Sunday, October 14, 2012

एसिसी ट्रफी : नेपालको सवैभन्दा ठुलो उपलब्धि


युएईसँगै एसिसी ट्रफी इलिटमा संयुक्त विजेता बन्नु नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो उपाधि हो। सन् १९९६ मा सुरु भई प्रत्येक २ वर्षमा हुँदै आएको एसिसी ट्रफी नेपालले पहिलोपटक जितेको हो। यसअघि नेपाल दुईपटक फाइनल पुगेर उपाधिविमुख भएको थियो। 
एकदिवसीय मान्यताप्राप्त अफगानिस्तान, डिभिजन २ का टोली युएई र हङकङ तथा डिभिजन ३ को टोली ओमान पनि समावेश भएकाले एसिसी ट्रफी नेपालले अहिलेसम्म जितेको सबैभन्दा ठूलो प्रतियोगिता हो। संयुक्त विजेता बन्नेक्रममा नेपालले समूह चरणमा युएईलाई ४ विकेट र हङकङलाई १ सय २५ रनले पराजित गरेको थियो।
तस्विर :  एसिसी



एसिसी ट्रफी नेपालले एक महिनाको अन्तरमा जितेको दोस्रो ठूलो उपाधि हो। अघिल्लो महिनामात्र नेपालले मलेसियामा विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जितेको थियो। 'डिभिजन ४ आफ्नो ठाउँमा छ, तर एसिसी ट्रफी त्यो भन्दा माथिको प्रतियोगिता हो। यसमा खेल्न कति गाह्रो हुन्छ हामीलाई थाहा छ,' नेपाली टोलीका कप्तान पारस खड्का एसिसी ट्रफीको महŒव प्रस्ट्याउँछन्। 
एसिसी ट्रफीमा पाएको सफलताले पारसलाई सबैभन्दा सफल कप्तान पनि बनाएको छ। नेपाली राष्ट्रिय टोलीले जितेको चार प्रमुख उपाधिमध्येको तीन पारसकै कप्तानीमा छ। मलेसियामा २००७ मा सम्पन्न एसिसी यु–१९ इलिट कप पारसको कप्तानीमा नेपालले जितेको पहिलो उपाधि थियो। सन् २०१० पारसको कप्तानीमा काठमाडौंमा जितेको डिभिजन ५ को उपाधि नेपालले जितेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पहिलो उपाधि पनि हो। 
विनोद दासको कप्तानीमा २००६ मा जितेको एसिसी प्रिमियर लिग तीनदिवसीय नेपालको पहिलो प्रमुख उपाधि थियो। एसिसी ट्रफी नेपाली राष्ट्रिय टोलीले जितेको छैटौं उपाधि हो। राजु खड्काको कप्तानीमा नेपालले २००३ मा भुटान र माल्दिभ्ससम्मिलित इमर्जिङ नेसन्स कप जितेको थियो। एकै वर्ष दुईपटक आयोजना हुँदा नेपाल दुवैमा विजेता बन्यो।
शुक्रबार युएईको सारजहाँमा पाएको सफलता नेपालले एसियाली क्रिकेट परिषद् (एसिसी) मा ३ वर्षपछिको पहिलो हो। काठमाडौंमा २००९ मा यु–१७ इलिट कप जितेयता नेपाली पुरुष टोलीले एसिसीको कुनै उपाधि जित्न सकेको थिएन। यु–१७ इलिट जित्दै नेपालले एसिसीको उमेर समूह प्रतियोगितामा 'क्लिन स्विप' गरेको थियो। 
उमेर समूहमा विवाद देखिएपछि एसिसीले यु–१५ र यु–१७ प्रतियोगितालाई खारेज गर्दै यु–१६ ल्याएको थियो। २०१० र २०१२ मा यु–१६ को दुई प्रतियोगिता भए। दुवै प्रतियोगिताको फाइनलमा नेपाल पराजित भयो। यु–१६ बाहेक एसिसीमा नेपालले नजितेको प्रतियोगिता ट्वान्टी–२० कप हो। पहिलो दुई संस्करणमा सेमिफाइनल पनि पुग्न नसकेको नेपाल एसिसी ट्वान्टी–२० को गत वर्ष काठमाडौंमा सम्पन्न पछिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो।
सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालको एसिसी ट्रफी इलिट १३औं उपाधि हो।
उपाधिहरू
२०१२ – एसिसी ट्रफी इलिट (युएईसँग संयुक्त विजेता)
२०१२ – विश्व क्रिकेट लिग डिभिजन ४
२०१० – विश्व क्रिकेट लिग डिभिजन ५
२००६ – एसिसी प्रिमियर लिग तीनदिवसीय
२००३ – इमर्जिङ नेसन्स कप
२००३ – इमर्जिङ नेसन्स कप
युवातर्फ
२००९ – एसिसी यु–१७ इलिट कप
२००७ – एसिसी यु–१९ इलिट कप
२००६ – एसिसी यु–१५ इलिट कप दुइदिवसीय
२००५ – एसिसी यु–१५ कप
२००५ – एसिसी यु–१९ कप
२००३ – एसिसी यु–१९ कप
२००१ – एसिसी यु–१९ कप 
नागरिक राष्ट्रिय दैनिकमा असोज २८ गते प्रकाशित

No comments:

Post a Comment