Tuesday, October 9, 2012

हङकङविरुद्ध प्रमाणित गर्ने अवसर


नेपाल एसिसी ट्रफी इलिटको समूह चरणको अन्तिम खेल 'गर या मर' को स्थितिमा छ। सेमिफाइनलमा पुग्न नेपालले हङकङसँग जित्नैपर्छ। हङकङको स्थिति पनि त्यही छ। त्यसैले नेपाल र हङकङबीच मंगलबार हुने खेल क्वार्टरफाइनलसरह भएको छ। 
दुवैले तीनमध्येका दुई खेल जितेका छन्। युएई तीन खेल जितेर सेमिफाइनलमा सुरक्षित भइसकेको छ। युएईलाई पहिलो खेलमा ४ विकेटले पराजित गरी सनसनी मच्चाएको नेपालले कुवेतसँग ४ विकेटको स्तब्ध पराजय बेहोर्‍यो। आइतबार साउदी अरेबियालाई ९ विकेटले पराजित गरेपछि नेपालले सेमिफाइनल प्रवेशको सम्भावना ब्युँत्याएको थियो। 
फाइल तस्विर :  विकास कार्की/नागरिक


साउदी अरेबिया र कुवेतलाई पराजित गरेको हङकङ आयोजक युएईसँग पराजित भएको छ। दुबईको ग्लोबल क्रिकेट एकेडेमी मैदानमा नेपाल र हङकङबीच हुने खेलको विजेताले युएईसँगै सेमिफाइनल प्रवेश पाउनेछ। समूह 'ए' बाट अफगानिस्तान यसअघि नै नकआउट चरण प्रवेश गरिसकेको छ। 
'यो हाम्रा लागि निर्णायक खेल हो। हामीले जितेमा समूह विजेता बन्ने सम्भावना पनि छ,' नेपालका श्रीलंकाली मूलका क्यानाडेली प्रशिक्षक पुबुदु दासानायकेले भन्छन्। हङकङसँगको खेल जित्दै नेपाल समूह विजेता बन्नसक्ने सम्भावना उनी देख्छन्। पहिला ब्याटिङ गरी १ सय ५० रनको अन्तरले जितेमा वा हङकङले दिएको लक्ष्य १८.५ ओभरमा पूरा गरेमा नेपालले युएईलाई उछिन्दै समूह विजेता बन्नेछ।
दासानायके हङकङसँग विनोद दास र अमृत भट्टराईमध्ये एक फिट हुने आशामा छन्। चोटका कारण दुवै तीब्र बलरले कुवेत र साउदीसँग खेलेनन्। कुवेतसँग नेपालले २ सय ८० रन रक्षा गर्न नसक्दा दासानायकेले तीब्र बलरको अभाव महसुस गरेका थिए। 'हङकङसँगको खेलअगावै दुवै बलर फिट हुने आशामा छौं। दुईमध्ये एक फिट हुने आशा छ,' दासानायकेले भने। भेट्रान विनोदले युएईमा यसपटक एउटै खेल खेलेका छैनन्। उनको अनुपस्थितिमा मध्यम गतिका प्रदीप ऐरीले पछिल्लो दुई खेलमा कप्तान पारस खड्कासँगै नयाँ बल लिएका थिए। 
युएईमा नेपाल र हङकङले अर्को निर्णायक खेल खेल्न लागेका हुन्। सन् २००० मा नेपाल र हङकङ यसै प्रतियोगिताको तेस्रो संस्करण सेमिफाइनल भिडेका थिए। फाइनलमा पुगेसँगै भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसम्मिलित एसिया कपमा खेल्न पाउने प्रावधान थियो। नेपाल त्यसअघिका दुई संस्करण १९९६ र १९९८ मा हङकङसँग समूह चरणमै क्रमशः ५ र ६ विकेटले पराजित भएको थियो। दुवै खेलमा हङकङका राहुल शर्माले म्यान अफ द म्याच प्रदर्शन गरी नेपालको हातमा आइसकेको खेल खोसेका थिए। 
शारजहाँमा खेलेको सेमिफाइनलमा नेपालले शर्मालाई ५४ रनमा आउट गर्ने अवसर पायो। लङअनमा महबुब आलमले उनको क्याच थाम्न सकेनन्। हङकङ त्यतिखेर ४० ओभरमा १ सय ४५ रनमा थियो। त्यसको फाइदा उठाउँदै राहुलले १ सय ३६ बलमै १ सय ५४ रन बनाएर हङकङको स्कोर २६८–३ मा टुंग्याएका थिए।  नेपालले खेल १ सय ७९ रनले सुम्पियो। 
त्यसयता नेपालले अर्को तीन एकदिवसीयमा हङकङलाई पराजित गर्दै आएको छ। नेपालले २००६ र २००८ मा मलेसियामा भएको दुई फरक एसिसी ट्रफीमा हङकङमाथि क्रमशः ८७ र ४४ रनको विजय पायो। नेपालसँग समूह चरणमा पराजित भए पनि हङकङले २००८ को एसिसी ट्रफी जितेको थियो। नेपाल दुई वर्षअघि कुवेतमा सम्पन्न एसिसी ट्रफीको फाइनलमा पुग्दा हङकङलाई समूह चरणमा १ सय १८ रनले शिकार बनायो।
गत वर्ष काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० कपको पहिलो खेलमा हङकङमाथि अन्तिम बलमा पाएको २ रनको विजय नेपालका लागि प्रेरणा हुनसक्छ। विश्व क्रिकेट लिगमा हङकङ डिभिजन २ को टोली हो। नेपाल अघिल्लो महिना डिभिजन ४ जितेर डिभिजन ३ मा उक्लिएको छ। उपाधिसँगै नेपालले डिभिजन १ टोली दाबी गरिरहेको छ। युएईलाई पराजित गरेर नेपालले यो दाबीलाई बलियो बनाइसकेको छ। कुवेतसँगको अप्रत्याशित हारका बाबजुद नेपालसामु हङकङलाई पराजित गरेर माथिल्लो टोली भएको प्रमाणित गर्ने अर्को अवसर छ।
नागरिक राष्ट्रिय दैनिकमा असोज २३ गते प्रकाशित

No comments:

Post a Comment