Tuesday, October 16, 2012

फितलो व्यवस्थापनमा विजेतालाई नगर परिक्रमा


एसिसी ट्रफी इलिटमा आयोजक युएईसँगै संयुक्त विजेता बनेको नेपाली क्रिकेट टोलीको सम्मानमा सोमबार राजधानीमा आयोजित नगरपरिक्रमा फितलो व्यवस्थापनका कारण विवादास्पद बन्यो। शुक्रबार नेपालले युएईमा नवौं प्रयासमा पहिलोपटक एसिसी ट्रफी जितेको थियो। 
नेपाल क्रिकेट संघ (क्यान) ले विजेता नेपाली टोलीलाई जनही नगद ३० हजार प्रदान गर्ने घोषणासहित सोमबार नगर परिक्रमा कार्यक्रम गरेको थियो। तर नगर परिक्रमामा क्यानका अध्यक्ष टंक आङबुहाङदेखि उपाध्यक्ष र महासचिवसम्म उपस्थित थिएनन्। क्यानका थोरै पदाधिकारीमात्र कार्यक्रममा देखिए।
तस्विर :  विकास कार्की/नागरिक


नक्सालस्थित होटल क्राउन प्लाजाबाट सुरु भएको नगरपरिक्रमा जयनेपाल सिनेमा घर, रत्नपार्क, बागबजार, पुतलीसडक, रामशाहपथ, भृकुटीमण्डप, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा गएर टुंगिएको थियो। ट्रकमा राखेर खेलाडीलाई नगर घुमाइएको थियो। बाटो हिड्नेहरूले खेलाडीलाई हात हल्लाएर सम्मान गरे। समर्थकले 'नेपाली क्रिकेट जिन्दावाद, हाम्रो शान नेपाली क्रिकेट' भन्दै राखेपसम्म खेलाडीको समर्थनमा नारा लगाइरहे।
विसर्जन स्थल राखेप परिसरमा नेपाली टोलीको सम्मान गर्ने कुनै माहोल देखिएन्। त्यहाँ न कुनै ब्यानर थियो। न टेन्ट र माइकको व्यवस्था। खेलाडीलाई नै नपुग्ने कुर्सी त्यहाँ राखिएको थियो। समापनमा उद्घोषकले 'मलेसियाको दुबईमा आयोजित एसिसी ट्रफी इलिट कप' भनेर कार्यक्रम सुरुआत गरेपछि समर्थकको आक्रोश सुरु भयो। 
विजेता टोलीलाई राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङले सम्बोधन गर्ने कार्यक्रम थियो। त्यसपछि समर्थकको आक्रोश साम्य पार्न राखेप कर्मचारीहरू माइक खोज्न दौडिए। आक्रोशित समर्थकले 'क्रिकेटलाई हेप्न पाइँदैन, यस्तो क्यान चाहिँदैन, टंक आङबुहाङ राजीनामा दे, क्यान र राखेप मूर्दावाद, विजेता टोलीलाई सम्मान गर' भन्दै राखेप हातामा नाराबाजी गरे। 
'१५ मिनेटअघि मात्र र्‍यालीमा रहेको नेपाली क्रिकेट टोलीलाई सम्मान गरिदिनुपर्‍यो भनेर क्यानका एक मित्रले फोन गर्नुभयो। म पनि विराटनगर जान लागेको थिएँ, तर उडान रद्ध भएपछि राखेप फर्किएको थिएँ,' माइक ल्याएपछि मात्र आफ्नो मन्तव्य राख्न पाएका कोषाध्यक्ष थिङले भने, 'पत्रपत्रिका बाट मैले पनि र्‍याली कार्यक्रमबारे थाहा पाएँ, राखेपमा हिजोमात्र पत्र आएको रहेछ, तर मलाई केही थाहा छैन। यो अचानक भएको कार्यक्रम हो। त्यसैले भद्रगोल हुनपुग्यो। यसलाई खेलाडीको अपमानका रूपमा नलिइदिन अनुरोध गर्दछु। राखेपले दसैंअगाडि नै क्रिकेट टोलीलाई सम्मान गर्नेछ।'
कप्तान पारस खड्काले नगर परिक्रमाबाट ज्यादै खुसी भए पनि त्यसको व्यवस्थित अन्त नभएको बताए। 'समन्वय नमिलेर होला कार्यक्रमको अन्त राम्रो हुन सकेन। त्यसले अलिकति खल्लो हुन पुग्यो। समन्वयको निकै कमी देखियो। समन्वयको अभाव क्यानमा हो कि राखेपमा त्यो मलाई थाहा भएन,' पारसले भने, 'क्रिकेटको वातावरण बनाउने कार्य हाम्रो होइन, हामीले खेल्नेमात्र हो। तर सबैले के बुझ्नुपर्छ भने क्रिकेटका लागि अहिले निकै महŒवपूर्ण समय छ। कसले के जिम्मेवारी लिने त्यो सबैले आफै बुझनुपर्छ।'
हाल राष्ट्रिय टोलीमा नरहेका खेलाडी दीपेन्द्र चौधरीले नेपालले अहिलेसम्मकै ठूलो उपाधि जितेर आउँदा क्लब प्रतियोगिता जितेको जस्तो सम्मान पनि नभएको बताए। 'यहाँ केही व्यवस्थित छैन, एउटा टेन्ट पनि छैन। खेलाडीलाई मजाक बनाउन यो कार्यक्रम गरिए जस्तो लाग्यो। नगर परिक्रमा कार्यक्रम भनेपछि एउटा स्टेज त हुनुपर्छ,' दीपेन्द्रले भने, 'यत्रो कार्यक्रम भनेर भन्ने अनि सदस्य सचिव (युवराज लामा), क्यान अध्यक्षदेखि उपाध्यक्षसम्म कोही छैनन्। दुई जनाले निर्णय गरेर यो कार्यक्रम गरेजस्तो लाग्यो।' सदस्यसचिव लामा भने बिच भलिबलको उद्घाटन गर्न पोखरा पुगेका थिए।
अघिल्लो महिना विश्व क्रिकेट लिग डिभिजन ४ जितेको टोलीलाई सरकारले ३ लाख नगदले पुरस्कृत गरेको थियो। दीपेन्द्रले भने, 'डिभिजन ४ भन्दा ठूलो प्रतियोगिता जितेर आएको टोलीलाई यो व्यवहार देखाएको छ। ३ लाख दिएको प्रचार गरेर जस लिन पो हो कि!' 
विरोध जनाइरहेका एक समर्थकले भने, 'यत्रो ठूलो प्रतियोगिता जितेर आएको टोलीलाई यस्तो व्यवहार गरिँदा विश्वकपमा छनोट हुने लक्ष्य बनाएका खेलाडीको मनोबलमा कस्तो असर पर्ला?'
नागरिक राष्ट्रिय दैनिकमा असोज ३० गते प्रकाशित

No comments:

Post a Comment