Saturday, November 29, 2014

ह्युजले खोसेको नेपाली सपना

श्रीलंकासँग जुझारु प्रदर्शन गरेर हारेको नेपाली यु–१९ क्रिकेट टोली अस्ट्रेलियासँग खेल्न तयार थियो। मलेसियामा सन् २००८ को आइसिसी यु–१९ विश्वकप क्रिकेटको उक्त खेलमा नेपालले नतिजामा खासै ठूलो अपेक्षा राखेको थिएन।
२००८ फ्रेबुअरी १९ को दिन अस्ट्रलियासँग खेल्नुअघि नेपाली टोलीमा खबर आयो, 'अस्ट्रेलियाली टोलीका एक ओपनरले प्रथम श्रेणीको क्रिकेट खेलिसकेका रहेछन्।' ती अरु कोही नभएर फिलिप ह्युज थिए, जसको निधनले अहिले विश्व खेलकुदमा सन्नाटा छाएको छ। 
अस्ट्रेलियाको एडिलेडमा डब्लुसिएनएल खेलक्रममा फिलिप ह्युजप्रति श्रद्धान्जली दिदैं खेलाडी तथा अफिसियल। ४ सय ८ उनको अस्ट्रेलियाको टेस्ट खेलाडी नम्बर हो। इन्सेटमा बलले लागेर मृत्यु भएका अस्ट्रेलियन क्रिकेटर ह्युज। तस्बिरः आइसिसी

अस्ट्रेलियाको घरेलु क्रिकेट सेफिल्ड सिल्डको एक खेलक्रम मंगलबार बाउन्सर बलले ह्युजको टाउकोको पछाडि भागको तल छेउमा लागेको थियो। मैदानमै अचेत भएका ह्युजको आकस्मिक शल्यक्रिया भए पनि फेरि होसमा फर्केनन्। बिहीबार बिहान उनको दुःखद निधनसँगै क्रिकेटजगतमा कालो बादल मडारिन पुग्यो।
यु–१९ विश्वकपमा गौरवशाली इतिहाससाथ नेपाली टोली अस्ट्रेलियासँग खेल्न उभिएको थियो। नेपालले केन्या, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड जस्ता टोलीलाई पराजित गरिसकेको अवस्था थियो। यथार्थमा लक्ष्यभन्दा धेरै टाढा रहे पनि अस्ट्रेलियासँग नेपालले यस्तै अर्को इतिहास बनाउने अवसरमा उक्त खेल हेरिएको थियो।
ओपनर ह्युज नेपाली आशामा अवरोध बने। उनले ९४ बल खेल्दै २ चौकासहित ४६ रन बनाए। ३५ ओभरसम्म क्रिजमा डटेका उनले किर्क पास्कोइसँग पहिलो विकेटमा ६२ र मिचेल क्रामनरसँग चौथो विकेटमा ४८ रन जोडे। खेलको यही नै दुई ठूलो साझेदारी थियो।
'अस्ट्रेलियामा उमेर समूहको खेल खेल्दै गर्र्दा प्रथम श्रेणीमा खेलिसक्नुलाई ठूलो उपलब्धि मानिन्छ, नेपालले त्यस्ता प्रोफाइल बनाइसकेका खेलाडी (ह्युज) सँग खेल्न गइरहेको थियो,' उक्त विश्वकपमा नेपाली टोलीसँगै रहेका पत्रकार प्रेम ढकालले स्मरण गरे।
ह्युजले नेपालसँग खेलेको इनिङ्स संस्मरण गर्दै उनले भने, 'अरु खेलाडीहरू आक्रामक भएर खेलिरहेका थिए। ह्युज निकै संयमित भएर खेल्दै अस्ट्रेलियाका लागि रन थपिरहेका थिए। यसले ऊ कस्तो स्तरका खेलाडी हो भन्ने देखाइसकेको थियो।'
प्रतियोगितामा उनले खासै अरु त गर्न सकेनन्। ह्युजले ४ खेलमा ८९ रनमात्र बनाउन सके। नेपालसँग खेलेको इनिङ्स नै उनको प्रतियोगितामा उच्च स्कोर थियो। नेपालको ब्याटिङक्रममा आकाश गुप्ताको क्याच ह्युजले पूरा प्रतियोगितामा लिएको एउटै क्याच थियो।
राहुल बिकको बलमा महेश क्षेत्रीले स्टम्पआउट गरेपछि ह्युज नेपालसँग अर्धशतक बनाउनुपूर्व आउट भएका थिए। ह्युजको इनिङ्सपछि अस्ट्रेलियाले २ सय ६ रन बनाएको थियो। नवौं नम्बरमा ब्याटिङ गरेका राहुलले अविजित ३३ रन जोडे पनि नेपालले १ सय १० रनमात्र बनाउन सक्यो।
'उसले राम्रो ब्याटिङ गरिरहेको थियो, मेरो उद्देश्य उसलाई अर्धशतक बनाउनबाट रोक्नु थियो, उसकै कारणले अस्ट्रेलियाको स्कोर बढिरहेको थियो,' राहुलले ह्युजलाई आउट गर्दाको क्षण सम्भि्कए, 'मैले उसलाई धेरै डट बल खेलाइरहेको थिएँ। मेरो अघिल्लो ओभरमा पनि उसले खासै रन हान्न सकेका थिएनन्। त्यसपछि दबाबमा आएर अघि बढेर खेल्दा उनी स्टम्पआउट भए। मैले अफ स्टम्पको लाइनमा बल फालिरहेको थिएँ। आउट भएको बल अझ अफ स्टम्प बाहिर फालेँ, उसले अगाडि बढेर हान्न खोज्दा नसकेपछि रोक्न पनि खोजेका थिए।'
शान्तसँग खेलिरहेको हुनाले राहुल ह्युजसँग प्रभाव हुनुको अर्को कारण थियो। राहुलले स्मरण गरे, 'त्यही खेलमा स्टिभ स्मिथ, प्याट कुमिन्सले हामीलाई स्लेजिङ गरेका थिए। अहिले जस्तो हाम्रो अंग्रेजी थिएन। ह्वाट, ह्वाट भनेर उनीहरूसँग सामान्य प्रतिरोधमात्र गर्‍यौं।'
त्यतिखेरै ह्युजले भविष्यमा अस्ट्रेलियाबाट खेल्छ भन्नेमा राहुललाई कुनै शंका थिएन। ह्युजले सन् २००९ मा दक्षिण अफ्रिकामा टेस्ट 'डेब्यु' गर्दा आफू थप उत्साहित भएको राहुल बताउँछन्। 'उसले कति इम्प्रुभ गरेछ भनेर हेर्न खोजेको थिएँ,' राहुलले त्यो क्षण सम्भि्कए। ह्युजले आफ्नो पहिलो टेस्टको दोस्रो इनिङ्समा ७५ रन बनाउँदै आगमनको घन्टी दिएका थिए।
नेपाली टोलीका कप्तान पारस खड्कालाई भने ह्युजसँगको खेलबारे खासै सम्झना छैन। 'जब उनी अस्ट्रेलियाबाट पहिलो टेस्ट खेलिरहेका थिए, त्यसपछि उनले हामीसँग यु–१९ मा खेलेको प्रसंग आउँदा निकै रमाइलो लाग्यो,' पारसले यत्ति भने। पारसले प्रतियोगितामा राम्रो प्रभाव पारेका थिए। उनी म्यान अफ द सिरिजको दौडमा पनि उभिएका थिए। माथिल्लो क्रममा ब्याटिङ गर्ने पारस बलिङमा चाँही सुरुको स्पेल मध्य गतिमा र पछिल्लो स्पेलमा अफ स्पिन बलिङ गर्थे। 'पारसले विकेटकिपिङ पनि गर्छ?' पारसको क्षमतामा अस्ट्रेलियाली खेलाडीहरुको प्रश्न थियो।
ह्युजले त्यसपछि डर्बानको दोस्रो टेस्टको दुवै इनिङ्समा शतक बनाएका थिए। २० वर्षमै दुवै टेस्ट इनिङ्समा शतक बनाउने ह्युज कान्छा खेलाडी हुन्। कुल २६ टेस्टमा ह्युजले ३२.६५ को औसतमा १ हजार ५ सय ३५ रन बनाए। उनले अस्ट्रेलियाबाट २५ एकदिवसीय अन्तर्राष्ट्रिय र एक ट्वान्टी–२० अन्तर्राष्ट्रिय पनि खेलेका छन्।
नेपाली बलरहरूले उनलाई आउट गर्न नसकेपछि विकेटकिपर महेशले ह्युजको धैर्यता भंग गर्न लामो समय पर्खनुपर्‍यो। 'अस्ट्रेलियाली ब्याट्सम्यान भएर नेपालीलाई पनि रन हान्न सक्दैनस भनेर जिस्काएको थिएँ उसको एकाग्रता भंग गर्नलाई,' महेशले सम्भि्कए, 'जवाफमा उसले 'डन्ट बी च्याटर' भनेर विकेटकिपर होस विकेटकिपिङ गर भने।' महेशलाई पनि ह्युजको शान्त स्वभावले प्रभाव नपारेको होइन। तिनै ह्युजले महेशलाई प्वाइन्टमा डाइभ हानेर रनआउट गरेपछि नेपालको खेलस्थिति ३६–४ मा पुगेको थियो।
नेपाली टोलीका वर्तमान उपकप्तान ज्ञानेन्द्र मल्लले अहिलेसम्म नभोगेको क्षण ह्युजसँगै थियो। यु–१९ टोलीका पनि उपकप्तान रहेका ज्ञानेन्द्र चोटका बाबजुद अस्ट्रेलियासँग उत्रिएका थिए। 'हामी मैदानमा छिरेपछि अम्पायरसँग बल लिएर पास गर्दै थियौं, ह्युज ओपनिङ ब्याटिङ गर्न आइपुगे। उनले 'गिभ मी द बल, आई विल हिट यु फर फोर' भनेर क्रिजतिर लागे,' ह्युजको यो भनाइ ज्ञानेन्द्रलाई अहिले पनि अनौठो लाग्छ। अहिलेसम्म कुनै ब्याट्सम्यानले त्यस्तो भनेको आफूलाई थाहा नभएको ज्ञानेन्द्र बताउँछन्। ह्युजले त्यसो भन्दै गर्दा ज्ञानेन्द्रले उनीभित्र दृढ आत्मविश्वास देखेका थिए। आफूहरूसँग खेलेका एउटा आत्मविश्वासी खेलाडीलाई बलले लागेको चोटबाट गुमाउनुपर्दा अत्यन्तै पीडा भएको बताउँछन् ज्ञानेन्द्र।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ मंसिर १३ गते प्रकासित

No comments:

Post a Comment