Friday, August 16, 2013

स्पिनमा बढदो आशा

श्रीलंका यु–२३ क्रिकेट टोलीसँगको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेटर सागर पुनले ६ विकेट लिए। सिंगापुरमा शनिबार सुरु हुने एसिसी इमर्जिङ टिम्स कपको तयारीलाई श्रीलंकामा खेलिएका ५ अभ्यास खेलमा नेपाली खेलाडीको यो सकरात्मक पक्ष थियो।
नेपालले श्रीलंकाको यु–२३ टोलीसँग ४ अभ्यास खेल खेलेको थियो। श्रीलंकाको टोलीमा टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी–२० अन्तर्राष्ट्रियसहित सवै प्रथम श्रेणी खेलिसकेका खेलाडी थिए। तेस्रो खेलमा ३ रनको हार बाहेक नेपाल बाँकी तीन खेलमा सजिलै पराजित भयो। सागरले त्यही तेस्रो खेलमा ६ विकेट लिए।
राहुल विक भारतका पूर्व स्पिनर वैंकटपथी राजुका साथ । तस्विरः रमन सिवाकोटी/क्यान

भारतीय पूर्व स्पिनर वैंकटपथी राजुसँग विशेष प्रशिक्षण लिएको भोली पल्ट सागरले यस्तो प्रदर्शन गरेका थिए। राजुसँगको पहिलो सिकाइबाटै त्यो प्रदर्शन संयोगमात्र हुन सक्छ। तर, यसले नेपाली स्पिनरहरुबाट आगामी दिनमा झन उच्च प्रदर्शन आश गर्न सकिन्छ।
राजुसँग व्यक्तिगत रुपमा धेरै सिकेको सागर बताउछन्। 'बलिङ एक्सन, एयरमा फ्याकिने स्पिड बलका प्रकार, स्पिन विकेटमा फाल्ने तथा टर्न नहुने विकेटमा के गर्ने भनेर सिक्न पाइयो,' अफ स्पिनर सागरले भने, 'टर्न नहुने विकेटमा स्पिड भेरियसन गर्नु पर्छ भन्दै विकेटमा ताकेर बलिङ गर्न सिकाउनु भयो।'
एसियाली क्रिकेट परिषद (एसिसी) बाट राजु र श्रीलंकाका पूर्व तीब्र बलर रुमेश रत्नायके नेपाली टोलीलाई सिकाउन श्रीलंका खटिएका थिए। दुवै एसिसीका डेभलपमेन्ट अफिसर हुन्। टोलीले दुई हप्ता श्रीलंकामा विताउँदा पछिल्लो साता नेपाली स्पिनरले भारतबाट २८ टेस्ट र ५३ एकदिवसीय खेलेका राजुबाट तिखारिने मौका पाए। सागरसहित शक्ति गौचन, वसन्त रेग्मी र राहुल विकलाई राजुले स्पिनको कला सिकाए। शक्तिले राजुसँग बलिङ एक्सन देखि बल फाल्ने प्रकारका बारे सिकेको बताए।
'स्पिड नियन्त्रण कसरी गर्ने, बलिङका लागि जिउ कसरी चलाउने विषयमा हामीले सिक्यौं। उनी जस्ता खेलाडीसँग सिक्न पाउनु ठूलो उपलब्धि हो। मेरो स्लो एक्सन भए पनि राम्रो भन्दै त्यसलाई गति दिन उनले सुझाए,' देव्रेहाते स्पिनर राहुलले भने। यसअघि चकिङको आरोप लागेका राहुललाई राजुको यो टिप्स अझै विशेष हुने खेलाडीहरुको बुझाई छ।
वसन्त रेग्मी र राजु

माघमा राष्ट्रिय प्रतियोगिता दौरान नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेले ब्याट्सम्यानको बढि भूमिकामा रहेका सागरलाई अलराउन्डर बनाउने योजनासाथ बलिङमा पनि केन्द्रित हुन भनेका थिए। त्यसयता बलिङ अलराउन्डर बनेका कारण सागर पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए। यसै वर्ष काठमाडौंमै भएको एसिसी ट्वान्टी–२० कपमा नेपाली राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका सागर अहिले पनि बलिङकै आडमा श्रीलंका हुँदैं सिंगापुर पुगेका हुन्।
नेपाली क्रिकेटमा स्पिनरकै दबदबा छ। वसन्तले गत वर्ष मलेसियामा भएको विश्व क्रिकेट लिग डिभिजन ४ मा कीर्तिमानी २१ विकेट लिएका थिए। लगत्तै शक्तिले एसिसी ट्रफी इलिट कपमा सर्वाधिक १५ विकेट लिए। राजुसँगको सिकाइपछि आफूहरुमा पनि जोश थपिएको सागर र राहुलको अनुभव छ।
नागरिक राष्ट्रिय दैनिकमा २०७० साउन ३२ गते प्रकासित

No comments:

Post a Comment