Wednesday, November 20, 2013

अमृतले समातेको लय

तीब्र बलर अमृत भट्टराईले अन्ततः आफ्नो लयमा फर्काएका छन्। युएईमा भइरहेको आइसिसी विश्व ट्वान्टी–२० छनोटमा पपुवा न्यु गिनीविरुद्धको खेलमा अमृतले आफ्नो लयमात्र फर्काएनन् २३ महिनाको विकेटको खडेरीलाई पनि तोडेका छन्।
२०११ को डिसेम्बर ४ देखि अमृतले नेपालबाट ट्वान्टी–२० मा विकेट लिन सकेका थिएनन्। यस बीचमा नेपालले २२ ट्वान्टी–२० खेल खेल्दा अमृतले ८ खेल खेलेका थिए। २०११ को एसिसी ट्वान्टी–२० कपमा उनले युएईविरुद्धको खेलमा ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका थिए। त्यसयता कुनै विकेट लिन सकेका थिएनन्। २ खेलमा ४ विकेट लिए पनि अस्वस्थाताका कारण उनले प्रतियोगितामा बाँकी खेल खेलेका थिएनन्।
अमृत भट्टराई बलिङ गर्दै। तस्विर रमन सिवाकोटी

त्यसपछि भने उनले नेपाली टोलीमा पहिलो रोजाई गुमाउदै आएका थिए।गत वर्ष नेपालले यही प्रतियोगितामा ९ खेल खेल्दा अमृतले पपुवा न्यु गिनीविरुद्धको एक खेलमात्र बलिङ गरेका थिए। त्यसमा उनले ३ ओभर बलिङ गरेर ७ रनमात्र खर्चे पनि कुनै विकेट लिन सकेका थिएनन्। पपुवा न्यु गिनीविरुद्धको खेलबाटै उनले विकेट लिने क्रम सुरु गरेका छन्।
शारजहाँ क्रिकेट मैदानमा आफ्नो दोस्रो ओभरको पहिलो बलमै असाद भालालाई ९ रनमा एलबीडब्लु आउट गरी २३ महिनामा पहिलो विकेट लिएका हुन्। दोस्रो स्पेलमा उनले चार्ल्स अमिनीलाई कप्तान पारस खड्काको हातबाट क्याच गराए। डेनमार्कविरुद्धको खेलमा ३ ओभरमा १० रन खर्चे पनि कुनै विकेट लिन नसकेका अमृतलाई केन्याविरुद्धको खेलमा टोलीमा राखिएको थिएन्।
अमृतलाई नखेलाएपछि छैटौं बलरको रुपमा बलिङ गरेका शरदले केन्याविरुद्ध एकै ओभरमा ३० रन खर्चेका थिए। स्कटल्यान्डविरुद्ध सुरुआती स्पेल निकै राम्रो बलिङ प्रदर्शन गरेका अमृतले ४ ओभरमा २९ रन खर्चेका थिए।
टोलीका ओपनिङ बलर भए पनि अमृतले मार्च–अप्रिलमा काठमाडौंमै भएको एसिसी ट्वान्टी–२० कपमा कुनै विकेट लिन सकेका थिएनन्। २२.५ ओभरमा १ सय ३४ रन खर्चेर कुनै विकेट लिन नसकेको खडेरीलाई अमृतले चिरेका छन्। नेपाली टोली उनीबाट थप विकेटको आशामा छ।
विनोदद्वारा छक्काको कीर्तिमान बराबर
विनोद भण्डारीले नेपालबाट ट्वान्टी–२० को एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने महबुब आलमको कीर्तिमानलाई बराबरी गरेका छन्। उनले पपुवा न्यु गिनीसँगको खेलमा छ छक्का प्रहार गरे। छक्का नै प्रहार गरी उनले नेपालको विजय रन बटुलेका थिए।
२०११ को एसिसी ट्वान्टी–२० कपमा महबुवले साउदी अरेबियाविरुद्ध ८८ रन बनाउदा पनि ६ छक्का प्रहार गरेका थिए। महबुबको सो स्कोर नेपाली खेलाडीको ट्वान्टी–२० मा उच्च स्कोर पनि हो। विनोदको यो ट्वान्टी–२० मा दोस्रो अर्धसतक हो। सिंगापुरविरुद्ध एसिसी ट्वान्टी–२० कपमा यसै वर्ष पहिलो अर्धसतक बनाउदा विनोदले चार छक्का प्रहार गरेका थिए। सो खेलमा ४ छक्का प्रहार गरेका कप्तान पारस खड्काले केन्याविरुद्ध यस प्रतियोगितामा पनि सो प्रदर्शनलाई दोहर्‍याएका थिए।
विनोदले नेपालबाट ट्वान्टी–२० मा दोस्रो तीब्र अर्धसतक बनाएका छन्। छक्का प्रहार गरी खेलको अन्त गरेसँगैं विनोदले २३ बलमा अर्धसतक पुरा गरे। यसै वर्ष एसिसी ट्वान्टी–२० कपमा प्रदीप ऐरीले माल्दिभ्सविरुद्ध २१ बलमै अर्धसतक बनाएका थिए।
नागरिक राष्ट्रिय दैनिकमा २०७० मंसिर ५ गते प्रकाशित




No comments:

Post a Comment