Friday, October 12, 2012

युएईसँग नेपालको अन्तिम परीक्षा


युएईसँगको फाइनल खेल्नु अगाडि प्रशिक्षक पुबुदु दासानायके नेपाली टोलीको छनोटलाई लिएर अन्योलमा छन्। युएईको शारजहाँमा नेपालले शुक्रबार घरेलु टोलीसँग एसिसी ट्रफी इलिटको फाइनल खेल्दैछ। तीब्र बलरद्वय विनोद दास र अमृत भट्टराई घाइते भएकाले दासानायकेलाई टोली छनोटमा संकट परेको हो।
युएई उड्नुअघि सामान्य चोट बोकेका विनोदको प्रतियोगिता सुरु हुने अघिल्लो दिन घुँडाको चोट बल्भि्कएको थियो। बलिङ गरेर टेक्दा विनोदको घुँडामा समस्या देखियो। छाती दुखाइका कारण अमृतले मलेसियासँग सेमिफाइनलमा ३.३ ओभर बलिङ गरेपछि नै छाडेका थिए। सोही समस्याका कारण उनले कुवेत र साउदी अरेबियासँग पनि खेलेका थिएनन्। 
नेपाली खेलाडी शरद भेषावकर। फाइल तस्विर :  विकास कार्की/नागरिक


'अहिलेको स्थितिमा उनीहरू दुवै खेल्ने छैनन्। भोलिसम्म केही हुन्छ कि भन्ने आशा हाम्रो हो, ८० प्रतिशत उनीहरूले खेल्ने सम्भावना कम छ,' श्रीलंकाली मूलका क्यानाडेली प्रशिक्षक दासानायकेले नागरिकसँग टेलिफोनमा भने, 'उनीहरू खेल्न नसक्ने भएमा विकेट हेरेर कसलाई खेलाउने निर्णय गर्छौं। स्पिन ट्रयाक भएमा सञ्जम रेग्मी खेल्ने छन्। नत्र भने अतिरिक्त ब्याट्सम्यान विनोद भण्डारी खेल्ने छन्।'
मलेसियालाई २१ रनले पराजित गरी नेपाल तेस्रोपटक एसिसीको फाइनल खेल्न लागेको हो। युएईसँग नेपाल दोस्रोपटक फाइनलमा भिड्न लाग्दैछ। सन् २००२ को फाइनलमा नेपाललाई युएईले ६ विकेटले पराजित गरेको हो। दुई वर्षअघि पछिल्लो संस्करणमा नेपाललाई अफगानिस्तानले ९५ रनले पराजित गरेको थियो। 
नेपाल र युएई एसिसी ट्रफीमा आठौं पटक आमनेसामने हुन लागेका छन्। यस प्रतियोगिता सुरु हुनुअघिका सबै ६ खेलमा युएई विजयी भएको थियो। यस प्रतियोगिताको पहिलो खेलमै नेपालले युएईलाई ४ विकेटले पराजित गर्‍यो। युएईले सेमिफाइनलमा दाबेदार अफगानिस्तानलाई ६९ रनमा सीमित गरी खेल ८ विकेटले जितेको थियो। 
गत महिना मलेसियामा विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जित्नुका साथै गल्फ राष्ट्रमा देखाइरहेको प्रदर्शनले नेपाललाई यसपटक दाबेदारका रूपमा लिइएको छ। यसअघिका दुई फाइनलभन्दा नेपालको स्थिति बलियो मानिएको छ। फाइनलमा राम्रो प्रदर्शन गर्नेमा आशावादी दासानायकेले भने, 'हामी युएई र अफगानिस्तानभन्दा राम्रो टोली हौं भनेर प्रमाणित गर्न चाहन्छौं। युएईसँग राम्रा खेलाडी छन् र उनीहरू यहाँको वातावरणसँग अभ्यस्त छन्। हामीले यही प्रतियोगितामा उनीहरूलाई पराजित गरिसक्यौं। तर फाइनल निश्चय पनि फरक खेल हो र हाम्रा लागि पनि यो राम्रो परीक्षा हो।'
दासानायकेले फाइनलको तयारी बारे कूटनीतिक हिसाबमा भने, 'बिहीबार हामीले विश्राम दिनको सदुपयोग गर्‍र्यौं। खेलाडीलाई आराम गर्न दियौं। खेलाडीले आरामसँग दिन बिताउने क्रममा केही समय पौडी पोखरीमा बिताए।'
नेपाल र युएई एसिसीको नयाँ प्रतियोगितामा 
फाइनल पुगेसँगै दुवै टोली एसिसीले अर्को वर्ष आयोजना गर्ने एक प्रतियोगितालाई छनोट भएका छन्। एसियाली क्रिकेट परिषद (एसिसी) का अप्रेसन म्यानेजर सुल्तान रानाका अनुसार भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका ए टोलीका साथै एसिसी ट्रफी इलिटको शीर्ष तीन टोली प्रतियोगितामा भाग लिने छन्। 
आयोजक सिंगापुर प्रतियोगितालाई स्वतः छनोट भइसकेको छ। खेल ५० ओभरको हुनेछ। अर्को वर्ष हुने भनिएको प्रतियोगिताको बाँकी विवरण र मिटि खुलाइएको छैन। 
युएई र नेपालजस्तो राष्ट्रलाई नयाँ प्रतियोगिताले ठूलो बल प्रदान गर्ने रानाको भनाइलाई उद्धृत गर्दै युएईको द नेसनल समाचारले लेखेको छ, 'युएई र नेपालका यी खेलाडीले टेस्ट खेल्ने राष्ट्रसँग खेल्न पाउँदा धेरै सिक्ने छन्। यो प्रतियोगिता आयोजना हुनु निकै सकारात्मक छ  र टेस्ट खेल्ने राष्ट्रहरू पनि एसिसीका यी उदाउँदा राष्ट्रसँग खेल्न सहमत हुँदा हामी आभारी पनि छौं।'
विगतमा एसिसी ट्रफीको फाइनल खेल्ने दुई टोलीले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसम्मिलित एसिया कपमा खेल्न पाउने प्रावधान भए पनि टेस्ट खेल्ने राष्ट्रको व्यस्ततापछि एसिसीले नयाँ संरचनास्वरुप नयाँ प्रतियोगिता ल्याउन लागेको हो।
नागरिक राष्ट्रिय दैनिकमा असोज २६ गते प्रकाशित

No comments:

Post a Comment