Tuesday, October 2, 2012

शारजहाँमा विनोद र जावेद


एसिसी ट्रफी इलिटको पहिलो खेलमा नेपालको सामना गर्दा युएईका प्रशिक्षक अकिब जावेदलाई प्रतिद्वन्द्वी टोलीका अनुभवी खेलाडी विनोद दासबारे राम्रै जानकारी हुनसक्छ। यी दुवै दोस्रोपटक आमनेसामने हुँदैछन्। शारजहाँको भेटले दुवैलाई उनीहरूको विगत सम्झाउने छ। 
विनोद दास र अकिव जावेद। साभार तस्विर
वर्तमान नेपाली टोलीका सबैभन्दा पाका खेलाडी विनोदले पाकिस्तानका पूर्वस्टार जावेदसँग ५ वर्षअघि थाइल्यान्डमा भेटेका थिए। एसियाली क्रिकेट परिषद् (एसिसी) द्वारा आयोजित विशेष फास्ट बलिङ कोचिङ कोर्समा दुवै सहभागी थिए। फेब्रुअरीमा युएईको प्रशिक्षक बन्नुअघि जावेद पाकिस्तानी बलिङ प्रशिक्षक थिए।

फास्ट बलिङ प्रशिक्षण कोर्ससहित एसिसी लेभल थ्री कोर्स गरेका विनोद नेपाली टोलीले अझै आश गरेका खेलाडी हुन्। आफ्नो खेलजीवनको उत्तरार्द्धमा आएका मध्यम गतिका बलर विनोद प्रशिक्षक पुबुदु दासानायकेको विश्वास जितेका खेलाडी हुन्। नेपालले अघिल्लो महिना आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ जित्दा दासानायकेले विनोदलाई मुख्य खेलाडीका रूपमा प्रस्तुत गरेका थिए। जहाँ विनोदको प्रदर्शन पनि लगभग प्रशिक्षकको आशा बमोजिम नै थियो। 
सन् २००० मा विनोदले राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेका थिए। शारजहाँमै विनोदले राष्ट्रिय टोलीबाट 'डेब्यु' गर्दा प्रतिद्वन्द्वी युएई नै थियो। 'राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेको मलाई पूरै सम्झना छ,' विनोदले युएई जानुअघि भनेका थिए। लचिलो बलिङ एक्सन र विभिन्न शैलीको बलिङबाट विनोदले धेरैलाई प्रभाव पारे। युएईसँग पहिलो खेलमा हार बेहोरे पनि नेपाल माल्दिभ्स र जापानलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो। 
शारजहाँमै हङकङसँग सेमिफाइनलमा नेपालले अनुकूल नतिजा निकाल्न नसके पनि टेलिभिजन प्रत्यक्ष प्रसारणमा कमेन्ट्री गरिरहेका रमिज राजाले विनोदमा अर्को प्रतिभा भेट्टाए। उनले विनोदबारे भनेका थिए, 'नेपालका ११ नम्बरका ब्याट्सम्यान हेर्नुस् कसरी स्ट्रेट ब्याटिङ गरिरहेका छन्।' अर्को वर्ष श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाली टोली सम्हालेपछि विनोद 'एसियाकै उत्कृष्ट अलराउन्डर' भनेका थिए। तर विनोदले आफूलाई स्थापित खेलाडीमा उभ्याउँदा मध्यम गतिको बलिङ हतियार बनाए।
सबैभन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरेको शारजहाँ जावेदको प्रिय मैदान हो। उनले १९९१ मा भारतविरुद्ध गरेको सनसनी प्रदर्शन एकदिवसीय क्रिकेटकै स्मरणीय खेलमा पर्दछ। त्रिकोणात्मक शृंखलाको फाइनलमा उनले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ७ विकेट लिँदै पाकिस्तानलाई ७२ रनको विजय दिलाएका थिए। उक्त समयमा यो एकदिवसीय क्रिकेटकै उत्कृष्ट बलिङ थियो। उनले रवि शास्त्री, मोहम्मद अजहरुद्दिन र सचिन तेन्दुलकरलाई लगातार बलमा आउट गरी ह्याट्रिक विकेट पनि लिएको इतिहास छ।
जावेद युएईको प्रशिक्षक बन्नु पनि नेपालनै प्रमुख कारण थियो। डिसेम्बरमा काठमाडौंमा सम्पन्न एसिसी ट्वान्टी–२० कपको सेमिफाइनल पुग्न नसकी विश्व ट्वान्टी–२० छनोटमा हुन असफल भएपछि युएईले पाकिस्तानी प्रशिक्षक कविर खानसँगको सम्बन्ध तोडेको थियो। युएईलाई उछिन्दै नेपाल पहिलोपटक सेमिफाइनल पुगेर आइसिसीको प्रमुख प्रतियोगितालाई छनोट भएको थियो। प्रमुख खेलहरूमा चुक्ने नेपाली राष्ट्रिय टोलीले त्यसयता ठूलै छलाङ मारिसकेको छ। 
विनोदसँग शारजहाँको तिक्तता पूर्ण स्मरण पनि छन्। नेपाल २००९ को एसिसी ट्वान्टी–२० को सेमिफाइनल पुग्न नसकेपछि विनोदले राष्ट्रिय टोलीको कप्तानबाट हात धुनुपर्‍यो। शारजहाँमै सिंगापुरसँग पाँचौं स्थानको प्लेअफ खेल विनोदको कप्तानीमा नेपालले खेलेको अन्तिम खेल थियो। शारजहाँको तीतामीठा स्मरणमा जावेदसँगको भेटले विनोदलाई थप ऊर्जा प्रदान गर्न सक्छ।
नागरिक राष्ट्रिय दैनिकमा असोज १६ गते प्रकासित

No comments:

Post a Comment