Thursday, October 4, 2012

९ विजयको कीर्तिमान


युएईसँग ४ विकेटको नतिजा निकाल्दै नेपालले एकदिवसीयमा लगातार नवौं खेल जितेको छ। सन् २०१० मा इटालीको बोलोनियामा भएको विश्व क्रिकेट लिग डिभिजन ४ मा अमेरिकासँग अगस्ट १९ मा ५५ रनले हारेयता नेपालले एकदिवसीयमा सबै खेल जितेको छ। इटालीमा नेपालले अन्तिम दुई खेलमा क्यामी आइल्यान्डलाई ७ विकेट र तान्जेनियालाई १० विकेटले पराजित गरेको थियो।
एसिसी डेभलपमेन्ट अफिसर अली अनवर जाफरीबाट अनिल मण्डल म्यान अफ द म्याच ट्रफी लिदै। साथमा म्याच रेफ्री इकबाल सिकन्दर। तस्विरः एसिसी।
मलेसियामा अघिल्लो महिना सम्पन्न डिभिजन ४ को उपाधि जित्दा नेपालले सिंगापुरलाई ५ विकेट, तान्जेनियालाई ८ विकेट, मलेसियालाई १० विकेट, अमेरिकालाई ३२ रन, डेनमार्कलाई २५ रन र फाइनलमा पुनः अमेरिकालाई ८ विकेटले पराजित गरेको थियो। 

२००३/०४ मा नेपालले यसअघि लगातार ८ खेल जितेको थियो। २००३ मा काठमाडौंमा भएको इमर्जिङ नेसन्स कपको दुई संस्करणमा नेपालले भुटान र माल्दिभ्सलाई समूह चरणमा २–२ पटक पराजित गरेको थियो। दुवै संस्करणको फाइनलमा माल्दिभ्सलाई पराजित गरी नेपालले विजय यात्रा ६ खेलमा पुर्‍याएको थियो। २००४ को एसिसी ट्रफीको पहिलो दुई खेलमा नेपालले भुटानलाई ९ विकेट र इरानलाई १० विकेटले पराजित गरेको थियो। कतारसँग क्वार्टरफाइनलमा ४ विकेटको पराजयपछि नेपालको विजयकम रोकिएको थियो।
विजय पालो नेपालको 
लगभग स्थिति उस्तै थियो। युएईसँगको पहिलो खेलमा नेपाल विजय नजिक पुगेको थियो। युएईका कप्तान सइद अल साफरले अलराउन्ड प्रदर्शन गरेपछि नेपाल एसिसी ट्रफीको पहिलो खेलमा १ विकेटले पराजित भयो। 
१२ वर्षपछि प्रतिस्पर्धाका हिसाबले लगभग सोहीअनुरुप नै रह्यो। यसपटक विजय हुने पालो नेपालको रह्यो। आत्मविश्वासी नेपालले युएईसँग हारको क्रम तोड्दै बुधबार शारजहाँमै ४ विकेटको विजय नतिजा निकाल्यो। ५० ओभरको ७ प्रतिस्पर्धामा नेपालले पहिलोपटक युएईलाई पराजित गर्न सक्यो। 
सन् १९९८ मा काठमाडौंमै ९४ रनबाट नेपालको युएईसँग हारको क्रम सुरु भएको थियो। सबै (६) हार एसिसी ट्रफीमा थियो। २००२ को एसिसी ट्रफी फाइनल तथा २००६ र २००८ को सेमिफाइनलमा युएई नै नेपालका लागि बाधक बन्यो। पछिल्लो दुई सेमिफाइनल हारले नेपालको क्रिकेटलाई निकै पछाडि धकेलिदियो। 
यसपटक एसिसी ट्रफीको पहिलो दिन नेपाल बलिङमा स्वभाविक आक्रामक प्रस्तुत हुँदै युएईलाई ४०.५ ओभरमा १ सय ३३ रनमा सीमित गर्न सफल भयो। ११ रनमै ३ विकेट गुमाउँदा लक्ष्य नेपालका लागि ठूलो बन्यो। यो स्थिति २५ ओभरमा ४८–४ मा पुगेको थियो। युएईका बलरहरूले नियमित मेडन फाल्न थाले। कप्तान पारस खड्का आउट भएपछि नेपालले लगातार ५ ओभरमा कुनै रन बनाउन सकेन। 
एएम गुरुगेसँग नयाँ बल लिएर आएका देब्रेहाते स्पिनर सदीप सिल्भाले १० ओभरको एकै स्पेलमा ३ मेडन राख्दै ९ रनमात्र खर्चे। ओपनर अनिल मण्डलले ३९ डिग्रीको उच्च तापक्रममा एक छेउ सम्हालेर नेपाली इनिङ उकासे। ७४ बल खेलेपछि पहिलो चौका प्रहार गरेका अनिलले ६३ रन बनाई नेपालको विजय आधार बनाएका थिए। नेपाल विजयभन्दा २२ रनमात्र टाढा रहँदा उनी आउट भए। 
सिल्भाको ६० मध्ये ३३ बलमा कुनै रन बनाउन नसकेका म्यान अफ द म्याच अनिलले कुल १ सय २९ बल खेल्दै ५ चौका प्रहार गरे। उनले प्रदीप ऐरीसँग ५५ बलमा पाँचौं विकेटमा ४६ र शरद भेषावकरसँग चौथो विकेटमा १ सय ७ बलमा ३७ रनको साझेदारी गरे, जुन खेलका दुई ठूला साझेदारी थिए। शरदले ५१ बलमा १ चौकासहित १६ रन बनाए।
प्रदीप ऐरी क्रिजमा आएसँगै नेपालले ब्याटिङमा लय समात्यो। छक्का प्रहार गरी आफ्नो खाता खोलेका प्रदीपले २४ बलमा १७ रन बनाए। उनले अर्को एक छक्का पनि प्रहार गरे। शक्ति गौचन २९ बलमा ८ र पृथु बाँस्कोटा २४ बलमा २ चौकासहित १५ रन बनाई अविजित रहे। यसअघि दोस्रो ओभरमै ओपनर सुवास खकुरेल १ रनमा आउट भएपछि नेपालको पतन सुरु भयो। उपकप्तान ज्ञानेन्द्र र पारस दुवै १–१ चौका प्रहार गरी गुरुगेको बलमा समान ४ रन बनाई आउट हुँदा नेपालको ११ रनमात्र थियो। 
नेपालले २८ बलअगाडि लक्ष्य पार गर्‍यो। 'हामीले आज निकै राम्रो खेल्यौं। हामी सधैं नेपाल डिभिजन १ को टोली भनेर विश्वास गर्छौं। आज हामीले युएईलाई पराजित गरेर त्यो प्रमाणित गर्‍यौं। यसको सबै श्रेय खेलाडीलाई दिनुपर्छ,' नेपालका प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्।
अमृत भट्टराईले ओपनर अब्दुल शकुरलाई बोल्ड गरे पछि टस जितेर ब्याटिङ गरेको युएईको संघर्ष सुरु भयो। पारसले मुख्य ब्याट्सम्यान शकिब अलीलाई ५ रनमा पवेलियन फर्काए। त्यसपछि स्पिनरहरू हाबी भए। शक्ति र अर्का देव्रेहाते स्पिनर वसन्त रेग्मीले नियमित विकेट लिइरहे। वसन्तले हारुन इफ्ितखार (१८) र शाइमान अनवर (९) लाई दुई ओभरको अन्तरमा आउट गरे। 
शक्तिले ८.५ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ५ विकेट लिए। उनले नेपालबाट एकदिवसीयमा दोस्रोपटक ५ विकेट लिएका हुन्। उनले युएईका कप्तान खुरम खान र मोहम्मद आजमको महŒवपूर्ण विकेट लिए। खुरम २० रनमा आउट भए। आजमले २५ बल खेली ३ चौकासहित ३३ रन बनाए। उनले सञ्जम रेग्मीलाई २ छक्का प्रहार गरे। वसन्तले ६ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ३ विकेट लिए। 
हङकङ पनि समावेश समूह …बी' बाट यस विजयपछि नेपालको सेमिफाइनल प्रवेश सम्भावना सहज बनेको छ। हङकङले साउदी अरेबियालाई २ सय ९ रनले पराजित गर्‍यो। पछिल्लो संस्करणको उपविजेता नेपालले शनिबार कुवेतसँग खेल्नेछ। 
नागरिक दैनिकमा असोज १८ गते प्रकाशित


No comments:

Post a Comment