Saturday, October 6, 2012

नेपालको उच्च मनोबल र पृथुको फर्किएको आत्मविश्वास


कुवेतसँग दोस्रो खेलमा नेपाल उच्च मनोबल बोकेर मैदानमा उत्रनेछ। युएईमा जारी एसिसी ट्रफी इलिट कपको पहिलो खेलमा आयोजकलाई ४ विकेटले पराजित गरी नेपालले स्वर्णिम सुरुआत गरेको थियो। एसिसी ट्रफीको यसअघिका ६ खेलमा युएईसँग नेपाल पराजित हुँदै आएको अवस्थामा पाएको जितले नेपाललाई ऊर्जा थपेको छ।
अघिल्लो महिना मलेसियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जितेको नेपालको मनोबल युएईसँगको जितले अझ वृद्धि गरेको छ। युवा ब्याट्सम्यान पृथु बाँस्कोटाले आत्मविश्वास फर्काउनु नेपालका लागि अर्को महत्वपूर्ण पक्ष हो। उनले युएईविरुद्ध बुधबार दुई चौकासहित २४ बलमा अविजित १५ रन बनाएका थिए। बिहीबार १ सय ७७ रन बनाएको कुवेत पहिलो खेलमा हङकङसँग ५ विकेटले पराजित भएको थियो।
पृथु बाँस्कोटा


'निकै गाह्रो स्थिति थियो, आफूलाई सम्हालेर ब्याटिङ गरेको थिएँ, २२ रनमात्र बाँकी थियो, हामी धेरै विकेट नगुमाउन भनेर खेलिरहेका थियौं, दुई चौकाले मेरो ठूलो आत्मविश्वास फर्काएको छ,' पृथुले भने। मलेसियामा एसिसी यु–१९ एसिया कप र अस्ट्रेलियामा आइसिसी यु–१९ विश्वकपका १० खेलमा गरी पृथु पाँचपटक 'डक' आउट भएका थिए। उनले ४९ रनमात्र बनाउन सक्दा यु–१९ विश्वकपमा नेपालले अहिलेसम्मकै कमजोर प्रदर्शन गरेको थियो।
प्रशिक्षक पुबुदु दासानायकेले युवा टोलीका कप्तानमाथि विश्वास देखाउँदै यु–१९ विश्वकपमा फर्किएपछि भनेका थिए, 'पृथु बलियो मानसिकता भएका खेलाडी हुन्, त्यसैले उनले फर्म फर्काउनेमा म विश्वस्त छु।' युएईको उच्च तापक्रम र स्पिन मैत्री विकेटका कारण पनि अफ स्पिनको भूमिकामा पृथुलाई विनोद दासको स्थानमा खेलाइएको थियो, जहाँ उनले सानो इनिङबाट आफ्नो क्षमता देखाए। 
मलेसियाको डिभिजन ४ मा डेनमार्कसँग लिगको अन्तिम खेलबाट राष्ट्रिय टोलीबाट एकदिवसीयमा 'डेब्यु' गरेका पृथुका लागि कुवेतसँगको खेल कुनै नौलो होइन। गत वर्ष काठमाडौंमा सम्पन्न एसिसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको अन्तिम खेलमा ३ विकेट लिँदै नेपाललाई १ रनको विजय दिलाएका थिए। 
त्यसको अघिल्लो संस्करणमा युएईमा सम्पन्न एसिसी ट्वान्टी–२० मा नेपालले कुवेतविरुद्ध अन्तिम बलमा विजय पाएको थियो। राष्ट्रिय टोलीबाट 'डेब्यु' गर्दै विनोद भण्डारीले छक्का प्रहार गरी नेपाललाई अविस्मरणीय विजय दिलाएका थिए। चन्द्र साउद र राहुल बिकले चोट बोकेपछि विनोदले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने अवसर पाएका हुन्। दुई वर्षअघि काठमाडौंमा डिभिजन ५ जितेको नेपाली टोलीका विनोदले एकदिवसीयमा अझै 'डेब्यु' गर्ने मौका पाएका छैनन्। 
नेपाल ५० ओभरमा कुवेतसँग लगातार छैटौं विजयको अपेक्षामा हुनेछ। नेपालले एसिसी ट्रफीमा कुवेतलाई चारपटक तथा २००५ मा मलेसियामा विश्व छनोट डिभिजन २ मा एकपटक पराजित गरिसकेको छ। एसिसी ट्रफीमा नेपालले २००२ मा १ सय २४, २००६ मा ६ विकेट, २००८ मा ७ विकेट र २०१० मा ८ विकेटले पराजित गरेको थियो।
सन् २००६ मा कुवेतसँगको खेल ज्ञानेन्द्र मल्लको राष्ट्रिय टोलीबाट पहिलो थियो। उनले १ सय ८ बलमा ७९ रन बनाएपछि नेपालले १७ बलअगावै लक्ष्य पूरा गर्‍यो। म्यान अफ द म्याच उनले मलेसियाको क्लब अम्मान मैदानमा परेश लोहनी (३६) सँग पहिलो विकेटमा ७९ रन जोडेका थिए। भुटानविरुद्धको दोस्रो खेलमा पनि अर्द्धसतक बनाएर ज्ञानेन्द्रले उपकप्तानसम्म यात्रा तय गरिसकेका छन्। आफ्नो पहिलो दुई खेलमै अर्द्धसतक बनाउने ज्ञानेन्द्र पहिलो नेपाली खेलाडी हुन्। 
नागरिक राष्ट्रिय दैनिकमा असोज २० गते प्रकाशित

No comments:

Post a Comment