Friday, August 16, 2013

शिरीषको छायाँमा क्लब च्याम्पियनसिप

काठमाडौं, साउन ३१– 'नेपाली पौडीमा हरेक प्रतियोगिता शिरीष गुरुङका लागि गरिएको जस्तै हुन्छ' पौडीमा यो भनाइ स्थापित हुदैछ। पहिलो पटक गरिएको अन्तरक्लब पौडी च्याम्पियनसिप पनि युवा पौडीबाज शिरीषको छायाँ भन्दा बाहिर रहेन्।
अघिल्लो दिन चार स्वर्ण जितेका शिरीषले बिहीबार अर्को चार स्वर्ण थप्दै सहभागी सबै इभेन्टमा रवाफ जमाए। शिरीषले २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३९.०६ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए। प्रतियोगितामा बनेको यही एक राष्ट्रिय कीर्तिमान थियो। गत वर्ष असोजमा भएको दोस्रो एनएसए प्रतियोगितामा २ मिनेट ४३.१० सेकेन्डको आफ्नै कीर्तिमान उनले सुधारेका हुन्। राष्ट्रिय कीर्तिमानका लागि शिरीषलाई नेपाल पौडी संघले नगद ५ हजार प्रदान गरेको थियो।
शिरीष गुरुङ । तस्विरः विकास कार्की/नागरिक

अघिल्लो दिन १ सय मिटर ब्याकस्ट्रोक, १ सय मिटर फ्रिस्टाइल, २ सय मिटर बटरफ्लाई र ४ सय मिटर फिस्टाइलमा स्वर्ण जितेका नेपाल पुलिस क्लबका शिरीषले बिहीबार २ सय मिटर ब्याकस्ट्रोक, २ सय मिटर फ्रिस्टाइल, २ सय मिटर इन्डिभिजुल मिडले र १ सय मिटर फ्लाईमा पहिलो भए। १ सय मिटर फ्रिस्टाइल र १ सय मिटर ब्याकस्ट्रोकमा थोरै डर भएको बताउँने उनले त्यसमा पनि प्रतिद्वन्द्वीलाई अवसर दिएनन्।
शिरीषको लक्ष्य
पाँच दिनअघिमात्र १५औं जन्मदिन मनाएका शिरीषको नाममा ६ राष्ट्रिय कीर्तिमान छ। आफू सहभागि बाँकी दुई इभेन्टमा पनि राष्ट्रिय कीर्तिमान बनाउने उनको लक्ष्य छ। 'अब हुने अर्को प्रतियोगितामा बाँकी दुई इभेन्ट्समा राष्ट्रिय कीर्तिमान बनाउछु जस्तो लागेको छ,' शिरीषले भने।
१ सय मिटर फ्रिस्टाइल र १ सय मिटर बटरफ्लाई शिरीषले राष्ट्रिय कीर्तिमान बनाउन बाँकी दुई इभेन्ट हुन्। १ सय मिटरमा ५८ सेकेन्ड र १ सय मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमानको समय १ मिनेट ३.४३ सेकेन्ड छ। दुवै आनन्द लेप्चाको झन्डै २५ वर्ष पूरानो कीर्तिमान हो। शिरीषले १ सय मिटर बटरफ्लाईमा १ मिनेट ८.१० सेकेन्ड र १ सय मिटरमा १ मिनेटको समय निकाल्दै स्वर्ण जितेका थिए।
शिरीषको अर्को लक्ष्य दक्षिण एसियाली खेलकुदमा पदक जित्नु हो। 'नेपालमा हिटिङ सिस्टम नभएकाले १२ महिना प्रशिक्षण गर्न पाउदैनौं। त्यही भएर गाह्रो छ, तर मेहनत गर्ने हो भने सम्भावना छ,' शिरीष आशाबादी छन्। लामो दुरीका खेलाडी भएकाले शिरीषको २ सय, ४ सय र १५ सय मिटर फ्रिस्टाइल मध्ये एकमा केन्द्रित भएर पदक जित्ने लक्ष्य छ।
क्लब च्याम्पियनसिपको सुरुआत
पहिलो पटक गर्दा केही कमजोरी भए पनि क्लब च्याम्पियनसिपको सुरुआतले पौडीमा व्यावसायीक जग बसाल्न ठूलो भूमिका खेल्ने पौडी संघका महासचिव जगतमान श्रेष्ठले बताए। 'क्लब प्रतियोगिता नभई कुनै पनि खेल विकास हुँदैन्। त्यसैले हामीले सुरुआत गरेका हौं,' श्रेष्ठले भने, 'पहिलो प्रयास गर्दा नै क्लबहरु खेलाडी तान्न लागे। खेल्ने क्लबबाट नियमीत अभ्यास गर्न पाउछन्। यसलाई व्यावसायीकताको संकेतका रुपमा लिनु पर्छ।'
उपाधि जितेको धुम्बाराही स्वीमिङ क्लब टोली

धुम्बाराही स्वीमिङ क्लबले २ सय १४ अंक ल्याउदै च्याम्पियनसिपको उपाधि उचाल्यो। त्रिभुवन आर्मी क्लब १ सय ७४ र ललितकृष्ण मेरी गोल्ड क्लब १ सय ३९ अंक बटुल्दै दोस्रो र तेस्रो भए। स्वर्णलाई ९, रजतलाई ७ र काँस्य पदकलाई ६ अंक तथा त्यो मुनिकालाई त्यही अनुरुप क्रमश १/१ अंक कम दिने प्रावधान थियो।
धुम्बाराहीले १० स्वर्ण जित्यो। क्लबलाई विजयी बनाउन ओशिना भारतीले ६ स्वर्ण जितिन्। उनले अघिल्लो दिन ३ स्वर्ण र १ रजत पदक जितेकी थिइन्। आयोजनाको पक्षमा केही कमजोरी देखेका धुम्बाराहीका अध्यक्ष राजेन्द्र प्रजापतीले च्याम्पियनसिपलाई सकारात्मक रुपमा लिए। उनले भने, 'हामी कुनै प्रतियोगितामा सहभागी भएको यो पहिलो हो। आफै खेलाडी उत्पादन गरेर यो नतिजा ल्याएका हौं। अझै नयाँ खेलाडी उत्पादन भइरहेका छन्, अवको प्रतियोगितामा नयाँलाई पनि अवसर दिन्छौं।'
धुम्बाराहीको मुख्य आशा मिराज प्रजापतीमा थियो। भर्खरै स्पेनको बार्सिलोनामा विश्व च्याम्पियनसिप खेलेर आएका मिराजले क्लब च्याम्पियनसिपमा स्वर्ण जित्न सकेनन्। अस्वस्थताका कारण मिराजले राम्रो नतिजा निकाल्न नसकेको अध्यक्ष प्रजापतीले बताए। छोरा मिराज बाहेक राजेन्द्रकी श्रीमती मिनासिंह पनि प्रतियोगितामा सहभागि थिइन।
प्रशिक्षक इश्वर कार्कीले अन्य प्रतियोगिता भन्दा क्लब च्याम्पियनसिप फरक भएको बताए। 'पौडीमा प्राय स्कुल र कलेजका प्रतियोगिता हुन्थे, त्यसमा सहभागि टोली र खेलाडी बढी हुन्थ्यो,' कार्कीले भने, 'क्लब च्याम्पियनसिपमा उमेर समूहका खेलाडी कम हुन्छन्। आफूले जित्ने सम्भावना नभएपछि कम उमेरका खेलाडी खेल्दैनन्।' यसपाली नै खेलाडीले क्लबबाट पारिश्रमिक र खेल सामाग्री पाएकाले आगामी क्लब च्याम्पियनसिपमा खेलाडी शंख्या बढ्ने उनले विश्वास व्यक्त गरे।
शिरीष गत वर्ष देखि पुलिसमा आवद्ध भएका हुन्। 'आफूलाई भन्दा क्लबलाई जिताउन' का लागि खेलिएकाले शिरीषलाई क्लब च्याम्पियनसिप अनौठो लाग्यो। उनी प्रतियोगितामा सहभागी हुने पुलिसका एक्लो खेलाडी थिए। शिरीषले ८ स्वर्ण जिते पनि पुलिस पहिलो तीन स्थानमा थिएन्। क्लब च्याम्पियनसिपबारे शिरीषको अनुभव थियो, 'पहिला पौडी भनेको सवै एकै समूहका जस्तो जस्तो देखिन्थ्यो,। अहिले सवै क्लबको परिवार छुट्टै जस्तो लाग्यो, सवै आ–आफ्नै टोलीलाई जिताउन खोज्थे।'
नागरिक राष्ट्रिय दैनिकमा २०७० साउन ३२ गते प्रकासित


No comments:

Post a Comment