Tuesday, November 12, 2013

पूर्वकप्तानहरूको विश्वकपमा छनोट हुने विश्वास

विश्व ट्वान्टी–२० छनोटमा सहभागिता जनाउन नेपाली टोली युएई पुगिसकेको छ। शुक्रबार सुरु हुने १६ राष्ट्र सम्मिलित प्रतियोगिताका शीर्ष ६ टोलीले अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा भाग लिन पाउने छन्। नेपाली टोलीको लक्ष्य ट्वान्टी–२० विश्वकपमा छनोट हुनु हो।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानहरूको वर्तमान टोलीमाथि कस्तो अपेक्षा छ? नेपाली टोली विश्वकपमा छनोट हुन्छ? उनीहरू नेपाली टोलीको कमजोरी के देख्छन्। खेलाडीको व्यक्तिगत प्रदर्शनलाई कसरी हेरेका छन्। प्रशिक्षक र नेपाल क्रिकेट संघको भूमिकाका कस्तो देख्छन्? आदि विषयमा पूर्वकप्तानहरूको विचार : 
नेपाली टोलीका पूर्व कप्तानहरु माथी देब्रेबाट उत्तम कर्माचार्य, राजु खड्का, एलबी क्षेत्री, पवन अग्रवाल र विनोद दास। साथमा विश्व ट्वान्टी–२० छनोटको लोगो

उत्तम कर्माचार्य
अहिलेको टिम र टिमको प्रदर्शन तथा क्रिकेट संघको लगानी हेर्दा नेपाल विश्वकपमा पुग्छ जस्तो लागेको छ। पछिल्ला समयहरूमा खेलिरहेकाले हाम्रो टोली अनूभवी भएको छ। हाम्रो पहिलो लक्ष्य शीर्ष ६ हो, त्यो भन्दा माथि पुगे अझ राम्रो। पूरा प्रशिक्षण भएकाले खासै कमजोरी देखिएन। अहिलेको परिपे्रक्ष्यमा फिल्डिङ अलि कमजोर हुनसक्छ। २–३ जना पुरा नयाँ खेलाडी छन्, २–३ जना पुराना भएकाले फिल्डिङमा शंका लागेको हो। व्यक्तिगत प्रदर्शन निकै राम्रो छ। कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको प्रदर्शन राम्रो छ। शरद भेषावकरको वर्तमानमा अलि प्रदर्शन देखिएको छैन, तर अनुभवी भएको हिसाबमा उसले राम्रो खेल्छन् भन्ने विश्वास छ। बलिङ हाम्रो बलियो छ। नयाँ भए पनि जितेन्द्र मुखिया तिखारिएका छन्। प्रशिक्षकको भूमिका ठूलो छ अहिलेको टोलीमा। उनले खेलाडीको खानपिनदेखि मनोविज्ञानसम्म बुझ्ने गरेका छन्। अरु टोलीबारे पनि उनी राम्रो ज्ञान राख्छन्।

एलबी क्षेत्री
अहिलेसम्म खेलाडी र प्रशिक्षकको विचार, प्रशिक्षण हेर्दा खेलाडीको मनोबल उच्च छ। निजी क्षेत्रका कम्पनीले जुन हिसाबमा नेपाली टोलीको बिदाइ गरे, त्यसले खेलाडीको मनोबल अझ उच्च पारेको हुनुपर्छ। प्रतिभा र क्षमतावान खेलाडीलाई यस खाले बिदाइले ठूलो प्रभाव पार्छ। कप्तान पारस खड्काको प्रदर्शन निकै सराहनीय छ। उनी आफै प्रदर्शन गरेर अरु खेलाडीलाई उत्साहित बनाउँछन्। कप्तानका रूपमा पनि उनी आक्रामक छन्। सोझै रूपमा नभए पनि प्रतियोगिताको जुन विकल्प छन्, त्यहाँबाट भए पनि नेपाल ट्वान्टी–२० विश्वकपलाई छानिने छ। खेलाडीको क्षमताका आधारमा नै नेपाल विश्वकपमा पुग्छ, क्रिकेट संघको व्यवस्थापनको हिसाबमा होइन। दिल्ली भ्रमणमा क्रिकेट संघले बलियो टोली बनाउन नसके पनि खेलाडीमा यो आत्मविश्वास देखिनु हाम्रो प्लस प्वाइन्ट हो। खेलाडीको प्रदर्शन राम्रो हुनेछ। पारससहित ज्ञानेन्द्र, अनिल मण्डल र सुवास खकुरेल राम्रो फर्ममा छन्। उनीहरूले ५–७ ओभर राम्रो ब्याटिङ गरे भने नेपाल बलियो हुनेछ। अमृत भट्टराईले पुनरागमन गर्नु र सागर पुनलाई अफ स्पिनरमा पाउँदा टोली बलियो देखिएको छ। महेश क्षेत्री पनि राम्रो क्षमता भएका खेलाडी हुन्, उनले अवसर पाए त्यो प्रमाणित गर्नेछन्। प्रशिक्षक पुबुदु दासानायकेमाथि खेलाडीको पूरा भरोसा छ, प्रशिक्षककै कारण नेपाली क्रिकेटमा धेरै परिवर्तन आएको छ।

पवन अग्रवाल
शीर्ष ६ मा पुगेर विश्वकपमा पुग्न सक्छ भन्ने आशा छ। प्रतियोगिता नै जित्न धेरै नै राम्रो खेल्नुपर्छ। यो टोली हुन्जेल नेपालको प्रदर्शन राम्रो हुन्छ, तर लामो सयमका लागि हेर्ने हो भने अहिलेको सेटलाई रिप्लेस गर्ने खेलाडी हामीसँग छैनन्। कप्तान पारस, ज्ञानेन्द्र तथा ओपनर सुवास र प्रदीप ऐरीमा नेपाली टोली धेरै निर्भर गर्छ। मुख्य पक्ष भनेको हाम्रो ब्याटिङ हो। त्यसैले नियमित रूपमा यी चार ब्याट्सम्यान जम्नुपर्छ। बलिङ र फिल्डिङ हाम्रो ठीक छ। पछिल्लो दुई वर्षमा आएको प्रदर्शनले प्रशिक्षकको भूमिका स्पष्ट हुन्छ। पुबुदु दासानायकेले आफूलाई प्रशिक्षकको भूमिकामात्र सीमित राखेका छैनन्। नेपाली क्रिकेट हितका लागि आफ्नो सबै व्यक्तिगत सम्बन्धहरू पूर्ण प्रयोग गरेका छन्। यो प्रतियोगिताको निकै प्रतिस्पर्धात्मक हुनेछ। सबैले उत्तिकै राम्रो तयारी गरेका छन्। केही टोली हामीभन्दा निकै माथि छन्। २ वर्षअघि जस्तो एडभान्टेज हामीसँग छैन। पछिल्लोपल्ट यो प्रतियोगिता खेल्दा नेपाललाई कसैले खासै ध्यान दिएका थिएनन्। तर हामी त्यतिखेर सातौं भएपछि तथा पछिल्ला सफलताहरूले नेपाललाई अरु सबै टोलीले लक्षित गरेका बसेका छन्।

राजु खड्का
अहिले जुन किसिमको प्रशिक्षण र मेहनत छ, त्यो अहिलेसम्मकै उत्कृष्ट हो। केही समयअघि मैले प्रशिक्षण हेरेको थिएँ, पहिलोपल्ट साँच्चै राष्ट्रिय टोलीकै प्रशिक्षणजस्तो लाग्यो। एउटा ब्याट्सम्यान १ घन्टासम्म नेटमा प्रशिक्षण गरिरहेको देख्छु। फिजियो, टेक्निकल एनालिस्ट छ टोलीमा। १० वर्षअघि यस्तो प्रशिक्षण पाएको भए हाम्रो टोली अहिले धेरै माथि हुन्थ्यो। प्रशिक्षकका योजनाहरू निकै राम्रो देखँे। खेलाडीहरूले अहिले सानोतिनो भए पनि सुविधाहरू पाइरहेका छन्। यसले नेपाल विश्वकप पुग्छ भन्ने आशा देखाएको छ। अरु टोलीको तयारीबारे थाहा छैन, तर नेपाल शीर्ष ६ मा पुग्छ। सबै टोलीलाई राम्रो चुनौती तेर्स्याउने छ। पारस उत्कृष्ट फर्ममा छन्। कप्तान भएपछि उनी निकै सिरियस खेलिरहेका छन्। एक्लै अभ्यास गरिरहेको भेटिन्छन् उनी। विश्वकपमा पुग्ने यो अवसर गुमाउनु हुन्न भन्ने मनासायमा देखिन्छन्, पारस। ज्ञानेन्द्रको ब्याटिङ धेरै राम्रो छ। तीब्र बलरहरू राम्रो सेपमा आएका छन्। जितेन्द्र मुखियाले निकै राम्रो गरिरहेका छन्। स्पिन हाम्रो निकै राम्रो छ। सागर पुन अफ स्पिनमा थपिएपछि नेपाली बलिङ अझ राम्रो भएको छ। हाम्रा लागि सागर अलराउन्डर आउनु प्लस प्वाइन्ट हो। हाम्रो मुख्य आशा स्पिन हो। हाम्रो पालामा खासै एक्सपोजर पाएनौं। विश्वकप खेल्ने सपना देख्यौं। अहिलेको टोलीसँग सबै छ, उनीहरूले विश्वकप नै खेल्छन् भन्ने आशा छ।

विनोद दास
विश्वकप पुग्छ भन्ने म आशावादी छु। डिभिजन ४ देखि जुन लय समातेका छौं त्यसलाई हेर्दा शीर्ष ६ मा पर्न सक्छ। तयारी अपेक्षाअनुरुप हुन सकेन। केही समस्याहरू देखिए। तर खेलाडीहरूप्रति मलाई पूरा विश्वास छ। प्रतियोगितामा सबै उस्तै टोली छन्। अफगानिस्तान, नेदरल्यान्ड्स बलिया टोली हुन्। पपुवा न्युगिनीलाई पनि कमजोर मान्न मिल्दैन। पारसको प्रदर्शन उच्च शिखरमा छ। विनोद भण्डारीमाथि मलाई धेरै आशा छ। शरद भेषावकर र ज्ञानेन्द्रले मध्यपंक्तिलाई बलियो बनाएका छन्। वसन्त र शक्तिको प्रदर्शन धेरै राम्रो छ। सागर बलिङमा थपिएपछि नेपाली टोली मजबुत भएको छ। जितेन्द्र मुखियाले निकै राम्रो गरिरहेका छन्। नयाँ भए पनि उनले आफूलाई क्षमतावान सावित गर्ने आशा छ। पुबुदु दासानायके प्रशिक्षक भएर आएदेखि नेपाली टोलीले जादु नै देखाइरहेको छ। यसपल्ट पनि प्रशिक्षक र कप्तानको जोडी जम्नेमा आशावादी छु। 
नागरिक राष्ट्रिय दैनिकमा २०७० कात्तिक २६ गते प्रकाशित

No comments:

Post a Comment