Wednesday, October 10, 2012

नेपाल शीर्ष वरियतामा यथावत्


नेपाल लगातार दोस्रोपटक एसियाली क्रिकेट परिषद् (एसिसी) को वरियतामा शीर्ष स्थानमा यथावत् रहने भएको छ। युएईमा भइरहेको एसिसी ट्रफीको सेमिफाइनलमा पुगेसँगै २०११–१२ मा नेपाल शीर्ष टोली बन्ने पक्का भएको हो। एसिसीले अंग्रेजी क्यालेन्डरअनुसार सन् २०१२ समाप्तपछि नयाँ वरियता प्रकाशित गर्नेछ।
राष्ट्रिय टोलीले खेल्ने एसिसी ट्रफी इलिट तथा युवातर्फ एसिसी यु–१९ इलिट र एसिसी यु–१६ इलिट कपमा गरेको प्रदर्शन वरियताका मापदण्ड हुन्। सबै १८ राष्ट्रको टोली नभएकाले एसिसीले महिला प्रतियोगितालाई वरियतामा भने समेट्ने गरेको छैन। 


एसिसी यु–१९ इलिट र एसिसी यु–१६ इलिटको उपविजेता नेपालसँग एसिसी ट्रफी इलिट अगाडि ४ अंक थियो। युएईमा जारी प्रतियोगिताका बाँकी दुवै खेलमा पराजित भएर चौथो स्थानमा रोकिए पनि नेपालको ८ अंक हुनेछ। नेपालसँगै बुधबार सेमिफाइनल खेल्ने मलेसियाले उपाधि नै जिते पनि ९ अंक हुनेछ र नेपाललाई भेट्टाउने छैन। एसिसी यु–१६ इलिटको फाइनलमा नेपाललाई १ रनले पराजित गरेको मलेसिया यु–१९ इलिटमा भने सातौं स्थानमा खुम्चिएको थियो। 
एसिसी ट्रफी इलिटको सेमिफाइनल पुगेका अफगानिस्तान र युएईले पनि वरियतामा नेपाललाई भेट्टाउन सक्ने छैन। नेपाललाई यु–१९ इलिटको फाइनलमा हराएको अफगानिस्तानले एसिसी ट्रफी इलिट कप जितेमा १३ र युएईले जितेमा १८ अंकमात्र हुनेछ। 
नेपाल २००९–११ को वरियतामा पनि शीर्ष स्थानमै थियो। त्यतिबेला नेपालको ७ अंक थियो, जुन २०११–१२ को भन्दा एक अंक बढी हो। हङकङको ८ र मलेसियाको १२ अंक थियो। २००७–०९ मा भने नेपाल दोस्रो स्थानमा थियो। एसिसी यु–१७ र यु–१९ इलिट जितेको नेपाल एसिसी ट्रफीमा चौथो भएको थियो। तर घरेलु मैदानमा सम्पन्न एसिसी यु–१५ इलिट कपमा बढी उमेरका खेलाडी खेलाएकोमा दोषी पाइएपछि नेपाललाई प्रतियोगिताबाट निष्काशन गरिएको थियो, जसका कारण नेपालको खातामा १८ अंक बढी पर्दा कुल २४ अंक भएको थियो। सिंगापुर (२२ अंक) शीर्ष वरियताको टोली बनेको थियो।
विश्व वरियतामा नेपाल २५औं स्थानमा छ। अघिल्लो महिना मलेसियामा विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जित्दै नेपालले वरियतामा फड्को मार्‍यो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सञ्चालन गर्ने कार्यक्रम, सिनियर, जुनियर खेलाडी संख्या, अम्पयार/प्रशिक्षकको विकास, अन्तर्राष्ट्रिय प्रतियोगिताको नतिजा जस्तालाई आधार मानेर एसोसिएट र एफिलिएट राष्ट्रमा दुई वर्षअघि गरेको वर्गीकरणमा नेपाल समूह 'बी' बाट 'ए' मा उक्लिएको थियो।
नागरिक राष्ट्रिय दैनिकमा असोज २४ गते प्रकाशित



No comments:

Post a Comment