Friday, November 22, 2013

अफगानिस्तानसँग सुधारिएको ब्याटिङ अपेक्षामा नेपाल

अफगानिस्तानसँग बिहीबार आइसिसी विश्व ट्वान्टी–२० छनोटमा उत्रँदा नेपालको समूह विजेता हुने आशा अझै रहनेछ। त्यही अर्को पराजयले नेपाललाई प्रतियोगिताबाटै बाहिर पनि पठाउन सक्छ।
अफगानिस्तानलाई पनि समूह विजेताको हिसाबमा अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा छानिन नेपालसँगको खेल निकै महत्वपूर्ण छ। नेपाल र केन्यासँग विजय हात पारे अफगानिस्तान समूह विजेता बन्न सक्छ। समूह 'बी' मा नेदरल्यान्ड्स र अफगानिस्तानको समान ८ अंक छ। अफगानिस्तानले केन्या र स्कटल्यान्डसँग अन्तिम दुई खेल खेल्नेछ। नेपालको अर्को खेल बर्मुडासँग छ। 
यसै वर्ष मार्चमा काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० कपमा कप्तान पारस खड्काले अर्धसतक बनाए पनि नेपाल पराजित भएको थियो। तस्बिरमा अफगानिस्तानका कप्तान मोहम्मद नाबी पनि देखिन्छन्। फाइल तस्बिरः विकास कार्की

सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष टोली बंगलादेशमा हुने विश्व ट्वान्टी–२० लाई सोझै छानिने छन् भने थप चार टोली दोस्रो चरणमा पुग्ने छन्। दोस्रो चरणबाट थप चार टोली ट्वान्टी–२० विश्वकपमा छानिने प्रावधान छ। नेपाल र केन्याको ६–६ अंक छ। केन्याले बिहीबार बर्मुडामाथि गतिलो विजय हात पार्दै नेपाललाई रनरेटमा पछाडि पारेको हो। पपुवा न्युगिनी, स्कटल्यान्ड र बर्मुडासँग ४–४ अंक छ। स्कटल्यान्डले बिहीबार पपुवा न्युगिनीविरुद्ध ८२ रनको विजय पाएको थियो।
नेपालले डेनमार्क, केन्या र पपुवा न्युगिनीविरुद्धको खेल दोस्रो ब्याटिङ गर्दै जितेको थियो। स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको हार नेपालले पहिला ब्याटिङ गर्दा पाएको थियो। अफगानिस्तानविरुद्ध नेपालले पहिला ब्याटिङ गरे कुनै आश्चर्य हुनेछैन। रन पछ्याउँदा अफगानिस्तानको प्रदर्शन कमजोर छ। नेपालका प्रशिक्षक पुबुदु दासानायकेले यो राम्रोसँग बुझेका छन्। प्रतियोगितामा ५ खेल नै हारिसकेको डेनमार्कविरुद्ध विजय हात पार्दा अफगानिस्तानले ८ विकेट गुमाउनुले टोलीको दोस्रो ब्याटिङमा कमजोर पक्ष उजागर गरेको थियो।
स्कटल्यान्ड र नेदरल्यान्ड्स एकदिवसीय मान्यताप्राप्त टोली हुन्। दुवैमा नेपालले चित्तबुझ्दो ब्याटिङ गर्न सकेको थिएन। अर्को एकदिवसीय मान्यताप्राप्त केन्याविरुद्ध १ सय ८३ रनको लक्ष्य पूरा गरेको नेपालले स्कटल्यान्डविरुद्ध १ सय ३७ र नेदरल्यान्ड्सविरुद्ध १ सय ७ रनमात्र बनाउन सक्यो। अफगानिस्तान पनि एकदिवसीय टोली हो। अफगानिस्तानसँगको खेललाई नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको ब्याटिङमा भएको गल्ती सुधार्ने मौकाको रूपमा लिएको हुनसक्छ।
पहिलो तीन ब्याट्सम्यानको प्रदर्शन नेपालको मुख्य चिन्ताको विषय हुँदै आएको छ। ओपनर सुवास खकुरेलले औसत प्रदर्शन गरिरहेका छन्। ओपनरमा प्रयोग गरिएका प्रदीप ऐरी र सागर पुन दुवै 'फ्लप' भएका छन्। पहिलो दुई खेलमा डेनमार्कविरुद्ध खाता खोल्न नसकेका र केन्याविरुद्ध १ रनमात्र बनाएका प्रदीपलाई त्यसपछि पहिलो रोजाइबाटै हटाइएको थियो। 'हार्ड हिटर' प्रदीप पछिल्लो दुई खेलमा सातौं नम्बरको ब्याटिङक्रममा थिए।
तीन खेलमा ओपनरका रूपमा खेलेका सागरले २७ रनमात्र बनाउन सकेका छन्। बाउन्ड्री प्रहार गरेको अर्को बलमा उनी आउट हुने गरेका छन्। उपकप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नो क्षमताअनुसार खेल्न सकेका छैनन्। 'क्लासिक ब्याट्सम्यान' भए पनि उनले आफ्नो खेल ट्वान्टी–२० शैलीमा विशेष गरी तेस्रो नम्बरमा पर्ने जिम्मेवारीअनुसार खेल्न नसकेको आरोप छ। ब्याटिङ क्रममा पहिलो ३ नम्बरलाई सुधार्न सके नेपाल समूह विजेता बन्ने अभियानमा फर्कन सक्छ।
अफगानिस्तानसँग यसअघिका चारै खेलमा नेपाल पराजित भएको छ। सन् २००७ मा एसिसी ट्वान्टी–२० कपबाट सुरु गरेको ट्वान्टी–२० को यात्रा होस् वा ६ महिनाअघि एसिसी ट्वान्टी–२० कपको फाइनलमा अफगानिस्तानले नेपाललाई कुनै मौका दिएको छैन। २०११ मा नेपालले एसिसी ट्वान्टी–२० कपकै सेमिफाइनलमा अफगानिस्तानसँग १६ ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाई ६८ रनमात्र बनाउन सकेको थियो।
गत वर्ष विश्व ट्वान्टी–२० छनोटमा पनि अफगानिस्तानसँग नेपाल शारजहाँ क्रिकेट मैदानमा ३४ रनले हारेको थियो। यी दुई टोली शुक्रबार यसै मैदानमा आमनेसामने हुँदैछन्। त्यतिखेर करिम सादिक र मोहम्मद शाहजादको समान ५२ रनमा अफगानिस्तानले ६ विकेट गुमाई १ सय ५७ रन बनाएको थियो। अनिल मण्डलले ५० रन बनाए पनि नेपालले ६ विकेट गुमाई १ सय २३ रनमात्र बनाउन सकेको थियो।
नागरिक राष्ट्रिय दैनिकमा २०७० मंसिर ७ गते प्रकाशित


No comments:

Post a Comment