Saturday, November 1, 2014

डिभिजन २ अगाडी खोजिएको पद्धति

'टुँडिखेलमा खेलेर डिभिजन २ मा ल्याइयो, अब हाम्रो नेपालमा एउटा रंगशाला चाहियो।'
विश्व क्रिकेट लिग डिभिजन ३ लिग जितेर मलेसियाबाट फर्किएको नेपाली टोलीको स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका समर्थक एकोहोरो चिच्याइरहेका थिए।
प्रशिक्षक पुबुदु दासानायकेको चिन्ता पनि यसै सेरोफेरोमा थियो। 'प्रतिभाको हिसाबमा हामी डिभिजन २ मा राम्रो गर्न योग्य छौं, तर त्यहीअनुसार पद्धति हुनुपर्‍यो त्यो प्रतियोगिताका लागि,' उनले व्यवस्थापनतर्फ इंगित गरे।

नेपालले बिहीबार युगान्डालाई पराजित गरी डिभिजन ३ उपाधि रक्षा गरेको थियो। गत वर्ष मेमा बर्मुडा डिभिजन ३ नै जित्दा नेपाल विश्वकप छनोटमा पुगेको थियो। विश्वकप नजिक पुगेपछि नेपाली क्रिकेटको विकासे नाराहरू घन्किएका थिए, 'मुलपानीमा एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला, भैरहवा र पोखरामा अन्य थप क्रिकेट मैदान।'
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता हात पार्दा यस्ता नाराहरू अगाडि आउँछ र विस्तारै हराएर जान्छ। हुलमा रहेका एक समर्थकले बिहीबार एयरपोर्टमा यस्तै नारा ब्युँत्याइरहँदा प्रशिक्षक दासानायकेले आफ्नो ध्यान डिभिजन २ मा तानिसकेका थिए।
फाइनलमा पुगेसँगै नेपाल डिभिजन २ मा उक्लिएको थियो। डिभिजन २ को शीर्ष २ टोलीले प्रथम श्रेणीको मान्यतप्राप्त अन्तरमहादेशीय कप चारदिवसीय र ५० ओभर संरचनाको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्न पाउने छ। नेपालले यस्ता ग्लोबल प्रतियोगिता गुमाउन नदिनेमा दासानायके सचेत छन्।
गत वर्ष बर्मुडाको सफलतासँगै नेपाल विश्वकप छनोटमा पुगे पनि सहभागी १० टोलीमा नवौं भएपछि रेलिगेसनमा पर्‍यो। न्युजिल्यान्डको असफलताका कारण नेपालको त्यो स्तरमा पुग्ने बेला नभएको हो कि भन्ने पनि प्रश्न उठ्यो। न्युजिल्यान्डमै घुँडा टेकेको नेदरल्यान्ड्स, क्यानाडासहित केन्या र आयोजक नामिबियासँग नेपालले जनवरीमा डिभिजन २ मा खेल्नेछ।
'डिभिजन २ को स्तरमा पुर्‍याउन हामीले पद्धतिको विकास गर्न जरुरी छ। हामीसँग अझै तीन महिना बाँकी छ,' दासानायकेले भने, 'हामीलाई त्यहीअनुसार जनशक्ति, मैदान र विकेट आवश्यक छ। हाम्रो फिटनेस स्तर अझै थोरैले तल छ। म चाहन्छु कुनै व्यावसासिक व्यक्तिले यो जिम्मेवारी लिओस। धेरै विषय राम्रोसँग गर्न बाँकी छ।'
कप्तान पारस खड्काले पनि दक्ष जनशक्तिको आवश्यकता औंल्याए। उनले भने, 'डिभिजन १ टोलीले कस्ता सुविधा प्रयोग गरिरहेका छन्, त्यसमा पनि हामीले ध्यान दिनु जरुरी छ। हामीलाई पनि टेक्निकल एनालिस्ट, बलिङ र ब्याटिङ प्रशिक्षकसहित सहयोगी स्टाफ हुने हो भने नेपाली क्रिकेट अझै राम्रो हुनेछ।'
दासानायकेले डिभिजन ३ र डिभिजन २ को फरक यसरी देखाए। 'युगान्डासँगको फाइनलमा हामीले राम्रो सुरुआत गर्‍यौं, ओपनरहरू सागर पुन र नरेश बुढाएर तथा ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए। हाम्रो जुन सुरुआत थियो, त्योअनुसार हामीले ३० रन जति कम बनायौं। २ सय २३ रनमात्र बनाउन सके पनि मलाई थाहा थियो, हामी खेल जित्छौं भन्ने। तर डिभिजन २ मा यही ३० रनले ठूलो भूमिका खेल्छ,' उनले भने।
नामिबिया, केन्या, नेदरल्यान्ड्स, क्यानाडासँग विश्वकपको अनुभव छ। 'यी चार टोली डिभिजन १ बाट तल आएका टोली हुन्। उनीहरू बलिया प्रतिद्वन्द्वी हुन्। हामी नामिबिया गएर जित्न चाहन्छौं भने हामीले धेरै गर्नुपर्छ। केही समय अभ्यास गरेको भरमा मैदानमा राम्रो गर्न सकिँदैन।'
तीन दिनको विश्रामपछि नेपाली खेलाडी आपसमा मिलेर कीर्तिपुरमा दुईदिने अभ्यास खेल खेल्ने छन्, जुन श्रीलंका भ्रमणको तयारीलाई हो। अर्को साता नेपाली टोली १८ दिने भ्रमणमा श्रीलंका जाँदैछ। श्रीलंका क्रिकेटले मिलाएको आधिकारिक भ्रमणमा नेपालले श्रीलंकाको डेभलपमेन्ट टोलीसँग दुई तीनदिवसीय खेल खेल्नेछ भने हङकङसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय र एक ५० ओभरको खेल खेल्नेछ।
श्रीलंकमा गएर खेल्न पाउनु नेपालको सकारात्मक पक्ष भएको कप्तान पारस बताउँछन्। डिभिजन २ अघि नेपालले दुई साताको अफ्रिकामा राम्रो भ्रमण व्यवस्थापन गरेर तयार हुनुपर्ने दासानायकेको बुझाइ छ।
सबै रन बराबर हो :  ज्ञानेन्द्र
प्रायः गरी नेपाली टोलीको ब्याटिङ कप्तान पारस खड्कामा निर्भर हुन्थ्यो। पारसको ब्याटिङ मलेसियामा कुनै पनि खेलमा चलेन। उपकप्तान ज्ञानेन्द्रले पारसको भूमिका लिए। उनले नेपालबाट सबैभन्दा बढी २ सय ४१ रन बनाए। उनी प्रतियोगितामा सर्वाधिक रन बनाउनेमा पाँचौं स्थानमा रहे।
उनको चर्चा भने सिंगापुरविरुद्ध बनाएको १ सय १४ रनमा थियो। नेपाली खेलाडीको यो दोस्रो उच्च स्कोर पनि हो। मुख्य पक्ष ज्ञानेन्द्रको १० वर्षे अन्तर्राष्ट्रिय खेलजीवनमै पहिलो शतक थियो। राष्ट्रिय टोलीबाटै पनि ज्ञानेन्द्रले ट्वान्टी–२० मा कुनै अर्धशतक र ५० ओभरमा कुनै शतक बनाउन सकेका थिएनन्।
'यसअघि मैले मान्यता नभएको खेलहरू विशेष गरी अभ्यास खेलमा केही शतक बनाएको थिएँ, मान्यताप्राप्त प्रतियोगितामा भने मैले पहिलोपल्ट शतक बनाउन सके। मैले अहिलेसम्म कति शतक बनाएँ भनेर सोचेर बस्दिनँ,' ज्ञानेन्द्रले भने, 'मैले चाहे १ रन वा १ सय रन बनाए पनि मलाई त्यो सबै बराबर हो, यदि मेरो टोलीले त्यो दुवै खेल जित्छ भने। देशका लागि खेल्दा खेल जिताउनमै ध्यान हुन्छ कति रन बनाउनमा भन्दा पनि।'
नेपाली टोली र प्रशिक्षकले जुन भूमिका दिएको छ त्यहीअनुसार आफूले खेल्ने गरेको ज्ञानेन्द्र बताउँछन्। ब्याटिङमा नेपालको सबैभन्दा ठूलो प्रतिभा मानिएका ज्ञानेन्द्र धेरैजसो ३०–४० रनमै आउट हुनु उनी आफ्नो कमजोरी स्वीकार्छन्। उनी भन्छन्, 'सिंगापुरसँगको शतकले बोझ हल्का पारेको छ।'
ज्ञानेन्द्रले सिंगापुरविरुद्ध शतक बनाएपछि त्यसको केही कारण पत्ता लगाए। 'पहिला म आफ्नै खेल खेल्थें, आउट भएर आउँथें। सिंगापुरसँगको खेलपछि क्रिजमा धेरै समय बिताउँदा अरु धेरै शतक बनाउँछु जस्तो लागेको छ।'
ज्ञानेन्द्र सँधैं नेपालको उत्कृष्ट ब्याट्सम्यान भएको बताउँदै दासानायकेले नेपाली टोलीका उपकप्तानबारे भने, 'उनको स्तर डिभिजन १ का टोलीका कुनै शीर्ष ब्याट्सम्यान जस्तो छ। मैले सँधैं यही भन्दै आएको थिएँ,' दासानायकेले भने, 'मलाई लाग्छ उनले विस्तारै आफ्नो लय समातिरहेका छन्। उनी अझै आफ्नो क्षमता स्तरमा पुगेका छैनन्। म उनलाई त्यो स्तरमा पुर्‍याउन लागिरहेको छु।'
ज्ञानेन्द्रले आफू कुन स्तरको खेलाडी हो भने भनेर देखाइदिएको कप्तान पारस बताउँछन्। उनले मलेसियामा आफू असफल हुनुबारे भने, 'मैले राम्रो सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन सकिनँ। ठूलो इनिङ्स खेल्ने बेलामा आउट भएँ।' आफूसहित अन्य खेलाडीले ससाना गल्ती दोहोर्‍याएको बताउँदै पारसले भने, 'विस्तारै विस्तारै हामीमा सुधार आइरहेको छ। सुवास खकुरेल, शरद भेषावकरजस्ता ब्याट्सम्यान नहुँदा पनि हामीले राम्रो गर्‍यौं।'
आरिफ यु–१९ खेल्न जाने
नेपालका युवा ब्याट्सम्यान आरिफ शेख एसिसी यु–१९ प्रिमियर खेल्न कुवेत जाने भएका छन्। एसिसी यु–१९ नोभेम्बर ७ बाट हुँदैछ। त्यही दिन नेपाली राष्ट्रिय टोली श्रीलंका भ्रमणमा जानेछ।
'आरिफ नेपाली क्रिकेटको ठूलो प्रतिभा हुन्, उनले अझ धेरै अनुभव चाहिएको छ। त्यसैले उनी नेपाली यु–१९ सँग जाने छन्,' दासानायकेले भने। मलेसियामा ४ खेल्न पाएका आरिफले फाइनलमा मात्र ब्याटिङ गर्न पाउँदा ८ रन बनाए। यु–१९ को १८ सदस्यीय टोलीमा आरिफलाई उपकप्तान दिइएको छ।
नेपालको यु–१९ र राष्ट्रिय टोलीको भ्रमण जुधेकाले आरिफ कता जाने भन्ने अन्योल थियो। दासानायकेले भने, 'आरिफजस्तो खेलाडीलाई म दुवैतर्फ खेलाउन चाहन्थंे। तर एकै समयमा पर्दा अप्ठेरो पर्‍यो। कुवेतमा यु–१९ को खेल सकिएपछि आरिफलाई श्रीलंकामा बोलाउने सम्भावना छ। त्यसो भएमा उनले एउटामात्र तीनदिवसीय खेल गुमाउने छन्। यस विषयमा व्यवस्थापनसँग छलफल हुन बाँकी छ।'
नागरिक राष्ट्रिय दैनिकमा २०७१ कात्तिक १५ गते प्रकासित

No comments:

Post a Comment