Tuesday, November 4, 2014

नेपाली यु–१९ क्रिकेटको अनुभव कम, लक्ष्य ठूलो

एसिसी यु–१९ प्रिमियर लिग क्रिकेट बिहीबार कुवेतमा सुरु हुँदा नेपालले अहिलेसम्मकै अनुभवहीन टोली उतार्दैछ। अनुभव कमी भए पनि नेपाली प्रशिक्षकको भने लक्ष्य ठूलो छ।
सन् १९९७ मा हङकङमा सम्पन्न पहिलो संस्करणबाहेक एसिसी यु–१९ कप र एसिसी यु–१९ कप इलिटको नामले यसअघि आयोजित यस प्रतियोगितामा नेपाली टोलीमा अनुभवी खेलाडीको वर्चस्व हुन्थ्यो। यही प्रतियोगिता चारपटक जित्दै र दुईपटक फाइनलमा पुग्दै नेपालले कुल ६ पटक आइसिसी यु–१९ विश्वकप पनि खेलिसकेको छ।


राष्ट्रिय टोलीका कप्तान पारस खड्का, वसन्त रेग्मीसहितका खेलाडीले तीनपटक यस प्रतियोगिता जितेका छन्। कुवेत जाने नेपाली टोलीमा ५ खेलाडीसँग मात्र अन्तर्राष्ट्रिय अनुभव छ, जुन अहिलेसम्मकै कम हो। गत वर्ष मलेसियामा सम्पन्न प्रतियोगितामा यसअघि अन्तर्राष्ट्रिय खेलिसकेका सबैभन्दा कम ६ खेलाडी टोलीमा थिए।
नयाँ र पुरानाभन्दा पनि आफ्नो टोली सन्तुलित रहेको मान्छन् प्रशिक्षक नवीन सिंह। 'टोलीका नयाँ पनि राम्रा छन्, नयाँ र पुरानोभन्दा पनि मनोवैज्ञानिक रूपले आफूलाई कतिको सक्षम बनाउन सक्छन् त्यसमा भरपर्छ,' सिंहले भने, 'हाम्रो टोली अहिले मानसिक रूपमा बलियो छ, त्यसैले नयाँले फरक पार्दैन।'
नेपाली टोलीका खेलाडीहरू मिलाएर ६ खेल खेलिएको थियो। त्यसमा सबैले राम्रो गरे। मध्यपंक्तिले अझ राम्रो गर्‍यो। प्रशिक्षक सिंह यसैलाई लिएर आशावादी छन्। 'पुराना खेलाडीले पनि राम्रो गरिरहेका छन्, खेलाडीले आफ्नो व्यक्तिगत अनुभव खेलमा उतार्न सक्यो भने राम्रो हुन्छ र उनीहरू सकारात्मक रूपमा केन्द्रित हुनुपर्छ,' प्रशिक्षक सिंहले भने, 'खेलाडीहरू मनोवैज्ञानिक हिसाबले सकारात्मक र राम्रा छन्।'
कप्तान राजु रिजाल प्रशिक्षककै भनाइमा सहमत राख्दै टिममा राम्रो खेलाडी भएकाले नयाँ भए पनि खासै फरक नपर्ने बताउँछन्। राजुसहित उपकप्तान आरिफ शेख, प्रेम तामाङ, सुनील धमला सौरभ खनालसँग अन्तर्राष्ट्रिय अनुभव छ। राजु, आरिफ, प्रेम र सुनिलले डिसेम्बरमा युएईमा सम्पन्न एसिसी यु–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए। नेपालले युएईसँगको खेल जित्दा आरिफ म्यान अफ द म्याचमा चुनिएका थिए।
एक वर्ष नपुग्दै आरिफको चर्चा चुलिसकेको छ। विश्व क्रिकेट लिग डिभिजन ३ जितेको नेपाली टोलीका सदस्य आरिफ शुक्रबारमात्र स्वदेश फर्किएका हुन्। नेपाली क्रिकेटमा अहिले ठूलो प्रतिभाका रूपमा हेरिएका आरिफ यु–१९ प्रिमियर खेल्न कुवेत गएपछि त्यतैबाट राष्ट्रिय टोलीमा समावेश हुन श्रीलंका पुग्ने छन्।
'आरिफको उपस्थितिले हाम्रो टिम राम्रो भएको छ, सिनियरबाट खेलेर आएकाले उसले राम्रो गर्छ भन्ने हाम्रो विश्वास हो। मानसिक र मनोवैज्ञानिक हिसाबमा पनि यसले प्रभाव पार्छ,' प्रशिक्षक सिंहले भने। सौरभले दुई वर्षअघि अस्ट्रेलियामा यु–१९ विश्वकप खेलेका थिए। तीब्र बलरको हिसाबमा खेलेका उनी त्यसपछि ढाडको समस्याका कारण लामो समय मैदान बाहिर रहे। दसैंअघिको वाइवाइ यु–१९ राष्ट्रिय प्रतियोगिताबाट पुनरागमन गरेका सौरभ ब्याटिङ अलराउन्डरमा कुवेत जाने टोलीमा छन्।
कप्तान राजु रिजाल

नेपालको शक्ति स्पिनरमा हुनेछ। प्रेमसँगै सुशील कँडेल, इर्शाद अहमद, सन्दिप सुनार, सुनीलको स्पिन बलिङले ठूलो भूमिका खेल्ने विश्वास प्रशिक्षक सिंहको छ। 'सबै खेलाडीले अभ्यास खेलहरूमा राम्रो प्रभाव पारे, एकपछि अर्को अभ्यास खेलमा उनीहरूको खेलमा सुधार देखिएको थियो र अहिले ५० ओभरको खेल राम्रोसँग खेल्न सक्ने भएका छन्,' सिंहले भने।
अफगानिस्तानको प्रभाव
अफगानिस्तान एसिसी यु–१९ को पछिल्लो दुई संस्करणको विजेता हो। २०११ मा पनि उपाधि जित्दा नेपाललाई नै फाइनलमा हराएको थियो। अहिले पनि अफगानिस्तान चर्चामा छ। पछिल्लो दुई संस्करणको विजेता नभएर भर्खरमात्र पाकिस्तानलाई उसकै भूमिमा २–१ को शृंखला जितेका कारण अफगानिस्तान यु–१९ टोलीलाई दाबेदार मानिएको छ।
एसिसी यु–१९ प्रिमियरको विजेताले २०१६ मा बंगलादेशमा हुने यु–१९ विश्वकपमा खेल्न पाउनेछ। दोस्रोमा रहने टोलीले अर्को महादेशको टोलीसँग प्लेअफ खेलेर यु–१९ विश्वकपमा स्थान बनाउन पाउने अवसर छ। कुवेतमा नेपाल, अफगानिस्तानसँगै मलेसिया, कुवेत, युएई र साउदी अरेबियाले प्रतिस्पर्धा गर्दैछन्। सबै टोलीले राउन्ड रोबिनमा एकअर्कासँग खेल्नेछ।
प्रशिक्षक नवीन सिंह

एसिसी यु–१९ लाई विश्वकप छनोटभन्दा पनि राम्रो क्रिकेट खेल्ने हिसाबमा लिइएको कप्तान राजुले बताए। 'सबै टोली बलिया छन्, हामी आफ्नो उत्कृष्ट दिने प्रयास गर्नेछौं, हामी त्यहाँ गएर कस्तो खेल्न सक्छौं त्यसमा नतिजा भरपर्छ,' राजुले भने, 'दुई दिनअघि कुवेत जाँदैछौं, त्यसमा जतिसक्दो चाँडो त्यहाँको वातावरणमा घुलमिल गर्ने प्रयास गर्नेछौं।' उनले नेपालमा विश्वकपमा छनोट हुने विश्वास लिए।
प्रशिक्षक सिंहले यु–१९ विश्वकप छनोट खेल पनि भएकाले नेपालले प्रत्येक खेलमा ध्यान दिएर खेल्ने र कुनै गल्ती नगर्न प्रयास गर्ने बताए। पर्याप्त समय नहुँदा अभ्यास खेलहरूमा केन्द्रित हुनुपरेको उनको गुनासो थियो।
नेपाली राष्ट्रिय टोलीले यसै वर्ष ट्वान्टी–२० विश्वकप खेलेको तथा भर्खरमात्र डिभिजन ३ जितेर आएकाले युवा खेलाडीहरू पनि उत्साही छन्। कप्तान राजुले भने, 'राष्टिय टोलीको सफलताले आफूहरूलाई हौसला दिएको तथा यसले राम्रो गर्नुपर्छ भन्ने प्रेरणा थपेको छ।'
नागरिक राष्ट्रिय दैनिकमा २०७१ कात्तिक १८ गते प्रकासित

No comments:

Post a Comment