Thursday, August 8, 2013

अमेरिकामा चम्कँदै सागर

एक समय सागर पन्त नेपाली क्रिकेटको ठुलो आशा थिए। कलात्मक ब्याटिङका साथै विकेटकिपिङ सागरका विशेषता हुन्। यसैको उपयोग गर्दै सागरले एभरेष्ट क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब हुँदैं काठमाडौं जिल्ला र क्षेत्रका साथै उमेर समूहमा नेपाली टोलीको प्रतिनिधित्व गरे। सन् २००१ देखि २००४ नेपाली क्रिकेट विशेष गरी युवामा पाएको अन्तर्राष्ट्रिय सफलताका कारण उत्कर्षमा थियो। सागर पनि यसको एक हिस्सा थिए।
सागरले पहिलो पटक सन् २००० मा नेपाली यु–१७ टोलीमा परेका थिए। पाकिस्तान भ्रमणमा उनले कुवेत र बंगलादेशविरुद्ध खेलेका थिए। उनकै कप्तानीमा नेपाली यु–१९ टोलीले भारत भ्रमणमा लुधियाना, पञ्जाबमा खेलेको थियो। सिंगापुरविरुद्ध विजय पाउँदा उनले ४२ बलमा अविजित ५८ रन बनाएका थिए। बंगलादेश र भारतसँग खेल नेपालले हारेको थियो। 

काठमाडौं क्लयासका लागि भारतीय यु–१९ टोली २००३ मा आउदा सागरले नेपालको प्रतिनिधित्व गरे। भारतसँगको तेस्रो तथा अन्तिम खेलमा उनले कनिष्क चौंगाईसँग पहिलो विकेटमा ७५ रन जोडेका थिए। त्यसमा सागरको योगदान २२ रनको थियो। अम्बती रायडु, सुरेश रैना, दीनेश कार्तीक, भिआरभी सिंह, मनभिन्दर बिस्ला जस्ता खेलाडीहरु रहेको भारतीय टोलीविरुद्ध विजयको नजिक पुग्नुको मुख्य कारण नै सागर र कनिष्कको पहिलो विकेटको साझेदारी थियो। खुलेर खेलिरहेका सागरले नै रायडुको क्याच लिएर नेपालको आशा जगाएका थिए।
२००३ मै विश्वको सवैभन्दा पुरानो मेरिलेबोन क्रिकेट क्लब नेपाल आउँदा सागरले आफ्नो जीवनमा सवैभन्दा ठुलो प्रशंसा पाए। इङ्लिस टोलीबाट खेलिरहेका विश्वकप विजेता पाकिस्तानी अलराउन्डर इक्बाल सिकन्दरको गुगली बलमा चौका प्रहार गरेपछि उनले सागरको खुलेर प्रशंसा गरे। सार्क एयरलाइन्स कपमा उनले नेपाल बायुसेवा निगमबाट खेल्दै भारतीय टोलीका मुनाफ पटेल, विजय भारद्धवाज, डोडा गणेश र सुनिल जोशीविरुद्ध खेले।
प्रतिभावन क्रिकेट खेलाडीहरु उच्च शिक्षाका लागि विदेसिने क्रम यहीक्रममा सुरु भयो। अनुनय बस्नेत, बरदान चालिसे, मुनिक श्रेष्ठ, कनिष्क चौंगाई जस्ता खेलाडी अमेरिका हानिए। सागर पनि त्यही सुचिमा परे। अन्य खेलाडीले जस्तै सागरले अमेरिका गएर क्रिकेटलाई निरन्तरता दिए। ओपनिङ ब्याट्सम्यानको रुपमा उनले लस एन्जल्सको प्रिमियर डिभिजन लिगमा साउथ क्यालिफोर्निया, डालास र नर्थ टेक्सासबाट खेले।
राम्रो प्रदर्शनसँगै उनी नर्थ टेक्सास रिजनमा छनोट हुने कनिष्क चौंगाइपछिको पहिलो नेपाली खेलाडी बने। सागरले सेन्ट्रल वेस्ट रिजन प्रतियोगितामा कोलोराडोविरुद्ध ९० रन बनाएका थिए। अहिले उनी नर्थ टेक्सास लिगमा डालास काउन्टी क्रिकेट क्लबबाट बरदान चालिसे र राकेश कर्णसँगैं खेल्छन्। डालासमा रहेका अन्य खेलाडीमा पाकिस्तानका पूर्व ब्याट्सम्यान असिफ मुजताबा, अमेरिकी राष्ट्रिय टोलीका खेलाडीहरु जिग्नेश देशाई, ओर्लान्डो बेकर, राहुल कुकरेटी छन्।
सागरले १० खेलमा १ सतक र १ अर्धसतकका साथ ३ सय ८१ रन बनाइसकेका छन्, जसमा औषत ४२.३३ छ। कनिष्क चौंगाई, अनुनय बस्नेत, वेस्ट इन्डिजका पूर्व तीब्र बलर फ््रयाङक्लिन रोज, अमेरिकी खेलाडीहरु इलमोर हुचिनसन, ओर्लान्डो बेकर, आदित्य त्यागराजन जस्ता खेलाडीहरुसँग क्यारिबियन क्रिकेट क्लबबाट साउथ क्यालिफोर्निया क्रिकेट लिगमा तीन सिजन खेले। उनले त्यहाँ ३ अर्धसतकका साथ ११ खेलमा ३२.५५ को औषतमा ३ सय ५५ रन बनाए।
सागर यस्तो ठाँउमा पुगेका छन्, जहाँबाट अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्ने कल्पना गर्न सकिन्छ। तर उनको नेपालबाट खेल्ने इच्छा अझै पुगेका छैन्।
शुक्रबार साप्ताहिकमा २०७० साउन २४ गते प्रकासित


No comments:

Post a Comment