Saturday, November 9, 2013

मिसन ट्वान्टी–२० विश्वकप

विश्व ट्वान्टी–२० छनोटमा नेपालसामु धेरै चुनौती छन्। नेपालको विश्वकप सपना यसैसँग जोडिएको छ। एसोसिएट राष्ट्रका अन्य बलिया विपक्षीसँग खेल्नुपर्ने यथार्थबीच प्रशिक्षक पुबुदु दासानायकेले प्रतियोगिता जितेर सोझै ट्वान्टी–२० विश्वकपमा छनोट हुने लक्ष्य बनाएका छन्।
'मेरो लक्ष्य उपाधि जित्नु नै हो। समूहमा शीर्ष भएर विश्वकपमा छनोट हुनु हो,' दासानायके आत्मविश्वास साथ भन्छन्। तीन महिनाअघि सिंगापुरमा नेपाल एसिसी इमर्जिङ टिम्स कपको एकदिवसीय खेलमा अफगानिस्तानमाथि विजय पाउन थोरैले चुकेको थियो। दासानायके ट्वान्टी–२० विश्वकपमा छनोट हुने आधार यसैलाई मान्छन्।
ब्याट्सम्यान शरद भेषावकर प्रशिक्षणमा। तस्विरः विजय राई/नागरिक


उनले भने, 'अफगानिस्तानसँग पछिल्लोपल्ट खेल्दा हामी ३ रनले मात्र पराजित भएका थियौं। त्यसैले हामी स्तरमा उनीहरूभन्दा टाढा छैनौं। अफगानिस्तान शीर्ष टोली हो र हाम्रो समूहमा छ। हामीले त्यो स्तर कायम राख्नु छ। त्यसैले दोस्रो, तेस्रो भएर विश्वकप छनोट कुर्नुको कारण छैन।'
युएईमा आउँदो शुक्रबार सुरु प्रतियोगितामा आइसिसीका शीर्ष १६ एसोसिएट टोलीले सहभागिता जनाउँदै छन्। नेपालको समूहमा अफगानिस्तान, नेदरल्यान्ड्स, स्कटल्यान्ड, केन्या, बर्मुडा, डेनमार्क र पपुवा न्युगिनी छन्। समूहका शीर्ष दुई टोली बंगलादेशमा अर्को वर्ष हुने विश्व ट्वान्टी–२० लाई सोझै छनोट हुने छन्। दुवै समूहका शीर्ष पाँच टोलीले दोस्रो चरणमा पुगेर थप चार स्थानमा रहेर विश्वकपको ढोका खोल्ने प्रयास गर्नेछन्।
दासानायकेले लक्ष्य सजिलो नभएको यथार्थ पनि बुझेका छन्। उनले भन्छन्, 'हाम्रो समूह निकै कठिन छ। चार एकदिवसीय मान्यताप्राप्त टोली छन्। अफगानिस्तान बलियो छ। नेदरल्यान्ड्सले राम्रो प्रदर्शन गरिरहेको छ। केन्या र स्कटल्यान्ड पनि बलिया टोली हुन्। तर एक–एक खेलमै केन्द्रित हुनु हामीलाई महŒवपूर्ण हुनेछ। विजयी सुरुआत गर्न जरुरी छ। दोस्रो खेल केन्या र त्यसपछि स्कटल्यान्डसँग खेल्नुछ।'
कप्तान पारस खड्का युएईको प्रतियोगितालाई चुनौती नभई अवसरका रूपमा लिन्छन्। विश्वकपमा छनोट हुनुको कतिको चुनौती छ भन्ने प्रश्नमा उनी भन्छन्, 'हामीले गरेको यो सबै मेहनत विश्वकपका लागि नै हो। त्यसैले विश्वकपमा छनोट हुनेमा हामी विश्वस्त छ।' उनी छनोट हुने सम्भावनाका कारण तेर्स्याउँछन्, 'नेपाली टोली अहिले एक ढिक्का भएर खेलिरहेको छ।'
नेपालले हालै गरेको दिल्ली भ्रमणमा आफ्ना खेलाडी राम्रोसँग 'एक्सपोज' हुन नपाएको प्रसंग एकातिर छ। दासानायकेको चिन्ता अन्य टोलीको राम्रो तयारीलाई लिएर छ। 'सबै टोलीले राम्रो तयारी गरिरहेकोमा म निश्चित छु। एकदिवसीय मान्यताप्राप्त टोलीलाई आइसिसीले राम्रो अनुदान दिएको हुन्छ। त्यसैले उनीहरूले राम्रो तयारी गरिरहेका छन्। महŒवपूर्ण पक्ष हामीले कसरी प्रतियोगितामा सुरुआत गर्नुपर्छ भन्ने हो,' उनले भने।
'पछिल्लो ३–४ महिनादेखि हामी यसकै तयारी गरिरहेका थियौं। सबै योजनाअनुसार नै भयो। खेलाडी सबै फिट छन्। युएईमा गएर राम्रो प्रदर्शन गरी हामी त्यो अनुसारको टोली हौं भन्ने प्रमाणित गर्न आत्तुर छौं। प्रतियोगितालाई हामी व्यग्रका साथ कुरिरहेका छौं,' नेपाली टोलीको तयारीबारे उनले भने, 'सबै तयारी राम्रो भयो। विदेशमा अझ राम्रो तयारी र अझ म्याच खेल्न पाएको भए म अझ खुशी हुने थिएँ। जे जति पाएका छौं, त्यसमा खासै गुनासो छैन। हामीसँग यस्ता खेलाडी छन्, जसले बिहानदेखि साँझसम्म अभ्यास गरी सफलता दिन आतुर छन्।'
सुवास र प्रदीप नै ओपनर
सुवास खकुरेल र प्रदीप ऐरीले नै प्रारम्भिक ब्याटिङ भूमिका निभाउने भएका छन्। पछिल्ला प्रतियोगिताहरूमा सुवास र प्रदीप नै ओपनिङ ब्याट्सम्यान भएर खेले पनि दिल्ली भ्रमणका धेरै अभ्यास खेलमा सुवास र सागर पुनलाई प्रारम्भिक जोडी बनाइएको थियो। उमेर समूहका प्रतियोगितामा ओपनिङ ब्याट्सम्यानको भूमिकामा प्रभावकारी प्रदर्शन गरेका सागर दिल्लीमा यो भूमिकामा खासै जम्न सकेका थिएनन्। टोलीमा अर्का ओपनर अनिल मण्डल पनि छन्।
'दिल्लीमा हामीले विकल्प हेर्‍र्यौं, जोडी मिलाउन खोज्यौं। अहिले सुवास र प्रदीपलाई नै ओपनरमा खेलाउने निर्णय गर्‍र्यौं। अनिलले अवसर पाए भए भने मध्यपंक्तिमा खेल्ने छन्,' दासानायकेले जानकारी गराए। दिल्लीमा मध्यपंक्तिका ब्याटिङ खासै चल्न नसकेको उनले स्वीकारेनन्। सबैले सानो सानो इनिङ्स खेलेकाले दिल्ली भ्रमणमा मध्यपंक्ति चल्न नसकेको उनको भनाइ थियो। 
'विनोदले केही खेल राम्रो खेले। पारस सँधैं राम्रो खेल्ने खेलाडी हुन्। ज्ञानेन्द्र (मल्ल) ले पनि केही राम्रो इनिङ्सले खेले। शरद (भेषावकर)ले एक खेलमा केही बल खेल्न पाएका थिए , छक्का प्रहार गरेर खेलको अन्त गरे। ट्वान्टी–२० मा प्रत्येक खेलाडीको भूमिका छोटो हुन्छ। तर चुस्त हुनुपर्छ। खेलाडीलाई यो सबै थाहा हुन्छ, कुन स्थितिमा खेल्नुपर्ने हो भनेर,' उनले भने।
ब्याटिङमा उनले बढी विश्वास देखाउँदै भने, 'प्रतियोगितामा हामीसँग सबैभन्दा जमेको ब्याटिङ लाइनअप छ। ओपनिङमा सुवासले निकै राम्रो खेलिरहेका छन। त्यसपछि ज्ञानेन्द्र, पारस, विनोद र शरद जस्ता अनुभवी खेलाडीले ब्याटिङ गर्नेछन्। उनीहरूलाई आफ्नो भूमिकाबारे थाहा छ। तल्लोक्रममा सागर पुन र वसन्त रेग्मीले उनीहरूलाई पछ्याउने छन्। नौ नम्बरमा भए पनि शक्ति गौचन राम्रो ब्याटिङ गर्न सक्छन्। त्यसैले हाम्रो टोली सन्तुलित छ।'
मध्यम गतिको बलिङमा आशावादी
मध्यम गतिको बलिङ प्रतियोगितामा नेपालको नौलो जस्तो हुनेछ। कप्तान पारससँगै अमृत भट्टराई, अविनाश कर्ण र जितेन्द्र मुखियाले नेपाली टोलीको मध्यम गतिको बलिङ सम्हाल्ने छन्। अनुभवी अमृतले पछिल्लो समय लय समात्न सकेका छैनन्। दुई वर्षअघि युएईमै भएको प्रतियोगिताको पछिल्लो संस्करणमा नेपालले १० खेल खेल्दा अमृतलाई १ खेलमा मात्र खेलाइएको थियो।
यसै वर्ष मलेसियामा एसिसी यु–१९ इलिट कपमा २४ विकेट लिँदै नेपाली खेलाडीबाट कीर्तिमानी बलिङ प्रदर्शन गरेका अविनाश कर्णले सिंगापुरमा इमर्जिङ टिम्स कपबाट राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका थिए। जितेन्द्र पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका हुन्। दुवैले राष्ट्रिय टोलीबाट प्रतियोगितात्मक ट्वान्टी–२० खेल खेलेका छैनन्।
मध्य र तीब्र बलिङबारे दासानायकेले भने, 'लामो समयदेखि यो हाम्रो चिन्ताको विषय थियो। अहिले अमृत, जितेन्द्र र अविनाश तीनै खेलाडीले आफ्नो प्रदर्शनमा सुधार गरेका छन्। उनीहरूले राम्रो प्रदर्शन गरी यो स्तर खेल्न सक्छन् भनेर प्रमाणित गर्न भने बाँकी नै छ। उनीहरूको क्षमता भिन्न छ, ट्वान्टी–२० लाई सुहाउँदो छ। हामीले यसबारे धेरै योजना बनाइसक्यौं।'
दासानायकेले जितेन्द्रको बलिङको तारिफ गरे। 'जितेन्द्र मुखिया यस्ता खेलाडी हुन्, जसको प्रदर्शन पछिल्लो केही महिनामा धेरै परिवर्तन आएको छ, त्यसैले उनी नेपाली टोलीमा छन्। राम्रो योर्कर र बाउन्सर फाल्छन्। नयाँ बललाई मुभ गर्न सक्छन्।'
नागरिक राष्ट्रिय दैनिकमा २०७० कात्तिक २३ गते प्रकाशित

No comments:

Post a Comment