Monday, November 18, 2013

टेलिभिजन लाइभ जिङ्क्सको तगारो

आइसिसी विश्व ट्वान्टी–२० छनोटमा स्कटल्यान्डविरुद्ध खेल्न मैदानमा उत्रिदा नेपालको ध्यान लगातार तेस्रो विजय हात पार्नु बाहेक 'टेलिभिजन प्रत्यक्ष प्रसारणको जिङ्क्स' को तगारो पन्छाउनु पनि हुनेछ। युएईमा भइरहेको प्रतियोगितामा यी दुई टोली तेस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले प्रतियोगिताका खेलहरु आफ्नो आधिकारिक वेवसाइटबाट वेवकास्ट गरिरहेको छ। जस अनुसार नेपालको समूह चरणका बाँकी ५ मध्येको ४ खेल वेवकास्ट हुनेछन्। नेपालले खेल्ने स्कटल्यान्ड, नेदरल्यान्ड्स, अफगानिस्तान र बर्मुडासँगका खेल लाइभ स्ट्रिमिङ हुनेछन्। टेलिभिजन र वेवकास्टबाट प्रत्यक्ष प्रसारण भएका खेलमा विगतमा नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन्। प्रत्यक्ष प्रसारण हुँदा खेलाडीको ध्यान मैदानमा भन्दा ठूला क्यामारामा केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको छ। 
सन् २०१२ मा अस्ट्रेलियामा भएको आइसिसी यु–१९ विश्वकपको अस्ट्रेलियासँगको खेल दौरान नेपाली टोली। तस्बिर :  आइसिसी

गत वर्ष नेपालले आइसिसी यु–१९ विश्वकपको यात्रा निराशाजनक रुपमा १३औं स्थानमा टुंगायो। एक पछि अर्को टेस्ट खेल्ने राष्ट्रहरुलाई पराजित गरेका कारण नेपालले पाएको 'जायन्ट क्लिर्स' को उपनाम पनि यु–१९ विश्वकप क्रिकेटमै हो। अस्ट्रेलियामा भएको विश्वकपमा भने नेपाल समूह चरणका सवै तीन खेलमा पराजित भयो। टेस्ट खेल्ने राष्ट्रहरुलाई ठूलो चुनौती तेर्स्याउने नेपाल समूह चरणमा आयरल्यान्डसँगैं पराजित भयो। प्रतियोगितामा समूह चरणका चार खेल स्टार क्रिकेटले प्रत्यक्ष प्रसारण गरेको थियो। त्यसमा नेपालको अस्ट्रेलिया र इङ्ल्यान्ड बीचको खेल पनि थियो।
दुवै खेलमा नेपालले ठूलो अन्तरको पराजय भोग्यो। अस्ट्रेलियालाई २ सय १२ रनले आत्मसमर्पण गरेको नेपाललाई इङ्ल्यान्डले १ सय २७ रनले निरिह बनायो। अस्ट्रेलियाबाट फर्किएपछि प्रशिक्षक पुबुदु दासानायकेले नेपालका खेल प्रत्यक्ष प्रसारणमा भएकाले मैदानमा प्रभाव देखिएको बताए।
दासानायकेको भनाइलाई धेरैले हार छोप्ने प्रयास भनेर व्यख्या गरे। दासानायकेले यसो भन्नुको मुख्य कारण खेलाडी खेलभन्दा टेलिभिजनमा आफू कस्तो देखिन्छु भन्नेमा केन्द्रित हुनु थियो। दासानायके खेलाडीलाई कुनै बन्देज लगाउदैन्। खेलाडीलाई इच्छा लागेको कुरा एक पटक सल्लाह गरेर गर्न अनुमती दिन्छन्।
दासानायकेअघि रोय डायस नेपालको प्रशिक्षक हुँदा खेलाडीलाई 'कालो चस्मा' लगाउन बन्देज जस्तै थियो। डायसको कालमा खेलाडी चर्को घाममा पनि क्याच लिन नाङ्गो आँखाले बल पछ्याउँथे। दासानायके आएपछि खेलाडीले सबैमा छुट पाए। नतिजा, यु–१९ विश्वकपमा अस्ट्रेलियाविरुद्ध धेरै जना कालो चस्मा लगाएर मैदान उत्रिए।
नेपालको मुख्य शक्ति फिल्डिङ भए पनि त्यो खेलमा उनीहरु फिल्डिङमै चुके। कमेन्ट्रि गरिरहेका वासिम अक्रम भन्दै थिए, 'नेपाली खेलाडीलाई स्लाइड हान्न सिकाइएको रहेछ, कसैले भनिदियोस राम्रो फिल्डिङ गर्न बल पनि रोक्नुपर्छ।' बलको सही गति पत्ता नलगाउन सकेको अक्रमको निचोड थियो। त्यसको पछाडी मुख्य कारण पहिलो पल्ट चस्मा लगाएर खेल्नाले नेपाली खेलाडी बलको गति बुझ्न चुकेका थिए।
'त्योबेला हामी सवै पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको खेल खेलिरहेका थियौं। त्यो पनि यु–१९ विश्वकप जस्तो प्रतियोगितामा खेल्दा टेलिभिजनमा आउँछ भनेर बढि जोश देखाउदा खेल विग्रिए जस्तो लागेको थियो,' त्यतिखेरका कप्तान पृथु बाँस्कोटाले भने, 'हामीले फिल्डिङमा केही अनावश्यक स्लाइड हानेर बढी रन खर्चेका थियौं।'
अघिल्लो वर्ष श्रीलंकामा भएको विश्व ट्वान्टी–२० मा अफगानिस्तान ऐतिहासिक विजय हात पार्नबाट चुक्दा टोलीका प्रशिक्षक कबिर खानलाई पनि 'टेलिभिजन लाइभ' मुख्य कारण लागेको थियो। भारतलाई १ सय ५९ रनमा रोकेपछि अफगानिस्तान जीत नजिक पुगेको थियो। तर, टोली ३ बल अगाडी १ सय ३६ रनमा रोकियो। 'क्यामरा  अगाडी खेल्दा हामी दबाबमा देखियौं,' खानले भारतसँग हारको कारण खोतलेका थिए।
२००० मा श्रीलंकामा भएको यु–१९ विश्वकपमा भारतसँगको खेल सोनी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने क्रममा थियो। वर्षाले खेल विथोलेपछि अर्को मैदानमा लगेर खेलाउदा प्रत्यक्ष प्रसारण भएन्। २००० मा युएइमा भएको एसिसी ट्रफीमा हङकङविरुद्धको सेमिफाइनल नेपाली राष्ट्रिय टोलीको प्रत्यक्ष प्रसारण भएको पहिलो खेल थियो। स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गरेको खेल नेपालले १ सय ७९ रनले गुमायो।
महबुव आलमले राहुल शर्माको ५५ रनमा क्याच छाडिदिए। शर्माले त्यसको फाइदा उठाउदै अविजित १ सय ४५ रन बनाउदा हङकङले २ सय ६८ रन बनाएको थियो। त्यतिबेलाका कप्तान पवन अग्रवाल टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको खेलले मिश्रित प्रभाव पार्ने बताउछन्। 'खेल दौरान मलाई टेलिभिजनले कभरेज गरिरहेको छ भन्ने खेलाडीको दिमागमा हुँदैंन। कुनै खेलाडीलाई हुन सक्छ,' उनले भने, 'तर प्रत्यक्ष प्रसारण भएको खेल धेरैले हेरेको हुन्छ, त्यही भएर राम्रो खेल्ने दबाब हुन्छ। दबाबलाई झेल्न सकेन् भने प्रदर्शन विग्रिन्छ।'
नेपालमा भएका धेरै जसो खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएका छन्। घरेलु भुमिमा भएका खेलमा नेपालले राम्रो प्रदर्शन गर्दै आएको छ। घरेलु समर्थकमाझ खेल्दा नेपाल सँधै बलियो देखिनु यसका कारण हुन सक्छन्। नेपालले दुबईमा विश्व ट्वान्टी–२० को पहिलो दुई खेल जितेको छ। पछिल्ला वर्षमा गरेको प्रदर्शनका आधारमा विदेशी भुमिमा टेलिभिजन र वेवकास्ट प्रत्यक्ष प्रसारण भएको खेललाई पनि जितमा बदल्ने सम्भवत् उपयुक्त मौका यही नै हुन सक्छ।
नागरिक राष्ट्रिय दैनिकमा २०७० मंसिर ३ गते प्रकासित


No comments:

Post a Comment