Tuesday, November 26, 2013

'यस्तो चोट कसैलाई नलागोस्'

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको नतिजालाई लिएर नेपाली प्रशंसक जति उकुसमुकुसमा छन्, त्योभन्दा धेरै छट्पटी पूर्वकप्तान विनोद दासलाई छ। नेपाल विश्व ट्वान्टी–२० छनोटनजिक पुगेका बेला इतिहास रच्ने यो अवसरमा विनोद भने टोलीबाट अलग छन्।
उनीसँगै सञ्जम रेग्मी र पृथु बाँस्कोटा चोटका कारण युएई जानै पाएनन्। विनोद र सञ्जम पछिल्लो एक दशकभन्दा बढी समयदेखि नेपाली टोलीका नियमित सदस्य हुन्। दुई वर्षयता पृथुले पनि आफूलाई टोलीको प्रमुख सदस्यमा स्थापित गरिसकेका छन्। बुधबार हुने खेलमा हङकङलाई पराजित गरे नेपाल अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपमा छानिनेछ। 
विनोद दास, पृथु बाँस्कोटा, सञ्जम रेग्मी
'यत्रो वर्ष खेलियो, जुन बेला आफ्नो सपना पूरा गर्ने अवस्था आयो, घाइते भएर बाहिर बस्नुपर्‍यो। यस्तो महत्वपूर्ण क्षणमा चोट कसैलाई नलागोस्,' विनोदसँग भन्न खासै केही छैन। यो अवस्थाबारे भन्दा उनलाई अलि अप्ठेरो पनि लाग्छ। असोजमा सम्पन्न ट्वान्टी–२० राष्ट्रिय प्रतियोगिताको नेपालगन्जसँग समूह चरणको अन्तिम खेलमा विनोद ह्यामस्ट्रिङबाट पीडित भएका थिए।
'अहिले नयाँ खेलाडी धेरै छन्। उनीहरूसँग प्रतिस्पर्धा गर्न नसकेको भए वा स्किलका हिसाबले उनीहरूसँग पछाडि परेको भए मलाई कुनै दुःखेसो हुँदैनथ्यो। चोटकै कारणले गर्दा मनमा निकै गाह्रो भएको छ। मलाई लाग्छ यस्तो बेला सबैलाई गाह्रो हुन्छ। म फेरि फिट भएर खेल्न सक्छुजस्तो लागेको छ,' नेपाल विश्वकपमा पुगेमा सपना पूरा गर्नेमा उनी अझै आशावादी छन्।
विनोद २०११ को एसिसी ट्वान्टी–२० कपदेखि नेपाली टोलीमा छैनन्। यसपल्ट पुनरागमन गर्नेमा निकै आशावादी थिए। खेलाडीका लागि चोट एउटा हिस्सा नै भएको उनको बुझाइ छ। 'ह्यामस्ट्रिङ ९० प्रतिशत खेलाडीलाई कुनै न कुनै दिन हुन्छ। मेरो दुर्भाग्य भनौं कि के भनौं, मलाई दुईपटक यो चोटले सताएको छ। दुवैपल्ट माहोल यस्तो छ, जुन मलाई सम्झन नै गाह्रो पर्छ,' चोटले फेरि सताइएपछि विनोद भन्छन्, 'मलाई आफूप्रति पूरा विश्वास छ, चोटसँग भने अलि डर लाग्छ।'
असोज पहिलो साता राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रम चोट बोकेपछि पृथुले आफ्नो खेलजीवन नै सकिएको महसुस गरे। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फुटबल खेल्दा उनको दाहिने घुँडामा चोट लाग्यो। एमआरआई रिपोर्टमा उनको लिगामेन्ट पूर्ण च्यातिएको देखियो।
शल्यक्रियापछि पृथुले ६ देखि ९ महिना गुमाउने निश्चित भयो। तर फिजियोहरूले क्लिनिकल्ली कोरिलेट गर्दा पृथुको चोट सोचेभन्दा कम गम्भीर भेटियो। दिल्ली गएर डाक्टरहरूसँग सल्लाह गरेपछि शल्यक्रिया गर्नु नपर्ने भयो। रिह्याब गर्न भनियो। ६ हप्ताको रिह्याबपछि अहिले उनी फिट भएका छन्। टिममा फर्कने उद्देश्यसहित उनी कीर्तिपुरमा अभ्यास गरिरहेका हुन्छन्।
लगभग सोही समयमा अफ स्पिनर सञ्जमलाई आँखामा इन्फेक्सन भयो– झन्डै दुई हप्ता घाम र बत्ती हेर्नै नहुने। यसले गर्दा उनले ट्वान्टी–२० राष्ट्रिय प्रतियोगिता खेल्न पाएनन्। यही प्रतियोगिता विश्व ट्वान्टी–२० छनोटलाई खेलाडी छान्ने आधार थियो। त्यतिखेर क्याम्प चलिरहेको थियो, सञ्जम घरभित्र अँध्यारो कोठामै हुन्थे। मैदान जान त के, उनी घरबाहिर पनि निस्कन मिल्दैन्थ्यो।
'चोट लागेपछि खेल्ने कुरै आउँदैन। इतिहासमा नाम लेखाउने बेला खेल्न पाएको छैन। यस्तो बेला लामो समयदेखि खेल्ने म, विनोद नहुँदा मन खिन्न भइरहेको छ, दुःख लागेको छैन,' नेपाली क्रिकेटमा बुद्धिमानी खेलाडीमा गनिने सञ्जम भन्छन्, 'म, विनोद र शक्तिले लगभग सँगै खेल्न सुरु गरेका हौं। हामीले न्युजिल्यान्डमा २००२ को यु–१९ विश्वकप खेलेका थियौं, त्यो हिसाबले हाम्रो प्रतिनिधित्व शक्तिले गरिरहेजस्तो लाग्छ। वसन्त पनि सिनियर खेलाडी नै हुन्। उनको पनि खुब याद आउँछ यो बेला।'
पारस (खड्का) लाई अफ स्पिन बलिङ गर्नुपर्छ भनेर आफूले जोड गर्ने गरेको दाबी सञ्जमको छ। 'पारसको हाइटले उनलाई अफ स्पिन बलिङ सुट गर्छ। टर्न अलि कम भए पनि हाइटले बल डिप गराउँछ, योर्कर हान्न सजिलो हुन्छ। तीब्र बलिङमा पारसको स्किल राम्रो छ। पेस हाम्रो लेभलमा कसैको पनि धेरै छैन। पारसलाई म राम्रो स्पिनरका रूपमा हेर्छु। युएईमा अफ स्पिनरको महत्व देखिएको अवस्थामा पारसले अफ स्पिन बलिङ गर्दा मजा आउँछ। लाइभ हेर्दा उनको बलिङ धेरै राम्रो छ,' उनी भन्छन्।
'क्रिकेट ब्याट र बलको खेलमात्र होइन,' पछिल्लोपल्ट यसै प्रतियोगिता खेल्दा सञ्जमले राम्ररी बुझ्ने अवसर पाए। 'गत वर्ष यो प्रतियोगितामा हामीलाई अपार्टमेन्टवाला होटलमा राखियो, भान्सा, डाइनिङ सबै भएको। खाना खान बाहिर जाने चलन भए पनि एकता बनाउनुपर्छ भनेर प्रशिक्षक पुबुदु दासानायकेको निर्देशनमा नेपाली टोलीले खाना पकाउँथ्यो,' उनी सम्झन्छन्, 'शक्तिले मासु बनाउँथ्यो। अनिल मण्डलले दाल, भात पकाउँथ्यो। केहीले सलाद बनाउँथे। पारस खाना कस्तो पाकिरहेको छ भनेर निरीक्षण गरिरहन्थे। आफूले खाना खाएको थाल आफैं माझ्थ्यौं। बाँकी भाँडा म, वसन्त र अमृतसहितले मोल्थ्यौं। अहिले त्यो खुब सम्झना आइरहेको छ। यो माहोल साँच्चिकै मिस भइरहेको छ।'
पृथुलाई अहिले टोलीमा मात्र भएको भए पनि हुन्थ्यो जस्तो लागिरहेछ। 'टिम भनेको नै एउटा पारिवारिक जमघट जस्तै हो। हामी एकापसमा धेरै घुलमिल भइसक्यौं। यस्तो अवस्थामा सुखदुःख सेयर गर्न पाएको छैन। नेपाल विश्वकपमा छनोट हुनेक्रममा छ। खेल्न नपाए पनि टोलीमा मात्र भएको भए सन्तुष्ट हुने ठाउँ हुन्थ्यो। विश्वकप पुग्यो भने मैले ठूलो अवसर गुमाउने छु,' पृथुसँग चित्त बुझाउने पनि केही आधार पनि छन्, 'अहिले प्रत्यक्ष मिस गर्ने हो, हेर्न त टिभीमा हेरिहालिन्छ। टिभीमा हेर्दा कमिकमजोरी धेरै थाहा हुँदोरहेछ। यो पटक टिभीमा हेरिएकाले होला, अर्कोपल्ट मैदानमा हुँदा मलाई सजिलो हुन्छ।'
नागरिक राष्ट्रिय दैनिकमा २०७० मंसिर ११ गते प्रकाशित

No comments:

Post a Comment