Wednesday, November 13, 2013

विश्वकप यात्राको 'टर्निङ प्वाइन्ट'

आइसिसी विश्व ट्वान्टी–२० छनोट प्रतियोगिता नेपालका लागि 'टर्निङ प्वाइन्ट' हुनसक्छ। दुई वर्षअघि यही प्रतियोगितामा नेपालले प्रतिद्वन्द्वीलाई चिन्ने अवसर मात्र पाएन, भविष्यको चुनौती आँकलन गर्ने मौका पनि पाएको थियो। तिनै परिचित प्रतिद्वन्द्वीको नाडी छामेर नेपालले अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० को ढोका खोल्ने धेरैको विश्वास छ।
सन् २०१० मा नेपाल डिभिजन ४ मा रोकिएपछि अफगानिस्तानका तत्कालीन प्रशिक्षक ताज मलिकले भनेका थिए, 'नेपालको स्तर धेरै माथि छ। तर नेपाल ठूलो टोली भनेर अरुसँग डराउँछ। एकपल्ट नेपालले एउटा लेभल पार गरेर ठूलो टोलीमा गनिएका कुनै टोलीलाई हरायो भने जितको क्रम सुरु हुन्छ।'
तस्विरः विजय राई

उनले अफगानिस्तान र नेपाललाई एउटै स्तरमा राख्दै भनेका थिए, 'अफगानिस्तानको पनि एक समय नेपालकै हालत थियो। जब अफगानिस्तानले खेल जित्न लाग्यो, ठूलो टोली भनिएका केन्या, क्यानाडा, नेदरल्यान्ड्स, स्कटल्यान्ड जस्ता राष्ट्र अफगानिस्तानका लागि ठूलो विषय भएन।' उनकै प्रशिक्षणमा २०१० मा डिभिजन ५ मा रहेको अफगानिस्तान अर्को वर्ष डिभिजन २ मा उक्लिएको थियो।
नेपालले अफगानिस्तानविरुद्ध पाएको एकमात्र विजय मलिककै पालामा थियो। २००६ को एसिसी ट्रफीको तेस्रो स्थानको प्लेअफमा नेपालले अफगानिस्तानलाई पराजित गर्‍यो। मलिककै प्रशिक्षणमा जर्सीमा सम्पन्न डिभिजन ५ को सेमिफाइनलमा अफगानिस्तानले नेपाललाई ३७ रनले पराजित गरी मीठो बदला लियो। अफगानिस्तान डिभिजन ४, ३ हुँदै डिभिजन २ मा पुग्यो। डिभिजन ५ मै अड्किएको नेपाल अर्कोपटक विजेता बन्यो। तर, डिभिजन ४ बाट उक्लन सकेन।
प्रशिक्षक पुबुदु दासानायके आएसँगै नेपाल क्रिकेटको नक्सा परिवर्तन भयो। दुई वर्षअघि युएईमै सम्पन्न विश्व ट्वान्टी–२० छनोट यसको साक्षी हो। २०११ मा भएको एसिसी ट्वान्टी–२० कपको सेमिफाइनल पुग्न नेपालले ठूलै कसरत गर्नुपरेको थियो। हङकङसँग १ विकेट र कुवेतसँग १ रनको विजय पाएर नकआउट चरणमा पुग्दै नेपाल त्यतिखेर विश्व ट्वान्टी–२० छनोटमा पुगेको हो।
सहभागी १६ टोलीमा नेपाल सबैभन्दा तल्लो वरियताको थियो। तर नेपालले डेनमार्क, पपुवा न्युगिनी, केन्या जस्ता टोलीलाई पराजित गर्‍यो। आफूभन्दा ठूला टोलीमा गनिएका यी राष्ट्रविरुद्ध नेपालको पहिलो जित थियो। क्यानाडासँग थोरैले चुकेका कारण नेपाल शीर्षभित्र पर्न सकेन। प्लेअफबाट नेपालले सातौं स्थानका साथ प्रतियोगिता टुंग्यायो।
स्वदेश फर्किएपछि कप्तान पारस खड्काले भनेका थिए, 'यो प्रतियोगिताबाट सिकेर हामीले अलिकति सुधार गर्ने हो भने नेपालले अर्कोपल्ट ट्वान्टी–२० विश्वकप खेल्नेछ। हामी अहिले सातौं भयौं। शीर्ष ६ भनेको त्यो भन्दा एक तह माथिमात्रै हो, त्यसैले विश्वकप सम्भव छ। डिभिजनबाहेक सबै टोलीलाई हामीले लगभग हरायौं। त्यहाँसम्म पुग्न के गर्नुपर्छ भन्ने हामीले बुझ्यौं। राम्रो तयारी र व्यवस्थापन हुने हो भने हामी त्यहाँबाट टाढा छैनौं।'
विश्व ट्वान्टी–२० छनोटमा पाएको यही एक्सपोजरले नेपाललाई एसोसिएटको शीर्ष टोलीमा उभ्याएको धेरैको विश्लेषण छ। २०१० को डिभिजन ४ मा अमेरिकासँग रोकिएको नेपालले २०१२ को डिभिजन ४ मा अमेरिकालाई समूह चरण र फाइनलमा गरी दुईपटक पराजित गर्‍यो। नेपाल डिभिजन ३ विजेता बन्दा युगान्डा र एकदिवसीय विश्वकप खेलिसकेको बर्मुडाको छेउछाउमै देखिएनन्।
एकदिवसीय संरचनामा युएईलाई १४ वर्षपछि पराजित गरी टोलीसँगै एसिसी ट्रफीमा संयुक्त विजेता बन्यो। युएईसँगको त्यो विजयलाई नेपालले यसै वर्ष एसिसी ट्वान्टी–२० कपको सेमिफाइनलदेखि मंगलबार दुबईको अभ्यास खेलसम्म निरन्तरता दिएको छ। पछिल्लो पटक विश्व ट्वान्टी–२० छनोटमा सातौं भएको अवस्थामा नेपालले यसपटक विश्व ट्वान्टी–२० को लक्ष्य बनाउनु अर्को कारण हो। तिनै पपुवा न्युगिनी, बर्मुडा, केन्या, डेनमार्कसँग नेपालले समूह चरणमा खेल्ने छ। ठूलो भनिएका अफगानिस्तान, स्कटल्यान्ड, नेदरल्यान्ड्स पनि नेपालकै समूहमा छन्।
नागरिक राष्ट्रिय दैनिकमा २०७० कात्तिक २७ गते प्रकाशित

No comments:

Post a Comment