Saturday, August 17, 2013

विश्वकपको बाटोमा सिंगापुरको यात्रा

विश्व ट्वान्टी–२० र एकदिवसीय विश्वकप छनोट नेपाली क्रिकेटका आगामी महत्वपूर्ण अभियान हुन्। सिंगापुरमा शनिबार सुरु हुने एसिसी इमर्जिङ टिम्स कपले ती प्रतियोगिता खेल्नु अघि नेपाली क्रिकेटको स्तर मापन गर्नेछ।
सिंगापुर पुग्नुअघि नेपालले कोलम्बोमा श्रीलंकाको यु–२३ टोलीसँग चार अभ्यास खेल खेलेको थियो। सवै ४ खेल हार्दा नेपालले ३ खेलमा सजिलै घुँडा टेकेको थियो। श्रीलंकासहित टेस्ट खेल्ने भारत, पाकिस्तान र बंगलादेशको यु–२३ टोलीले प्रतियोगितामा सहभागिता जनाउदैं छन्। नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्।
८ देशका कप्तानहरु ट्रफीका साथ ।  तस्विरः एसिसी

कोलम्बोको अभ्यास खेलले सिंगापुरमा नेपाली टोलीको सम्भावित नतिजा देखाइसकेको छ। त्यसैले प्रतियोगितामा भारत र पाकिस्तान जस्ता टोलीसँग खेल्दा नेपालबाट खासै ठूलो अपेक्षा गरिएको छैन्। एसोसिएटको बलियो टोली अफगानिस्तान पनि नेपालकै समूहमा छ।
नेपालले नोभेम्बरमा युएईमा विश्व ट्वान्टी–२० छनोट तथा जनवरीमा न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्दैछ। त्यसैले सिंगापुरको प्रतियोगिता नेपालकालागि तयारीको राम्रो अवसरका रुपमा रहनेछ। यहाँ नेपाली टोलीले कमजोरी पत्ता लगाई त्यसमा तयारी गर्नेछ।
प्रशिक्षक पुबुदु दासानायकेले श्रीलंका भ्रमणबाटै नेपालको तयारी सुरु भएको बताएका थिए। उनकै भनाइमा इमर्जिङ टिम्स कपका खेलले त्यसलाई निरन्तरता दिने छ। नेपालका लागि प्रतियोगिताका खेलहरु निकै कठिन भए पनि प्रशिक्षक दासानायकेले आफ्नो टोली जित्नका लागि खेल्ने बताउदैं आएका छन्।
इमर्जिङ टिम्स कप एसिसीले पहिलोपल्ट गर्न लागेको प्रतियोगिता हो। टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले प्रतियोगितामा भाग लिनेछन्। नेपाल, युएई, अफगानिस्तान र सिंगापुरको पूर्ण टोली हुनेछ। गत वर्ष युएईमा सम्पन्न एसिसी ट्रफी इलिटको शीर्ष तीनमा रहदै नेपाल, युएई र अफगानिस्तानले इमर्जिङ टिम्स कपमा स्थान बनाएका हुन्। सिंगापुरलाई आयोजकका हैसियतमा स्थान दिइएको हो।
विरुद्ध अफगानिस्तान
अफगानिस्तानमाथी झन्डै एक दशकपछि नेपाल पहिलो विजय हात पार्ने आशमा छ। नेपालले पछिल्लो पटक अफगानिस्तानलाई २००४ मा पराजित गरेको थियो। एसिसी ट्रफीको प्लेट फाइनलमा नेपालले अफगानिस्तानमाथी ४७ रनको विजय हात पारेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानको त्यो पहिलो प्रतियोगिता थियो।
त्यसयता नेपाललाई अफगानिस्तानले चार पटक पराजित गरिसकेको छ। नेपाल र अफगानिस्तान पछिल्लो पटक २०१० मा एसिसी ट्रफीको फाइनलमा भिडेका थिए, जसमा अफगानिस्तानले ९५ रनको विजय निकालेको थियो। अफगानिस्तानले २००६ र २००८ को एसिसी ट्रफीको तेस्रो स्थानको प्लेअफमा तथा २००८ मा विश्व क्रिकेट लिग डिभिजन ५ को सेमिफाइनलमा पराजित गरेको थियो।
डिभिजन ५ मा पाएको विजयसँगै क्रमशः माथी उक्लदै अफगानिस्तान एकदिवसीय अन्तर्राष्ट्रियको हैसियत बनाउन सफल भयो। टोलीले दुई पटक ट्वान्टी–२० विश्वकप खेल्न भ्याइसकेको छ। नेपाल भने थप दुई प्रयासपछि अहिले डिभिजन २ मा उक्लिएको छ। अफगानिस्तान भर्खरै विन्डहोकमा नामिबियालाई दुई एकदिवसीय खेलमा पराजित गरी सिंगापुर आएको हो। उक्त विजयसँगै अफगानिस्तान विश्वकप छनोटको नजिक पुगिसकेको छ।
म फिट छु :  पारस
श्रीलंका भ्रमणमा ब्याटिङ मात्र गरेका नेपाली कप्तान पारस खड्कालाई ग्राउन्ड फिल्डिङ गर्दा अप्ठयारो महशुश भएको थियो। तर, अहिले पारस फिट भइसकेको बताउछन्। 'म ९० प्रतिसत फिट छु। थ्रो फाल्न पनि भएको छ। बलिङ गर्ने सम्भावना चाँही कम छ। अति आवश्यक परे बलिङ पनि गरौंला,' सिंगापुरबाट पारसले नागरिकसँग टेलिफोनमा भने।
श्रीलंका भ्रमणमा पारससहित प्रदीप ऐरी, पृथु बाँस्कोटा, सुवास खकुरेल घाइते थिए। पारसले भने, 'प्रदीप पनि लगभग फिट छन्। अफगानिस्तानसँग हुने खेलमा छनोटका लागि उपलब्ध छन्। शनिबार बिहान पिचको स्थिति हेरेर हामी पहिलो रोजाई घोषणा गर्नेछौं।'
अनिल मण्डल र सुवासले पहिलो रोजाइमा खेल्ने पक्का जस्तै छ। श्रीलंका भ्रमणमा अनिलले दुई अर्धसतक बनाएर टोलीमा स्थान पक्का गरेका थिए। बर्मुडामा नेपालले डिभिजन ३ को उपाधि जित्दा अनिलले आफ्नो स्थान गुमाए। जहाँ प्रदीप ओपनर भएर खेलेका थिए। उनी युगान्डाविरुद्धको फाइनलमा म्यान अफ द म्याच चुनिएका थिए।
श्रीलंकामा क्लब क्रिकेट खेल्ने क्रममा प्रदीपको एङकलमा चोट लागेको थियो, जसका कारण उनी दुई हप्ता मैदान बाहिर थिए। चोटकै कारण श्रीलंकामा खेलिएको ५ मध्ये १ अभ्यास खेलमा मात्र उनी सहभागी थिए। अविनाश कर्णले पहिलो रोजाइमा खेल्ने लगभग पक्का छ। दुइ महिना अघि मलेसियामा एसिसी यु–१९ इलिट कपमा कीर्तिमानी २४ विकेट लिएका अविनाश राष्ट्रिय टोलीबाट 'डेब्यु' को पर्खाइमा छन्।
शक्ति गौचन, वसन्त रेग्मी र राहुल विकपछि थप अर्को स्पिनर खेलाउने वा सिमर राख्नेबारे नेपाली टोलीले अन्तिम निर्णय लिन बाँकी छ। स्पिनर राखे सागर पुन र सिमर खेलाए चन्द्र साउदले स्थान पाउने छन्। सागरले श्रीलंका यु–२३ टोलीसँगको तेस्रो अभ्यास खेलमा ६ विकेट लिएका थिए। सो खेल नेपालले ३ रनले गुमाएको थियो। तीन स्पिनरमात्र खेलाए राहुलको स्थानमा सागर खेलाउने विकल्प पनि नेपाली टोली राखेको छ।
पराजयक्रम तोड्ने अवसर
प्रतियोगितालाई नेपालको तयारी राम्रो भएको पारस बताउँछन्। 'श्रीलंकामा नतिजा नराम्रो भए पनि हाम्रो तयारी राम्रो भयो। सवै खेलाडीले राम्रो एक्सपोजर पाए,' पारसले सिंगापुरको पिचमा अनभिज्ञता जनाए। नेपालले शुक्रबार इन्डियन एसोसिएसन मैदानमा अभ्यास गरेको थियो। नेपालले शनिबार पहिलो खेल अफगानिस्तानसँग सिंगापुर क्रिकेट मैदानमा खेल्ने छ।
२००२ मा सिगापुरमा भएको एसिसी ट्रफीको चौथो संस्करणमा नेपाल फाइनल पुगेको थियो। त्यतिखेरका शक्ति गौचनमात्र वर्तमान नेपाली टोलीमा छन्।
अफगानिस्तानलाई हराउने नेपालसँग राम्रो अवसर भएको बताउदै पारसले भने, 'उनीहरु बलियो टोली हुन्, त्यो हामीले बुझेका छौं। उनीहरु विश्वकपको नजिक पुगिसकेका छन्। हामी पनि एकदिवसीय पाउने लक्ष्य साथ अघि बढिरहेका हौं, त्यसैले यस्तो मौकाको सदुपयोग गर्न सक्नु पर्छ।'
नागरिक राष्ट्रिय दैनिकमा भदौ १ गते प्रकासित


No comments:

Post a Comment