Saturday, August 10, 2013

हीरा सधैंका लागि

नेपाली स्क्वासका असली हीराबहादुर थापा दोस्रो एनएसआरए राष्ट्रिय खुल्ला स्क्वासमा शनिबार आफ्नै छोरा अमृत थापासँग हारेछन्। राष्ट्रिय प्रतियोगितामा हीराबहादुरको १९ वर्षपछि यो पहिलो हार हो । २०६८ को छैटौं राष्ट्रिय खेलकुदका क्रममा मैले नागरिकमा लेखेको उनको एउटा स्टोरी यस्तो थियो ..........

नेपाली स्क्वासमा एकोहोरो वर्चस्व जमाइरहेका हीराबहादुर थापाले खासै चुनौती सामना गर्नुपरेको छैन। आम नेपालीको दैनिकी नै बनेको लोडसेडिङको मार भोग्नुपर्दा हीराको १८ वर्षको अपराजित यात्रा झन्डै अँध्यारोमा हराउन पुग्यो।  
तस्विरः विकास कार्की

छैटौं राष्ट्रिय खेलकुदको एकल फाइनलमा उनले छविलाल पाइजा पुनबाट कडा चुनौती पाए। ६–९ ले पछाडि परेका उनले संघर्ष गर्दै १०–९ ले खेल आफ्नो पक्षमा ल्याए। १ अंकले उनलाई पहिलो सेट दिलाउँथ्यो। दिउँसो ३ बजेसँगै सातदोबाटोस्थित स्क्वास एकडेमी हल लोड सेडिङले अन्धकार भयो। 'लोड सेडिङले मेरो गति नै बिगारिदियो,' पहिलो सेट १५–१७ ले हार्नुका कारण दिए हीराले।
'हीरा आखिर हीरा नै हो,' उनलाई हौस्याउनेहरूको समर्थन निरन्तर थियो। हीराले त्यसलाई प्रमाणित गरे। बाँकी तीन सेट ११–८, ११–५, ११–९ ले जितेर उनी फेरि एकपटक नेपाल च्याम्पियन बने। २०४९ सालदेखि हीराले खेलेका सबै प्रतियोगिता जितेका छन्। २०४९ मा पहिलो उपाधि जित्दा हीरा फाइनलमा सुरेश गुरुङसँग पहिलो सेटमा पराजित भए। त्यसपछि उनले बुधबार पहिलोपटक सेट गुमाए। तिनै सुरेशलाई हीराले यसपटक सेमिफाइनलमै पन्छाए।
त्यसयता हीरालाई चुनौती दिने निस्केका छैनन्। 'यो अहिलेसम्मकै क्लासिक फाइनल हो,' नेपाल स्क्वास र्‍याकेट संघका उपाध्यक्ष किशोर महर्जन भन्छन्, 'मलाई थाहा भएअनुसार हीरालाई यस्तो चुनौती कसैले दिएको थिएन। उनले आफूभन्दा राम्रो खेलाडीसँग खेल्न पाएका छैनन्, त्यसैले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनलाई समस्या पर्छ।'
सिंगापुर प्रहरीका सेवानिवृत्त छविलाल फाइनलमा चौथोपटक हीरासँग पराजित भए। 'उत्कृष्ट खेलाडीले नै जित्छ, हीराको विजय त्यसैमा पर्छ। उनी प्रशिक्षक पनि हुन्, खेलाडीलाई सिकाउँदै आफू पनि निरन्तर खेलिरहने हुनाले उनलाई हराउन गाह्रो छ,' हीराको सम्मानमा उनले भने, 'उनको फिटनेस स्तर धेरै राम्रो छ।' डिप सट र पावरको सदुपयोग गर्दै छविलालले नेपाली स्क्वासमा ठूलै उथलपुथल गर्ने प्रयास गरे। फोरह्यान्ड कमै प्रयोग गर्ने हीराले त्यसको जवाफ ब्याकहयान्ड र ड्रपमा दिए।
गोर्खा बक्राङ–९ का हीरा २०४५ सालमा काठमाडौं झरेका हुन्। मोतीलाल थापासँग भेटले स्क्वासमा डोर्‍यायो। ठूलो बुवाका छोरा मोतीलाल पनि स्क्वास खेल्थे। मैतिदेवीमा भेटेको त्यही माहोलले उनलाई नेपाली स्क्वासमा महान हस्ती बनायो। पहिलोपटक खेल्दा उनी तेस्रा भए। दोस्रो स्पर्धामा उनी दोस्रोमा उक्लिए। त्यसपछि हार्नुपरेको छैन। निरन्तर विजयमात्र।
सन् २००६ मा भारतमा भएको बजाज अलमोन्ड ड्रप्समा फाइनलसम्म पुगेको यात्रालाई हीरा ठूलो सफलता मान्छन्। २००४ मा पाकिस्तानको नवौं दक्षिण एसियाली खेलकुदमा उनी  टिम इभेन्टमा कांस्य जित्ने नेपाली टोलीका सदस्य थिए। त्यही उनले जहाँगिर खानसँग भेट्ने अवसर पाए। त्यसको चार वर्षपछि प्रशिक्षण कोर्स गर्न जाँदा उनले जान्सेर खानलाई पनि भेटे। पूर्व विश्वनम्बर एक पाकिस्तानी खेलाडीद्वयसँग भेटेपछि हीरा अझ उत्साही भए।
हीरा राष्ट्रिय खेलकुद परिषद्का सहयाक प्रशिक्षक पनि हुन्। सातदोबाटो एकेडेमीमा प्रशिक्षण गराउँदै आफ्ना शिष्यसँग खेल्नु उनी सफलताको कारण मान्छन्। 'म निकै मेहनत गर्छु। १२ महिनाजस्तो अभ्यास गर्छु, सिकारु खेलाडीसँग पनि आनन्द लिएर मेहनत गरेर खेलेकाले पनि मैले आजसम्मको सफलता पाएको हुनसक्छ,' उनी आफूलाई चुनौती दिने नयाँ खेलाडी नआएसम्म खेलिरहने बताउँछन्।
एउटा प्रशिक्षकका रूपमा स्क्वासजस्तो खेलमा नयाँ खेलाडी ल्याउन सजिलो नहुने उनले बुझेका छन्। 'भएका खेलाडी नियमित अभ्यास गर्दैनन्। युवाहरू इन्डोरभन्दा आउटडोर खेल मन पराउने हुनाले उनीहरू भलिबल र क्रिकेटमा मोहित हुन्छन्, एकपटक उनीहरूलाई इन्डोरमा तान्ने हो भने स्क्वासमा रमाउन सक्छन्।' स्क्वासका विजेता खेलाडीलाई पुरस्कृत गर्न आएकी पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठलाई उपाध्यक्ष महर्जनले युवा खेलाडीलाई तान्न लाग्न आग्रह गरे।
हिराका छोरीछोरा दुवै स्क्वास खेल्छन्। छोरी कृष्णा बुधबार फाइनलमा भावना सुनुवारसँग पराजित भइन्। छोरा अमृत एसएलसीका कारण सहभागी भएन। हीराले भने, 'छोरा खेलेको भए पश्चिमाञ्चलले टिम इभेन्टमा पनि स्वर्ण जित्थ्यो।' छोरासँग हीराले खेल्नुपरेको छैन। संयोगले त्यस्तो दिन जुराउने हीराको आशा छ।
नयाँ खेलाडीमध्ये धेरै उनकै प्रशिक्षणमा आएका हुन्। हीराको स्क्वासप्रतिको समर्पण ती खेलाडीले जति अरुले नबुझेको होलान्। स्नेहा वंशल हीराकै उत्पादन हुन्। हीरा पहिलो सेट पराजित हुँदा उनी अलि 'नर्भस' थिइन्। आफ्ना गुरुले उपाधि जितेपछिको सफलता खोतल्दै वंशलले भनिन्, 'कडा मेहनत, धैर्य, संयम, नझुक्ने हीरा सरको स्वभाव हो। त्यसै पनि हीरा सधैंका लागि हो।'
 

No comments:

Post a Comment