Saturday, November 8, 2014

रातो बल र सेतो लुगामा फर्किएको नेपाली क्रिकेट

पारस खड्का उमेरले १७ वर्ष लाग्दैथिए। सन् २००४ को अन्तरमहादेशीय कपमा मलेसियासँगको खेलबाट राष्ट्रिय टोलीमा प्रवेश पाउन उनी कीर्तिपुर मैदानमा उभिएका थिए। एकैपटक तीनदिवसीय खेल खेल्नुपर्ने भएकाले पारसजस्ता युवा खेलाडीको असली परीक्षा हुने सबैको अनुमान थियो।
पारस क्रिजमा जाँदा नेपालले ३८ रनमा ५ विकेट गुमाइसकेको थियो। उनले अनुभवी शक्ति गौचनसँग ८० रन जोडेपछि आफ्नो 'डेब्यु' अविस्मरणीय मात्र बनाएनन् नेपालको विजय आधार पनि तयार पारे। उनले यसअघि मलेसियाको पहिलो इनिङ्समा दुई सानदार क्याच र १ विकेट लिइसकेका थिए। 

नेपालले श्रीलंकाको डेभलपमेन्ट टोलीविरुद्ध यही सेतो जर्सी लगाएर खेल्ने छ। तस्विरः विनोद पाण्डे
श्रीलंका भ्रमणमा दुई तीनदिवसीय खेल खेल्न जानुअघि पारसले आफ्नो पहिलो खेल बिर्सन सकेनन्। एसोसिएट स्तरमै एक उत्कृष्ट खेलाडीको पहिचान बनाइसकेका पारसले भने, 'मैले जति क्रिकेट सिकेको छु, बुझेको छु त्यो तीनदिवसीय खेलकै कारण हो। राष्ट्रिय टोलीबाट मेरो पहिलो खेल पनि तीनदिवसीय भएकाले मैले अझ राम्रो सिक्न पाएको थिएँ।'
राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेको १० वर्षपछि पारस पुनः तीनदिवसीय खेलका लागि श्रीलंका पुगिसकेका छन्। 'खेलाडीहृको क्षमताका लागि तीनदिवसीय एकदमै आवश्यक छ। हामीजस्ता खेलाडीले तीनदिवसीयबाट धेरै सिक्ने मौका पाउँछौं,' पारसले भने, 'नयाँ खेलाडीका लागि पनि यो अति नै आवश्यक छ।'
नेपालले २००६ मा नामिबियामा गएर अन्तरमहोदशीय कपको प्लेअफ खेलेयता तीनदिवसीय खेलको अनुभव गरेको छैन। वर्तमान टोलीमा पारस, वसन्त रेग्मी, महबुब आलम र शक्ति गौचनसँग मात्र तीनदिवसीय खेलेको अनुभव छ।
फेरि तीनदिवसीय खेलमा फर्कन पाएकोमा पारस आफू र टोलीका अरु खेलाडी पनि उत्साहित रहेको बताउँछन्। 'हामीसँग फेरि रातो बलले खेल्ने मौका छ। हामी परिवर्तनमा रमाउन चाहन्छौं र त्यो मौका मिलेको छ। रातो बल र सेतो लुगाले नयाँ आयाम थपिन्छ होला,' एकदिवसीय र ट्वान्टी–२० को रंगिन कपडा र सेतो बलबाट फरक रूपमा प्रस्तुत हुनुअघि पारस भन्दै थिए।
एसियाली क्रिकेट परिषदको पूर्ण सहयोग र श्रीलंका क्रिकेटको सहयोगमा नेपालले तीनदिवसीय खेल्न लागेको हो। श्रीलंकाको डेभलपमेन्ट टोलीसँग दुई तीनदिवसीय खेललाई एसिसीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद र श्रीलंका क्रिकेट बोर्ड प्रथम श्रेणीको मान्यता दिलाउने प्रयास जारी राखेको छ। पहिलो तीनदिवसीय खेल आइतबार सुरु हुनेछ। तीनदवसीय खेलहरूपछि नेपालले श्रीलंका भ्रमणमा हङकङसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय र एक ५० ओभरको खेल खेल्नेछ।

जनवरीमा नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन २ अघि श्रीलंका भ्रमण नेपाललाई राम्रो अवसर भएको प्रशिक्षक पुबुदु दासानायकेले बताए। 'नामिबियामा हामी पेस र बाउन्सी विकेटमा खेल्न गइरहेका छौं। हामी एउटा अर्को सिमरको खोजीमा छौं, त्यसैले रामनरेश गिरी र करण केसीजस्ता युवा तीब्र बलरलाई यो राम्रो अवसर हो,' दासानायकेले भने।
नेपाली क्रिकेटबाट पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा रहेका करणले पहिलो खेल खेल्ने सम्भावना धेरै छ। रामनरेशसँगै महबुब आलम, आरिफ शेख, वसन्त रेग्मी र उपकप्तान ज्ञानेन्द्र मल्लले ढिला पुग्ने भएकाले पहिलो खेल गुमाउने छन्।
'श्रीलंका टेस्ट खेल्ने राष्ट्र हो र उनीहरूको क्लब क्रिकेटको स्तर निकै माथि छ,' दासानायकेले भने, 'श्रीलंकाको डेभलपमेन्ट टोलीसँग खेल्न पाउनु हाम्रा खेलाडीका लागि निकै राम्रो अनुभव हुनेछ। मैले तीनदिवसीय खेलमा ठूलो नतिजाको धेरै आशा गरेको छैन। तर यो खेलेर अनुभव गर्ने विषय हो। नेपालले स्तरीय खेल पस्केमा म खुसी हुनेछु।'
कप्तान पारस श्रीलंका भ्रमणजस्तै अरु टुर आवश्यक भएको ठान्छन्। 'हाम्रो ए लेभल टिम पनि विकास गर्नुपर्ने अवस्था छ। को कति राम्रो छन् भन्न खेलाडीको स्तरमापन गर्नुका साथै अन्तर्राष्ट्रिय अनुभवलाई पनि यस्ता भ्रमण आवश्यक छन्,' पारसले भने।
नेपाली खेलाडीका लागि श्रीलंका भ्रमण ठूलो प्लेटफर्म हुने पारसको बुझाइ छ। उनले श्रीलंकाली टोलीसँगको चुनौतीबारे भने, 'श्रीलंकाका खेलाडीहरू राम्रा छन्, राष्ट्रिय स्तरकै खेलाडीहरू हुनेछन्। अझ हामी अहिले सिक्ने अवस्थामै छौं। जित्न र हार्न भन्दा पनि डिभिजन २ को तयारीका लागि यो भ्रमण निकै उपयोगी हुने विश्वास लिएका छौं।'
नागरिक राष्ट्रिय दैनिकमा २०७१ कात्तिक २२ गते प्रकासित

No comments:

Post a Comment