Saturday, November 22, 2014

क्यान विवाद मैदानमा छताछुल्ल

यु–१९ महिला राष्ट्रिय च्याम्पियनसिपको फाइनल कीर्तिपुरको पारिलो मैदानमा जनकपुरलाई नतिजा सुम्पँदै सम्पन्न भइसकेको थियो। विजेता जनकपुरसँगै उपविजेता विराटनगरलाई ट्रफी उचाल्दै खुसी मनाउने हतारो थियो।
नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेसहितका कर्मचारीलाई समापन समारोहको चटारोले भ्याइनभ्याई थियो। 

समापन समारोहका अतिथिहरु । तस्बिरः विजय गजमेर
प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामा पनि पुरस्कार वितरणका लागि समयमै कीर्तिपुर पुगिसकेका थिए। थोरै संख्यामा उपस्थित दर्शक आ–आफ्नो टोलीको नाम लिएर खुसीमा चिच्याइरहेका थिए।
सँगै सरकारले हालै पुनर्गठन गरेका कारण क्यानको अन्तरसंघर्ष मैदानमा छताछुल्ल भइरहेको थियो। व्यवस्थापन गर्नुपर्ने कर्मचारी, पदाधिकारी र प्रमुख अतिथि सबै विवादको हिस्साका रूपमा प्रस्तुत भइरहेका थिए। जसले डेढ हप्ता मैदानमा डटेर जित्दाको खेलाडीको खुसी क्षणभरमै बिलिन गराइसकेको थियो। लाग्थ्यो खेलाडीको खुसी ढल्कँदो दिनसँगै चलेको सिरेटोले चिस्याइरहेथ्यो।
शुक्रबार कीर्तिपुरमा सबथोक तयार हुनाका बाबजुद समापन समारोह सहज बन्न सकेन। त्यसो त प्रतियोगिता सुरु हुनुपूर्व नै अन्योलमा परिसकेको थियो। प्रतियोगिताको पूर्वसन्ध्यामा सरकारले तारिणीविक्रम शाह कार्यवाहक अध्यक्ष रहेको क्यान पुनर्गठन गरी तीन सदस्यीय नयाँ तदर्थ समिति गठन गरेपछि क्रिकेट विवाद सतहमै आएको थियो। सरकारले कात्तिक २० मा क्यानको कार्यसमिति निलम्बन गर्दै पूर्वअध्यक्ष विनयराज पाण्डेको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो।
सुरु हुने तयारीमा पुगिसकेको वाइवाइ यु–१९ महिला राष्ट्रिय प्रतियोगिता गर्ने कि नगर्नेमा निलम्बनमा परेपछि पुरानो कमिटी अन्योलमा थियो। नयाँले यो प्रतियोगितालाई सम्बोधन गर्न भ्याएकै थिएन। तथापि पुरानै कमिटीले प्रतियोगितालाई निरन्तरता दिने निर्णय गर्‍यो र शाहको समेत अनुपस्थितिमा श्रीनिवास राणाले नेतृत्व लिएकै क्यानको व्यवस्थापनमा प्रतियोगिता सहजतासाथ सम्पन्न भयो।
पुरानो कमिटी आफूले तयार गरेको क्यालेन्डरअनुसारका गतिविधि आफैले गरेर आफू नै वैधानिक भएको सन्देश दिन चाहन्थ्यो। सरकारले गरेको पुनर्गठनविरुद्ध उनीहरूले अदालतको ढोकासमेत घच्घचाइसकेका थिए। पूरै प्रतियोगिता आफूले गरेका कारण समापनमा पनि त्यसको जस लिने उनीहरूको उद्देश्य थियो।
तर आफूहरूलाई आडभरोसा दिँदै आएका परिषदका सदस्यसचिव युवराज लामाले समेत सरकारी आदेश मान्नुपर्ने बताउँदै लाचारी व्यक्त गरेपछि निलम्बित क्यानका पदाधिकारीहरू समापनमा मैदान छोड्न बाध्य भए। लामासहित प्रायोजकका प्रतिनिधि र प्रमुख कार्यकारी अधिकृत घिमिरेले खेलाडीलाई पुरस्कृत गरे।

अदालत पुगिसकेको विवाद मैदानमा छताछुल्ल हुने अवस्था कसरी आयो त?
दुई क्यानको अस्तित्व रहेको अवस्थामा प्रमुख कार्यकारी अधिकृत घिमिरेले दुवै पक्षका पदाधिकारीलाई समापन समारोहमा उपस्थित नभए राम्रो हुने ब्रिफिङ गरेकी थिइन्। प्रायोजकहरू पक्ष विपक्षको विवादमा आउन नचाहेको कारण घिमिरेले दुवै पक्षका पदाधिकारीलाई यस्तो सुझाव दिएकी थिइन्। 
त्यही कारण उनले विजेतालाई दिनका लागि तटस्थ खालको प्रमाणपत्र बनाएकी थिइन्। दुई पक्षको घम्साघम्सीबाट उम्कन घिमिरेले तयार गरेको प्रमाणपत्रमा क्यानका तर्फबाट आफै तथा प्रमुख अतिथिको हैसियतमा सदस्यसचिव लामा र मुख्य प्रायोजकका तर्फबाट चौधरी ग्रुपका सहायक प्रबन्धक लालबाबु प्रसादको हस्ताक्षर थियो। जुन निलम्बनमा परेको क्यानलाई मान्य थिएन। निलम्बनमा रहेको क्यानले खासमा प्रतियोगिताअघि नै कार्यवाहक अध्यक्षका रूपमा निस्कृय शाह र सक्रिय राणासहित कार्यवाहक महासचिव उत्तम कर्माचार्य र लालबाबुको हस्ताक्षर राखेर प्रमाणपत्र बनाइसकेको थियो। आफूले प्रतियोगिता गरेकाले त्यही प्रमाणपत्र वितरण गरिनुपर्छ भन्ने उनीहरूको अडान थियो।
दुइ फरक प्रमाणपत्र

घिमिरेको अनुरोध अस्विकार गर्दै समापन समारोहमा निलम्बित क्यानका तर्फबाट कार्यवाहक अध्यक्ष राणा, उपाध्यक्ष केशव घिमिरे, सदस्यहरू अमितवीर पाण्डे, सञ्जय सिंह र रञ्जित तामाङ मैदान पुगेका थिए। आफ्नो हस्ताक्षर अंकित प्रमाणपत्र वितरण गर्न पाए वैधानिकताको अर्को सन्देश दिन पाउने उनीहरूको योजना थियो। त्यसैले निलम्बित क्यानका पदाधिकारीले समापन समारोह आफ्नै नियन्त्रणमा चलाइनुपर्ने अडान राख्यो। जुन सिइओ घिमिरेलाई मान्य भएन।
पदाधिकारीको ढिपीसामु केही नचलेपछि घिमिरे आफू त्यहाँ बस्नुको अर्थ नरहेको भन्दै बाहिरिन खोजिन्। तर मैदानको मुलगेटमा मुख्य प्रायोजकका प्रतिनिधिसँगको जम्काभेटका कारण उनी फर्कन बाध्य भइन्। प्रायोजकहरूले जसोतसो समापन गर्ने र त्यसपछि विवादको विषयमा छलफल गर्ने भन्दै घिमिरेलाई फिर्ता ल्याएका थिए।
सदस्यसचिव लामा पनि केहीबेरमै मैदान आइपुगे। घिमिरेले लामालाई सबै घटनाक्रम जानकारी गराइन्। लामाले निलम्बित क्यान पदाधिकारीसँग मैदानमै छलफल गरे। त्यो छलफलले समापन समारोहको प्रतीक्षा लम्बिए पनि विवादको एक पक्ष निलम्बित क्यानका कार्यवाहक अध्यक्ष राणासहितका पदाधिकारी मैदानबाट बाहिरिए।
लामा पुग्नुअघिसम्म क्यान सदस्य तामाङले समापन समारोहमा उद्घोषण गर्ने तय भएको थियो। क्यान पदाधिकारीले मैदान छाडेपछि क्यानका कार्यालय सचिव छुम्बी लामाले कार्यक्रम चलाए। सदस्यसचिव लामाले संघमा विवाद आउँदा कर्मचारीलाई गाह्रो हुने विगतमा अनुभव गरेको बताउँदै उनीहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिन आग्रह गरे।
'सरकारले क्यान निलम्बन गरेको मलाई थाहा छैन। राखेपमा केही छलफल पनि भएको छैन, ऐन कानुन मिचिएको छ। राखेपको कार्यधिकार मिचिएको छ,' सदस्यसचिव लामाले भने, 'तर राखेप सरकारको निर्णय मान्न बाध्य हुनुपर्नेछ। राखेप र सदस्यसचिव कुनै विवादमा जान चाहँदैन।'
उनका अनुसार क्यान निलम्बन गरिएको पत्र युवा तथा खेलकुद मन्त्रालयले राखेपमा पठाइसकेको छ। 'यस्तो अवस्थामा निलम्बन गरिएको क्यानका पदाधिकारीसँग मैले बस्न मिल्दैन। भोलि कानुनी रूपबाट आउने अर्को बाटो छ,' लामाले भने, 'राखेपले नियम कानुनमा बसेर काम गर्नुपर्छ।'
लामाले अहिलेको अवस्थामा क्यान पदाधिकारीसँग मिल्न नसक्ने बताएपछि राणासहितको क्यान टोली अलग्गिएको थियो। 'हामीले सदस्यसचिवको हैसियतमा युवराज लामालाई बोलाएका थियौं, सरकारले हाम्रो कमिटीलाई निलम्बन गरेको रहेछ। यस्तो अवस्थामा उहाँले सँगै कार्यक्रममा बस्न नमिल्ने बताउनुभयो,' निलम्बित क्यानका कार्यवाहक अध्यक्ष राणाले भने, 'अघिल्लो दिनसम्म यस्तो केही थिएन। तर उहाँले आफू बस्न नमिल्ने भनेपछि हामी आफै अलग हुनु उचित ठान्यौं।'
नागरिक राष्ट्रिय दैनिकमा २०७१ मंसिर ६ गते प्रकासित

No comments:

Post a Comment