Wednesday, August 7, 2013

एक्सपोजरले महिला क्रिकेटमा परिवर्तनको आशा

महिला राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन ओरालोलाग्दो स्थितिमा छ। जनवरीमा थाइल्यान्डमा सम्पन्न एसिसी महिला च्याम्पियनसिप उपाधिमा मात्र सीमित थिएन। विजेता टोली विश्वकप छनोटको अन्तिम दौडमा उभिन्थ्यो। नेपालको उद्देश्य पनि विजेता बन्नु नै थियो। पराजयका लागि कुनै स्थान थिएन, विशेष गरी नेपालको हकमा।
आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता कहिले हुने निश्चित नहुँदा वर्षमा एकपल्ट हुने राष्ट्रिय प्रतियोगिता खेलेकै भरमा निरन्तर खेलिरहने आधार धेरै खेलाडीसँग थिएन। दुर्भाग्य, थाइल्यान्डमा नेपाल सेमिफाइनलमै रोकियो। नेपाललाई हराएको थाइल्यान्डले उपाधि जित्दै ठूलो फड्को मार्‍यो। 
रुबिना क्षेत्री र रोशनी बोहरा । तस्विरः चन्द्रशेखर कार्की/नागरिक


कप्तान रुबिना क्षेत्रीकै भनाइमा पराजयपछि नेपाल एक भर्‍याङ तल झरेजस्तै भयो। 'एउटा खेलाडीको उद्देश्य नै विश्वकप खेल्नु हो। हामीसँग विश्वकपमा पुग्ने सिधा बाटो पनि थियो। सजिलै खेल हातबाट जाँदा प्रतियोगिता नभई खेलजीवन नै सकिएजस्तो लाग्यो,' यसको कारण देखाउदै रुबिना भन्छिन्, 'अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता कहिले खेल्ने निश्चित छैन, अनि के भनेर खेलिरहने।'
रुबिना र अर्की खेलाडी रोशनी बोहरा श्रीलंकामा क्लब क्रिकेट खेल्न जाने खबरसँगै अहिले नेपाली महिला क्रिकेट तरंगित भएको छ। उनीहरू सँगै थाइल्यान्डकी कप्तान सोर्नारिन टिपोच र नटाया बुचाथामलाई एसियाली क्रिकेट परिषद् (एसिसी) ले श्रीलंकामा खेल्ने व्यवस्था मिलाइदिएको हो। रुबिना र रोशनीले श्रीलंकाको डिभिजन १ मा पालिन्क (पालिएन्स) स्पोर्टस क्लबबाट खेल्ने छन्। डिभिजन १ श्रीलंकाको महिला लिग हो। लिगमा ५० ओभरका खेल खेलिनेछ। प्रतियोगिता नियमानुसार एउटा टोलीले दुई विदेशी खेलाउन पाउने हुनाले नेपाल र थाइल्यान्डका खेलाडीले पालैपालो खेल्ने एसिसीले जनाएको छ। उनीहरूले एक महिना कोलम्बो टोलीबाट खेल्नेछन्।
एसिसी च्याम्पियनसिपको प्रर्दशनका साथै टोलीमा प्रेरणा दिनसक्ने आधारमा खेलाडी छानेको भनाइ एसिसीको छ। श्रीलंका खेल्न जाने खबर आफूहरूलाई खुसीभन्दा पनि स्तब्धखाले भएको बताउँदै रुबिनाले भनिन्, 'नेपाली महिला खेलाडीले पनि लिग खेल्छन् भनेर कसले सोचेको थियो र १ त्यो पनि यति छिटो र यति सहजसँग।'
नेपालबाट रुबिनाले एसिसी च्याम्पियनसिपमा सर्वाधिक ९ विकेट लिएकी थिइन्। उनको औसत ७.११ र इकोनोमी २.३७ थियो। उनले ६ खेलमा १५ रन बनाइन्। रोशनीले ५ खेलमा २९ रन जोडेकी थिई। श्रीलंकामा खेल्न खबर आउँदा आफैले विश्वास नगरेको रोशनी बताउँछिन्। प्रशिक्षक पुबुदु दासानायकेले रोशनीको खेल्ने शैली मन पराए। कभर ड्राइभ र स्क्वायर लेगमा उनी पुरुष खेलाडीले जस्तै ब्याटिङ गर्छिन्। मिडियम पेस बलिङमा 'निक' लाग्ने उनको कमजोरी हो।
गत वर्ष पोखरामा राष्ट्रिय प्रतियोगिता खेल्दा रोशनी प्लेयर अफ द सिरिज बनेकी थिइन्। थाइल्यान्डमा उनको प्रदर्शन श्रीलंकाली लिग खेल्न नै बोलाउने खाले नभएको बुझेकी रोशनीले भनिन्, 'भोलिका दिनमा मलाई यस्तो अफर आयो भने टेक्निकसहित विगतकै प्रदर्शनका आधारमा बोलाउने बातावरण बनाउन खोज्दैछु। आफ्नो प्रदर्शन सुधार्न श्रीलंकामा मैले सिक्नुपर्ने धेरै नै छन्।' कञ्चनपुरकी २२ वर्षे उनी गृहनगरमा हुँदा उनी दिनहुँजसो अभ्यास गर्थिन्। पछिल्लो दुई वर्ष उनी पढ्न पोखरामा छिन्। पोखरामा उनलाई खेल्ने खासै वातावरण मिलेको छैन। शनिबार र छुट्टीको दिनमात्र अभ्यास गर्छिन्।
टिभीमा श्रीलंकाको खेल हेरेकाले रुबिनालाई कोलम्बो गएर खेल्न सकिने आँट छ। सजिलो नहुने पनि बुझेकी छन्। 'श्रीलंकाको क्रिकेट संस्कार राम्रो छ। त्यही हुँदा प्रदर्शन राम्रो हुन्छ। नेपालमा महिला क्रिकेटमा खासै केही छैन। माथि आउन समय लाग्छ,' श्रीलंकामा खेल्न सकिने आँट देखाउदै रुबिना भन्छिन्, 'श्रीलंकाको टोलीमा त्यस्तो डर नै मान्नुपर्ने बलर देखिएको छैन। हाल हामी एफिएफ क्लबमा अभ्यास गरिरहेका छौं। पुरुष खेलाडीकै बलिङमा राम्रो खेलेका छौं। उनीहरूको बलिङमा अलि अलि डर त लाग्छ, तर मुखैमा आएको बल पनि खेल्छौं। यहाँको अभ्यासले श्रीलंका खेल्न सकिन्छ सकिँदैन हेर्न बाँकी छ।' गत वर्ष चीनको ग्वाङ्झाउमा सम्पन्न एसिसी एसिया कपमा रुबिनाले श्रीलंकाविरुद्ध नै ४ विकेट लिएकी थिइन्।
श्रीलंकामा गएर खेल्न पाउनुलाई रुबिना विश्वकपसरह मान्छिन्। 'हामीले अहिलेसम्म ५० ओभर खेलेका छैनन्, त्यसैले यो विश्वकपजस्तै हो हामीलाई। नेपालमा पनि महिला क्रिकेट ५० ओभरमा खेलाउन सकिन्छ,' अहिलेसम्म नभएकोमा आश्चर्य जनाउँदै रुबिनाले भनिन्, 'अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा २०–२५ ओभरअनुसार तयारी गरिन्छ। अभ्यासमा समेत ५० ओभर खेलाइँदैन। त्यही भएर नेपाली क्रिकेट दबिएको होला। अब ५० ओभर जरुरी भइसकेको छ।'
नेपाली महिला क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा सन् २००७ मा मलेसियाबाट सुरु भएको हो। पहिलो प्रयासमै नेपाल फाइनल पुग्यो। नेपाल बंगलादेशसँग फाइनलमा हार्‍यो। बंगलादेश त्यसयता एकदिवसीय टोली भइसकेको छ। नेपाल भने त्यसपछि तीन प्रतियोगितामा सेमिफाइनलमै अल्भि्कएको छ। नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितापछि रोशनी र रुबिना मैदानमा देखिएका हुन्। रोशनीले २००८ मा थाइल्यान्डमा एसिसी यु–१९ कप र रुबिनाले २००९ मा सोझै राष्ट्रिय टोलीबाटै मलेसियामै प्रतिस्पर्धा गरेका थिए।
उनीहरू नेपाली महिला क्रिकेट माथि नजानुको पहिलो कारण नेपालमा कुनै अन्तर्राष्ट्रिय प्रतियोगितालाई मान्छन्। घरेलु मैदानमा हुँदा जित्ने सम्भावना हुन्छ। एकपल्ट उपाधि जितेपछि खेलाडीको मनोबल नै परिवर्तन हुने उनीहरूको बुझाइ छ। नेपालले महिलामा एउटै अन्तर्राष्ट्रिय प्रतियोगिता गरेको छैन।
श्रीलंकाको एक्सपोजरले केही परिवर्तन आउने उनीहरूको आशा छ। 'खेलाडीहरूले एक्सपोजर नपाउँदा नेपालको पुरुष टोलीले पनि खासै नतिजा दिन सकेको थिएन। सिनियर खेलाडीहरू शक्ति गौचन, पारस खड्काले विदेशमा गएर खेलेर आएपछि नेपालले अहिले एकपछि अर्को उपाधि जितेको छ,' रुबिना र रोशनी एकै स्वरमा भन्छन्, 'महिला खेलाडीले पनि विदेशमा खेल्ने अवसर मिलेको छ। अब अरु साथीहरूले पनि एक्सपोजर पाउने हो भने नतिजा फरक हुन सक्छ।'

नागरिक राष्ट्रिय दैनिकमा २०७० साउन २३ गते प्रकासित

No comments:

Post a Comment