Friday, November 15, 2013

सजिलो छैन नेपालको विश्वकप यात्रा

विश्वकप खेल्ने उद्देश्यमा रहेको नेपालका लागि पहिलो खेलमा डेनमार्क खासै ठूलो चुनौती नहोला। आइसिसी विश्व ट्वान्टी–२० छनोट यात्रामा नेपालको बाटो सहज भने छैन।
पछिल्लो दुई वर्षको प्रदर्शनका आधारमा नेपाललाई बलियो टोलीमा राखिएको छ। नेपालको आफ्नै उद्देश्य पनि अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुनु छ। त्यस विपरीत डेनमार्कलाई प्रतियोगिताको सबैभन्दा कमजोर टोलीमा राखिएको छ। गत वर्ष मार्चमा सम्पन्न यही प्रतियोगितामा डेनमार्क १६ टोलीमा पुछारमा थियो।
नेपाल समावेश समूह 'बी' का कप्तानहरु विश्व ट्वान्टी ट्रफीका साथ। नेपाली टोलीका कप्तान पारस खड्का बायाबाट चौथो ।              तस्विरः आइसिसी

शक्ति गौचनको सनसनीपूर्ण ह्याटि्रकमा नेपालले सो प्रतियोगितामा डेनमार्कलाई सजिलै ९ विकेटले हरायो। शक्तिको ह्याटि्रक नेपाली खेलाडीको पहिलो अन्तर्राष्ट्रिय ह्याटि्रक थियो भने आइसिसीको प्रतियोगिताको ट्वान्टी–२० संरचनामा नेपालको पहिलो खेल थियो। शक्तिले ४ विकेट लिँदा डेनमार्कलाई १९.१ ओभरमा ८२ रनमा समेटेको नेपालले १२.४ ओभरमै लक्ष्य भेटायो। प्रदीप ऐरीले ४३ बलमै ७ चौका र ४ छक्कासहित अविजित ६५ रन बनाएका थिए।
सो प्रतियोगितामा सबैभन्दा तल्लो वरियताको नेपालले सातौं स्थानमा टुंग्याएको थियो। नेपालले अहिले विश्वकपमा छनोट हुने लक्ष्य बनाउनुको प्रमुख कारण एक यही नै हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ संरचनाअनुसार युएईमा शुक्रबार सुरु प्रतियोगिताको शीर्ष ६ टोली अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० लाई छनोट हुनेछ।
अनिल मण्डलको शतकमा नेपालले गत वर्ष नै मलेसियामा विश्व क्रिकेट लिग डिभिजन ४ मा डेनमार्कलाई सजिलै पराजित गरेको थियो। डेनमार्कसँग दुबईस्थित ग्लोबल क्रिकेट एकेडेमी मैदान २ मा हुने खेलमा अनिलले पहिलो रोजाइमा खेल्न पाउने सम्भावना कम छ। प्रशिक्षक पुबुदु दासानायकेले अनिलले स्थान पाएमा मध्यपंक्तिबाट खेल्ने बताइसकेका छन्।
अनिलले आफ्नो दाबेदारिता प्रस्तुत गरिरहँदा प्रतियोगिता तयारीका लागि युएई र अमेरिकासँग खेलिएको अभ्यास खेलमा दुवै ओपनर चल्न सकेनन्। दुवैमा नेपालका ओपनरहरू ४ ओभर पनि क्रिजमा टिक्न सकेनन्। आयोजक युएईसँग पहिलो बलमै आउट भएका प्रदीपले अमेरिकासँग पनि ६ रनमात्र बनाउन सके। युएईविरुद्ध १४ रन बनाएका सुवासको इनिङ्स अमेरिकासँग ३ रनमै टुंगिएको थियो।
डेनमार्क दुवै अभ्यास खेलमा ठूलो अन्तरले पराजित भएकाले नेपालको पहिलो चुनौती खासै गाह्रो नहुने अनुमान गरिएको छ। हङकङविरुद्ध २ सय रन खर्चेपछि १ सय ४० रनको पराजय भोगेको डेनमार्क दोस्रोमा युएईसँग ६ विकेटले पराजित भयो। डेनमार्कले युएईविरुद्ध केवल ९० रनमात्र बनाउन सक्यो। नेपालले युएईमाथि ५ विकेटको विजय हात पार्दा १ सय ३९ रनको लक्ष्य पार गरेको थियो।
प्रशिक्षक दासानायकेले प्रत्येक खेलसँग नेपाल अगाडि बढने बताएका छन्। नेपालले शनिबार केन्यासँग खेल्नेछ। केन्या समूह 'बी' मा रहेका चारमध्ये एकदिवसीय मान्यताप्राप्त राष्ट्र हो। अफगानिस्तान, नेदरल्यान्ड्स र स्कटल्यान्ड अन्य एकदिवसीय मान्यताप्राप्त राष्ट्र हुन्। नेपाल समावेश समूह 'बी' मा बर्मुडा र पपुवा न्युगिनी पनि छन्।
नेपालको पहिलो लक्ष्य डेनमार्क र केन्यासँगको खेलमा केन्द्रित छ। एकदिवसीय मान्यताप्राप्त राष्ट्र भए पनि नेपालले केन्यासँग जितलाई निरन्तरता दिने लक्ष्य बनाएको छ। पछिल्लो संस्करणमा नेपालले एकदिवसीय विश्वकपको सेमिफाइनल खेलिसकेको केन्यामाथि ५ विकेटको विजय पाएको थियो। नेपालसँगको हारपछि निराशाजनक नवौं स्थानमा प्रतियोगिताको यात्रा टुंग्याएपछि केन्याको एक अखबारले लेखेको थियो, 'नाम नै नसुनेको देशसँग केन्या पराजित।'
२००३ मा एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको केन्या प्रदर्शनका हिसाबमा निकै खस्किरहेको राष्ट्र हो। टोलीले भर्खर मात्र भेट्रान स्टिभ टिकलो र थोमस ओडोयोलाई संन्यास फिर्ता गर्न लगाई टोलीमा बोलाएको थियो। २०११ को विश्वकपपछि दुवैले आफ्नो खेलजीवन टुंग्याएका थिए। ४२ वर्षे टिकलोसँग १ सय ३४ एकदिवसीय अन्तर्राष्ट्रिय र ११ ट्वान्टी–२० अन्तर्राष्ट्रियको अनुभव छ। ३५ वर्षे ओडोयोले २००८ पछि पहिलोपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दैछन्।
टिकलो र ओडोयो दुवैले आफ्नो 'डेब्यु' १९९६ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक विजय पाउँदा गरेका थिए। २००७ मा एकपटकमात्र विश्व ट्वान्टी–२० खेलेको केन्या गत महिना अफगानिस्तानविरुद्ध शारजहाँमा ५६ रनमै समेटिएको थियो। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो न्युन स्कोर हो।
युएई पुग्नु अघिको श्रीलंका भ्रमणले केन्याको प्रदर्शन सुधारिएको छ। श्रीलंका 'ए' सँग ६ खेलको शृंखला ५–१ ले गुमाएको केन्याले दुई अभ्यास खेलमा नामिबियालाई ३७ रन र हङकङलाई ३ विकेटले पराजित गरेको थियो। त्यसैले डेनमार्क र केन्यासँगको पहिलो दुई खेलले नेपालको ट्वान्टी–२० विश्वकप सम्भावनाको तस्बिर देखाउन सक्छ।
नागरिक राष्ट्रिय दैनिकमा २०७० कात्तिक २९ गते प्रकाशित


No comments:

Post a Comment