्टराई सानोतिनो चोटमा अल्भि्करहेका छन्। प्रमुख स्पिनर राहुल बिक पनि ढाडको समस्याका कारण नखेल्ने भइसकेका छन्। चन्द्र र राहुलको स्थानमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र देब्रेहाते स्पिनर भुवन कार्की टोलीमा समेटिएका छन्। 
पछिल्लो पटकको उपविजेता हुनु तथा भर्खर मात्र डिभिजन ४ जितेर आएको हुनाले नेपालको सम्भावना बलियो भएको कप्तान पारस खड्का बताउँछन्। 'हामीमा जुन आत्मविश्वास छ, त्यसलाई मैदानमा देखाउनुपर्छ,' पारसले भने, 'हाम्रो पहिलो खुड्किलो भनेको समूह चरण नै हो। युएई र हङकङजस्ता टोली हाम्रो समूहमै छन्। कुवेत र साउदी अरेबिया पनि पछिल्लो वर्षहरूमा भन्दा राम्रो भइसकेको छ। समूह विजेता हुने हो भने हाम्रो फाइनल पुग्ने सम्भावना बलियो हुनेछ। फाइनलमा हाम्रो भेट पुनः अफगानिस्तानसँग हुनसक्छ। यसअघि पनि हामीले अफगानिस्तानलाई राम्रो चुनौती दिएका थियौं, फिनिसिङ हुन सकेको थिएन।'
डिभिजन ४ जितेर आएको नेपालको जोशलाई वर्षाले पखालिदिएपछि एसिसी ट्रफीका लागि तयारी राम्रो हुन सकेको छैन। 'अभ्यासलाई यो उपयुक्त वातावरण होइन, तर हामी त्यहीअनुरुप तयारी गरिरहेका छौं। प्राविधिक कारणले बाहिर गएर प्रशिक्षण गर्न सकेनौं। हामीसँग यही अभ्यास गर्नुको विकल्प पनि रहेन,' दासानायकेले भने, 'तर नेपाल अहिले फर्ममा छ। त्यसैले उपाधि नै जित्ने लक्ष्य छ।'
डिभिजन ४ मा सुवास खकुरेल र अनिल मण्डलले सतक बनाएपछि दासानायके ब्याटिङमा धेरै आशावादी छन्। उनले भने, 'मैले ब्याट्सम्यानहरूले आफ्नो भूमिका निभाउने आशा लिएको छु। ब्याटिङमा अझै सुधारको अपेक्षा गरेको छु।' सुवासले अमेरिकाविरुद्ध बनाएको १ सय १५ रन राष्ट्रिय टोलीको खेलाडीको ५० ओभरको खेलमा व्यक्तिगत उच्च स्कोर पनि हो। 
सहायक प्रशिक्षकको खोजी
सन् १९९६ को पहिलो एसिसी ट्रफीपछि नेपाल पहिलोपटक प्रतियोगितामा सहायक प्रशिक्षकबिनै उत्रिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सचिव उत्तम कर्माचार्यलाई व्यवस्थापक र अर्का सचिव ठाकुर पहारीलाई सहायक व्यवस्थापक बनाउने निर्णय गरेपछि सहायक प्रशिक्षकको कोटा काटिएको छ। …छोटो समयको टुर भएकाले हामीले सहायक प्रशिक्षकको स्थानमा सहायक व्यवस्थापक पठाउने निर्णय गरेका हौं, यसले व्यवस्थापनमा अझ चुस्तता आउने विश्वास लिएका छौं,' क्यान महासचिव अशोकनाथ प्याकुर्‍यालले भने। १९९६ मा मलेसिया खेल्न जाँदा सुनोज भट्टराई टोलीका प्रशिक्षक थिए। व्यवस्थापनमा दुई प्रतिनिधि भए पनि भट्टराईका सहायकमा कोही थिएनन्। सहायक प्रशिक्षकबिना खेल्दा खेलाडीमै थप भार पर्ने एक खेलाडीले बताए। 
नागरिक राष्ट्रिय दैनिकमा असोज १४ गते प्रकाशित

No comments:

Post a Comment