Saturday, October 13, 2012

जित र हार बिनैको नतिजा


खेलकुदको आकर्षण यसमा हुने जित र हार स्वीकार गर्नु हो। युएईमा भएको एसिसी ट्रफी इलिट क्रिकेटको फाइनल कुनै टोलीले जितेनन् र हारेनन् पनि। 'टाइ' भएपछि नेपाल र युएई प्रतियोगिताको संयुक्त विजेता बने। 
सारजहाँ क्रिकेट मैदानमा नेपालले टस जितेपछि ब्याटिङ गर्न आएको युएईले ६ विकेट गुमाई २ सय ४१ रन बनायो। नेपालले ९ विकेट गुमाई त्यति नै रन बनाएपछि खेल 'टाइ' बन्यो। प्रतियोगिताको नियमानुसार दुवै टोली विजेता बने। विजय लक्ष्य पछ्याउँदा नेपालले अहिलेसम्मकै ठूलो स्कोर बनाए पनि एक्लो विजेता बन्न सकेन। 


अन्तिम ओभरमा नेपाललाई विजयका निम्ति १२ रन चाहिएको थियो। युएईका देब्रेहाते स्पिनर सदीप शिल्भाको पहिलो बलमा शक्ति गौचनले कुनै रन बनाउन सकेनन्। दोस्रो र तेस्रो बलमा शक्ति र शरद भेषावकरले १–१ रन लिए। चौथो बलमा शक्तिले लङअनमा छक्का प्रहार गरे। पाँचौ बलमा शक्तिले २ रन जोडे। अन्तिम बलमा २ रन आवश्यक भएको समयमा शक्ति १ रन पूरा गरेपछि रनआउट भए।
संयुक्त विजेता भएकामा दुवै टोली बराबर खुसी भएको पारस खड्काले नागरिकलाई टेलिफोनमा बताए। 'हामीले जुन मेहनत गरेका थियौं, त्यसको फल पाएका छौं, यसको श्रेय सम्पूर्ण टोलीलाई दिनुपर्छ, यो प्रतियोगितामा हामीले अझ माथिल्लो स्तरको प्रदर्शन गर्‍र्यौं, नेपाली टोलीमा परिपक्वता आएको छ,' खड्काले भने। 
१९९६ मा सुरु भई प्रत्येक दुई वर्षमा हुँदै आएको एसिसी ट्रफीमा नेपाल पहिलोपटक विजेता बनेको हो। यसअघिका दुई फाइनलमा नेपाल २००२ मा युएईसँगै ६ विकेटले र दुई वर्षअघि कुवेतमा भएको पछिल्लो संस्करणमा अफगानिस्तानसँग ९५ रनले पराजित भएको थियो। एक महिनाको अन्तरमा नेपालको यो दोस्रो उपाधि हो। अघिल्लो महिना मलेसियामा भएको विश्व क्रिकेट लिग डिभिजन ४ नेपालले अपराजित रही जितेको थियो। 
'टाइ भई उपाधि बाँडनु परे पनि हामी धेरै खुसी छौं। पहिलोपटक जित्यौं, यसको वर्णन गर्न सक्दैनौं, खेलाडी सबै खुसी छन्,' नेपाली टोलीका व्यवस्थापक उत्तम कर्माचार्यले भने, 'ब्याटिङ र बलिङमा हाम्रो धेरै प्रगति भएको छ, खेलमा लगनशीलता देखियो, कुनै पनि स्कोरमा फाइट गर्ने साहस देखियो, मैदानमा उपस्थित २ हजार ५ सय हाराहारी दर्शकले हामीलाई पूरै सहयोग गरे।' कर्माचार्यकै कप्तानीमा नेपालले पहिलो एसिसी ट्रफीमा सहभागिता जनाएको थियो।
समूह चरणमा ४ विकेटको विजय हात पार्दा नेपालले युएईलाई १ सय ३३ रनमा सीमित गरेको थियो। पारसले पहिलो चार ओभरमा गरेको भिन्न बलर प्रयोगलाई बुझ्न नसक्दा ७ ओभरभित्र २४ रन बनाई ३ विकेट गुमाएको युएई समूह चरणकै स्थितिमा पुग्ने लक्षण देखाएको थियो।
अर्शाद अलीलाई पृथु बाँस्कोटाले शून्यमा रन आउट गरे। सञ्जम रेग्मीले २२ बलमा २० रन बनाएका अब्दुल शाकुरलाई पाँचौं ओभरमा आउट गरे। फाइनलअघि युएईबाट सर्वाधिक रन बनाएका साइमन अनवरलाई शक्तिले २ रनमै आउट गरे। हारुन इफ्तखारलाई शक्तिले दोस्रो सिकार बनाए। उनी २४ रनमा आउट भए।
कप्तान खुरम खान र शकिब अलीले १९ ओभरभित्र ८७ रनको साझेदारी गरी युएईलाई मजबुत स्थितिमा डोर्‍याए। प्रतियोगितामा पहिलो अर्धसतक बनाउने क्रममा खुरमले ६१ रन बनाए। उनले ७९ बल खेली ५ चौका प्रहार गरे। अन्तिम ओभरमा एक्लै १३ रन बनाउदै शकिबले सतक पूरा गरे। उनले इनिङको पछिल्लो दुई बलमा बसन्त रेग्मीलाई क्रमशः छक्का र चौका प्रहार गरे। १ सय ३ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे। रोशन मुस्ताफा २३ बलमा २१ रन बनाई आउट भए।
नेपाली टोली दुई तीव्र बलर अमृत भट्टराई र विनोद दासबिनै मैदानमा उत्रिएको थियो। नया बल लिएर बलिङ गरेका देब्रेहाते स्पिनर शक्तिले १० ओभरमा २ मेडन राख्दै ३६ रन खर्चेर ३ विकेट लिए। चोटग्रस्त विनोद र अमृतको अनुपस्थितिमा पाँचौ बलरको भूमिका खेलेका प्रदीप ऐरी र पृथुले कुल १० ओभरमा ४९ रन खर्चिए। 
सुवास खकुरेल र अनिल मण्डलले २२ ओभरभित्र ९४ रनको साझेदारी गरी नेपाललाई राम्रो सुरुवात दिलाए। अनिल ६७ बलमा २ चौका र १ छक्कासहित ४४ रन बनाई आउट भए। सुवासले ५५ रनको इनिङ खेले। ७४ बल खेलेका उनले समान २ चौका र छक्का प्रहार गरे। १२ रनको अन्तरमा दुवै आउट भए। 
पारस र उपकप्तान ज्ञानेन्द्रले १२ ओभरभित्र ५९ रनको साझेदारी गरी नेपालको इनिङलाई ताने। ज्ञानेन्द्र ४१ बलमा ३ चौका प्रहार गरी ३२ रन बनाई आउट भए। पारसले ३७ बलमा ३१ रन बनाए। उनले १ छक्का प्रहार गरे। यी दुई २ बलको अन्तरमा आउट भएपछि नेपाल अप्ठ्यारो स्थितिमा पुगेको थियो। ठूलो सट खेल्ने प्रदीप पनि २० बलमा २ चौकासहित १६ रन बनाई आउट भए।
पृथु २ रनमा आउट हुँदा ४५ ओभरमा नेपाल २००–६ को स्थितिमा पुगेको थियो। नेपाललाई ३० बलमा ४२ रनको खाँचो थियो। शरदले २ छक्का र १ चौकासहित ३६ बलमा ३८ रन बनाई खेललाई अन्तिम ओभरमा पुर्‍याउँदा रोमाञ्चक बनेको थियो। १० औं नम्बरमा ब्याटिङ गरेका एक समयका नेपालका मुख्य ब्याट्सम्यान शक्तिले अन्तिम ओभरमा जितको नजिक पुर्‍याएपछि खेल 'टाइ' भएको थियो।
'हामीले केही गल्ती गर्‍र्यौं, तर पनि विजेता भएकामा खुसी छु, टाइपछि खेलाडीले छुट्टै अनुभव बटुले,' रन पछ्याएको प्रसंगमा प्रशिक्षक पुबुदु दासानायकेले भने, 'हामीले सहज हिसाबले रन पछ्यायौं, नेपाली खेलाडीहरु निकै प्रतिभावान छन्, मैले जे सिकाउन सक्थेँ, सिकाएको थिएँ, नेपालले ब्याटिङमा निकै प्रगति गरेको छ।'
पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले मैदानमा गएर खेलाडीलाई बधाई दिएको व्यवस्थापक कर्माचार्यले बताए।
तेस्रो 'टाइ' फाइनल
एसियाली क्रिकेट परिषद (एसिसी) को प्रमुख प्रतियोगिताको फाइनल तेस्रोपटक 'टाइ' भई संयुक्त उपाधि बाँडिएको हो। २००७ मा एसिसी ट्वान्टी–२० को पहिलो संस्करणको फाइनलमा अफगानिस्तान र ओमान संयुक्त विजेता बनेको थियो। कुवेतमा अफगानिस्तानले ९ विकेट गुमाई १ सय ५१ रन बनाएकामा ओमानले ७ विकेट गुमाई त्यति नै रन बनायो।
यसै वर्ष जुलाइमा मलेसियामा भएको एसिसी यु–१९ एसिया कपमा पाकिस्तान र भारत संयुक्त विजेता बनेको थियो। पहिलोपटक आयोजित प्रतियोगिताको फाइनलमा पाकिस्तानले ९ विकेट गुमाई २ सय ८२ रन बनाएकामा भारतले पनि जवाफमा ८ विकेट गुमाई त्यति नै रन बनायो।
पुरुषतर्फ अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो दोस्रो …टाइ' खेल हो। २००९ मा युएईमै भएको एसिसी ट्वान्टी–२० मा नेपाल र कुवेतबीचको खेल 'टाइ' भएको थियो। अबुधावीमा विनोद भण्डारीले अन्तिम बलमा छक्का प्रहार गरेपछि 'टाइ' भएको खेल नेपालले बलआउट भई जितेको थियो। शुक्रबार विनोद एक बल पनि सामना नगरी रन आउट भए। 
पारस उत्कृष्ट 
प्रतियोगितामा सवैभन्दा बढी रन बनाएका पारस म्यान अफ द सिरिज चुनिए। उनले ७२.७५ को औसत र १०६.२ को स्ट्राइक रेटमा २ सय ९१ रन बनाए। कुल २४ चौका र ८ छक्का प्रहार गरेका उनले ९ विकेट लिए। प्रत्येक खेलमा प्रदान गरिने म्यान अफ द म्याचका आधारमा म्यान अफ द सिरिजको पुरस्कार प्रदान गरिन्छ। पारसले हङकङसँगको अन्तिम लिग खेल र मलेसियासँगको सेमिफाइनलमा म्यान अफ द म्याचको पुरस्कार जितेका थिए। कुवेतविरुद्ध उनले खेल जीवनकै पहिलो सतक बनाए पनि नेपाल पराजित भएको थियो।
'टिमलाई योगदान दिन पाएकामा खुसी छु, अझ योगदान दिन तयार छु,' पारसले भने। पारसको उपलब्धिबारे प्रशिक्षक दासानायकेले भने, 'निकै खुसी लागेको छ। नेपाली खेलाडी प्रतियोगिताकै सर्वोत्कृष्ट हुनु, नेपाली टोली र नेपालको क्रिकेटका लागि निकै खुसीको खबर हो।' 
तस्विरहरु :  एसिसी
नागरिक राष्ट्रिय दैनिकमा असोज २७ गते प्रकाशित

No comments:

Post a Comment